Comments Add Comment

सरकारको अभियानमा ८८ हजार नेपालीले खोले बैंक खाता

जनसंख्याकै हाराहारीमा बैंक खाता, तर आधा नागरिक बैंकिङ पहुँच बाहिरै

१३ साउन, काठमाडौं । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियान अन्तरगत हालसम्म करिब ८८ हजार नेपाली बैंकिङ प्रणालीमा आएका छन् । बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न भन्दै थालिएको यो अभियानको यसै नयाँ वर्षका दिन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

यो अभियान शुरु गर्नुअघि सरकारले संघीय संरचनाअनुसार निर्माण भएका ७५३ वटै स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा पु¥याउने घोषणा गरेको थियो । आर्थिक वर्ष २०७४/७५ को असार मसान्तमै वाणिज्य बैंकहरुलाई सबै स्थानीय तहहरुमा शाखा खोल्न निर्देशन दिइएको थियो । तर, २०७५/७६ को असार मसान्त सकिएर २०७६/७७ को १३ औं दिनसम्ममा २९ वटा स्थानीय तहहरुमा बैंकको उपस्थिति पुग्न सकेको छैन ।

‘हरेक नेपालीको बैंक खाता’ अभियानमा भने आकर्षण देखिएको छ । आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा २ करोड ८० लाखको हाराहारीमा खाता रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवधिमा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ ।

यसैगरी असार मसान्तसम्ममा बैंकहरुले करिब ३ हजार २ सय वटा एटिएम राखिसकेका छन् । यस्तै, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङका ग्राहकहरु ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ ।

‘घ’ वर्गका संस्था अर्थात लघुवित्त वित्तीय संस्थाहरुको कुल बचत सदस्यको संख्या भने ४१ लाख ५८ हजार र ऋणीको संख्या २६ लाख १३ हजार पुगेको छ ।

बैंकले जम्मा गरे ८७ लाख

सरकारले शुरु गरेको खाता खोलाउने अभियानको साढे ३ महिना पुरा भएको छ । बाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर एसोसिएसन नेपालका कार्यकारी अधिकृत अनिल शर्माका अनुसार असार मसान्तसम्म ८७ हजार ७ सय ९२ जनाले बैंक खाता खोलेका छन् ।

यस अभियान अन्तर्गत खाता नखोलेका र नयाँ खोल्न चाहनेहरुका लागि बैंकहरुले एक सय रुपैयाँ आफै हालिदिने गरेका छन् । हिजो खाता खोल्नका लागि न्युनतम रकम निश्चित सीमा तोकेर लिने गरेका बैंकहरुले खाता खोल्दा उल्टै सय रुपैयाँ जम्मा गरिदिने भएपछि यसमा आकर्षण बढेको छ ।

जसअनुसार वाणिज्य बैंकहरुले नयाँ खाता खोल्ने ८७ हजार ७ सय ९२ जनाको खातामा ८७ लाख ७९ हजार २ सय रुपैयाँ जम्मा गरिदिएका छन् ।

अभियान किन ?

बैंकहरुले कमाएको नाफाको केही प्रतिशत रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था छ । यस अन्तरगत बैंकहरुले विभिन्न संघ, संस्था, विद्यालय तथा अशक्त, बिरामी तथा अनाथ बालवालिकालाई सहयोग गर्दै आएका थिए । अहिले यहि बजेटबाट नयाँ खाता खोल्नेहरुलाई एक सय रुपैयाँ उनीहरुले जम्मा गरिदिने भएका हुन् ।

बैंकहरुको आ–आफ्नै नियमअनुसार खाता खोल्दा चाहिने न्युनतम रकम तोक्ने गर्थे । अब त्यो रकम चाहिँदैन । बरु उल्टै बैंकले सय रुपैयाँ उपलब्ध गराउँछ ।

विश्व प्रविधिमैत्री हुँदै जाँदा नगद कारोबारको सीमासमेत घट्दै गएको छ । नगद राख्दा हराउने, च्यातिने, डढ्ने तथा लुटिनेसमेत सम्भावना हुन्छ । जसको सुरक्षा बैंकिङ प्रणालीबाट गर्न सकिन्छ ।

सरकारले नै अहिले १० लाख रुपैयाँ भन्दा बढीको नगद कारोबारमा रोक लगाएको छ । नगद कारोबारको दायरा घट्दै जाने भएकाले पनि बैंकिङ कारोबार उत्तम उपाय हो । घरमै बसेर मोवाइल, वालेटबाटै सामान खरिद–बिक्री गर्ने प्रचलन बढ्दै गएको अवस्थामा सरकारको यो योजनाले राम्रै फाइदा पुग्नेछ ।

बैंकिङ पहुँच अझै पनि ५० प्रतिशत नागरिकमा पुग्न सकेको छैन । त्यसैले यस्तो पहुँच बढाउन सरकारले अभियान सञ्चालनमा ल्याएको हो ।

तर, बैंक खाताको संख्या भने देशको जनसंख्याकै हाराहारीमा छ । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एशोसिएसन नेपालका कार्यकारी निर्देशक शर्माका अनुसार हाल २ करोड ८० लाख बैंक खाता खोलिएका छन् भने वाणिज्य बैंकमा मात्रै २ करोड २० लाख खाता खोलिएका छन् । जबकि ५० प्रतिशत नागरिक बैंकिङ पहुँचमा पुग्न सकेका छैनन् । एकै व्यक्तिले धेरै वटा खाता खोल्दा खाताको संख्या धेरै देखिएको कार्यकारी निर्देशक शर्माले बताए ।

बैंकिङ पहुँच क्रमश बढ्दैछ : राष्ट्र बैंक

मुलुक आधुनिकतातर्फ अघि बढेसँगै नेपालमा पनि बैंकिङ पहूँच क्रमशः बढ्दै गइरहेको नेपाल राष्ट्र बैंक बताउँछ । राष्ट्र बैंकले लिएको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने लक्ष्यले बैंकिङ पहुँचमा निकै सुधार हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले दावी गरे ।

संघीयता कार्यान्वयनका सन्दर्भमा राष्ट्र बैंकले चालेको कदमका कारण पनि बैंकिङ पहुँच सुधारिदै गएको उनले बताए ।

‘वित्तीय साक्षरताको अवस्थामा निकै सुधार भएको छ, बैंकिङ कारोबारको फाइदाबारे अब नागरिकममा चेतना बढ्दै गएको छ’ प्रवक्ता निरौलाले भने, ‘अब बैंकिङ पहुँच पनि क्रमशः बढ्दै छ ।’

बैंकर एशोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा पनि संघीयता कार्यान्वयनमा भएका प्रगतिका कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै गएको बताउँछन् । संघीयता कार्यान्वयनका क्रममा राष्ट्र बैंकले हरेक स्थानीय तहमा शाखा विस्तार गर्न वाणिज्य बैंकलाई निर्देशन दियो । सोही अनुसार शाखा विस्तार गर्दै जाँदा बैंक खाता खोल्नेको संख्या पनि बढेको उनले बताए ।

अझै केही स्थानीय तहमा शाखा पूग्न बाँकी रहेको र ति ठाउँहरुमा शाखा विस्तार भए पछि बैंक खाताको संख्या थप बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment