Comments Add Comment

कलंकी–महाराजगञ्ज सडकछेउका संरचना हटाइन थालिने

१३ साउन, काठमाडौं । चक्रपथको दोस्रो खण्ड कलंकी–बालाजु–महाराजगञ्ज सडक निर्माणका लागि ‘साइट क्लियरेन्स’ को काम चाँडै थालिने भएको छ । चीनले केही दिनभित्रै प्रारम्भिक नाप–नक्सा उपलब्ध गराउने भएपछि सडक निर्माण प्रक्रियामा जान लागेको हो ।

चीनले हालै यो सडकको नाप नक्सा (ड्रइङ) पठाउन लागेको र त्यसकै आधारमा सडक सीमा ‘क्लियर’ गर्न आग्रह गरेको सडक विभाग स्रोतले बतायो । नाप नक्सा आइपुगेपछि त्यसको आधारमा चक्रपथका रुख तथा विद्युतका पोलसहित अस्थायी भौतिक संरचना हटाउन सुरु गर्ने स्रोतको भनाइ छ ।

‘चीनले साइट क्लियर नभएसम्म स्थलगत रुपमा आफू काममा प्रवेश नगर्ने बताइसकेको छ,’ विभाग स्रोत भन्छन्, ‘त्यसैले आयोजनाको पूर्वतयारी सकेर मात्रै चीनलाई नेपालमा काम गर्न बोलाइनेछ ।’

आसपासका भौतिक संरचना नहटाई सडक विस्तार थाल्ने सडक विभागको पुरानै रोग हो । त्यसरी काम गर्दा कुनै एक घरधनी अदालत गए पनि सडक विस्तार नै अवरुद्ध हुन्छ । चाबहिल–जोरपाटी सडक होस् वा कलंकी–नागढुंगा सडक यस्तै अवरोधले लामो समय अलपत्र परेका थिए । सडक विभागले चत्रपथको कलंकी–बालाजु–महाराजगञ्ज सडक खण्ड विस्तारमा भने यो गल्ती नदोहो‍र्‍याउने बताएको छ ।

सरकारले बजेटमार्फत निर्माणस्थल ‘क्लियर’ नहुँदासम्म आयोजनाहरु ठेक्का लगाउने नीतिगत घोषणा पनि गरेको छ । सार्वजनिक खरिद नियमावलीमा संशोधन गरेर पनि निर्माणस्थल तयार नभएसम्म काम सुरु नगर्ने व्यवस्था गरिएको छ । सडक विभागले त्यसको कार्यान्वयन चक्रपथ विस्तारबाटै गर्दैछ । २ लेनको सडकलाई ८ लेनको बनाउन यसै आर्थिक वर्षबाट निर्माण थाल्ने तयारी छ ।

त्यसअघि आयोजनाको सीमाभित्रका सबै भौतिक संरचना हटाउन सूचना निकालिसकेको छ । सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐनअनसार आफैंले हटाउने र त्यसबापत लागेको खर्च असुल्ने चेतावनी दिइएको छ ।

विभागले चिनियाँ ठेकेकदार काममा आउनुअघि नै खानेपानी, ढल र विजुलीको पोल सारिसक्नुपर्ने हुन्छ । चक्रपथ विस्तार आयोजनाका लागि यस आवको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ ।

अब चक्रपथको बाँकी १७ किमी सडकमा मेडियन अर्थात दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ भने अन्य आवश्यक पूर्वाधारहरु पनि राखिनेछ । कुल २७ दशमलव दुई किलोमिटरमध्ये कलंकी–महाराजगञ्ज खण्ड ८.२ किमी लम्बाइको छ ।

चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो । कलंकी–महाराजगञ्ज खण्ड विस्तारको लागत पनि निर्क्यौल भइसकेको छैन । चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनले चासो देखाएको छ, जुन करिब ९ किमि लम्बाइको हो ।

प्रधानमन्त्री केपी ओलीको चैत ०७२ मा भएको चीन भ्रमणका बेला चक्रपथका विस्तारसम्बन्धी समझदारी भएको थियो । चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नति गर्दा पनि उसले सहयोग गरेको छ । पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment