Comments Add Comment

डोटीमा तीन वडा कार्यालयमा आगजनीका घटना अझै रहस्यमै

१४ साउन, डोटी । शनिवार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो ।

आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायर बताउँछन् । वडाअध्यक्ष बलायरले स्थानीय दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी समेत दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् ।

गत ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा आगजनी भयो । आगजनीबाट वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजातहरु, फर्निचर लगायतका सामग्री जलेर नष्ट भए । घटनास्थलमा भेटिएको मोवाइल सेटको आधारमा प्रहरीले एक जना नियन्त्रणमा पनि लिएको छ । तर प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

वडाध्यक्ष नन्दलाल भट्टले विप्लव समूहका स्थानीय एक कार्यकर्ताको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘पार्टीकै नीति अनुसार आगो लगाए होलान् भन्ने त मलाई लाग्दैन’ वडाध्यक्ष भट्टले भने ‘तर केही दिन यताका ती व्यक्तिका गतिविधि हेर्दा तिनको संलग्नता छ भन्ने लाग्छ ।’

गएको जेठ १४ गते राति बडीकेदार गाएँपालिका–४, मान्नाकापडीको वडा कार्यालयमा आगजनी भएको थियो । वडा कार्यालय पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसी वताउँछन् । ‘गाउँपालिकामा रहेको अभिलेख ल्याएर हामीले काम गरिरहेका छौं’ वडाध्यक्ष केसीले भने ‘केही अभिलेखहरु अहिलेसम्म पनि जुटाउन सकेका छैनौं ।’

दुई महिना अगाडि भएको उक्त आगजनीमा कसको संलग्नता छ भन्ने जानकारी भएको छैन । वडाध्यक्ष केसी भन्छन् ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अहिलेसम्म केही थाहा छैन ।’

एकपछि अर्को गरी वडा कार्यालयमा आगो लागेपछि जनप्रतिनिधिहरु त्रसित बनेका छन् । ‘तीन कार्यालयमा आगो लागिसक्यो, कुनै कारवाही भएको देखिदैन’ एक वडाध्यक्षले भने ‘यस्तै हो भने त अपराधीको मनोवल बढ्न सक्छ ।’ प्रहरीको अनुसन्धान फितलो भएको आरोप ती वडाध्यक्ष लगाउँछन् । उनले थपे ‘यस्तै हो भने कुन दिन हाम्रो पालो आउँछ भन्ने डर लागिरहन्छ ।’

तीनवटै घटनाको अनुसन्धान भइरहेको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझी बताउँछन् । ‘शिखर र जोरायलको घटनामा बिप्लव समूहको संलग्नता देखिएको छ’ माझीले भने ‘जोरायलको घटनामा त हामीले एक जना नियन्त्रणमा समेत लिएका छौं ।’ उनले बडीकेदारको घटनाको भने अझै कुनै सुराक नभेटिएको बताए ।

स्रोतका अनुसार प्रहरीले समातेका व्यक्ति बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता होइनन् । उनले आफ्नो मोवाइल कोही अरुलाई दिएका र उक्त मोवाइल घटनास्थलमा भेटिएपछि उनी समातिएका हुन् । उक्त मोवाइलको माध्यमले प्रहरी दोषीसम्म पुग्ने प्रयासमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment