Comments Add Comment

गाउँपालिका अध्यक्षले सुविधाको मोटरसाइकल पनि त्यागे

२० साउन, रामेछाप । जनप्रतिनिधिहरु आफ्नै सुविधा बढाउन केन्द्रित भएको आरोप लागिरहेका बेला सबै उस्तै छैनन् भन्ने सन्देश दिने पनि जनप्रतिनिधि नै निस्किरहेका छन् ।

विशेषगरी स्थानीय तहका जनप्रतिनिधिमा गाडी र मोटरसाइकल मोहको आरोप लागिरहेका बेला रामेछापका एक गाउँपालिका अध्यक्षले सुविधामा पाएको मोटरसाइकल पनि त्यागेका हुन् ।

गाडी सुविधा नलिएका उमाकुण्ड गाउँपालिका शेरबहादुर सुनुवारले प्रयोग गर्दै आएको गाउँपालिकाको मोटरसाइकलसमेत त्यागिदिएका छन् । सुनुवारले गाडी सुविधा भने लिएका थिएनन् ।

गाउँपालिकाका नागरिकलाई समृद्ध नबनाई पालिकाको पैसाबाट मोटर खरिद गरेर नचढ्ने प्रतिवद्धता गरेका सुनुवारले दैनिक कार्यालय र घर आउजाउ गर्न गाउँपालिकाको एउटा मोटरसाइकल लिएका थिए । उनले त्यही मोटरसाइकल पनि साउन महिनाबाट नचढ्ने गरी गाउँपालिकामा साँचो जिम्मा लगाइदिएका छन् ।

असारको अन्तिममा भएको गाउँपालिका बैठकमा कार्यपालिका सदस्यहरुले आफूहरुलाई पनि मोटरसाइकल सुविधा दिनुपर्ने माग राखेपछि आपूmले नै मोटरसाइकलको साँचो कार्यालयमा जिम्मा लगाएको सुनुवारले बताए । ७ वटा वडा रहेको सो गाउँपालिकामा वडाअध्यक्षहरु र गाउँपालिका अध्यक्षले मोटरसाइकल प्रयोग गर्दै आएका थिए ।

सुनुवारले भने ‘कार्यपालिका सदस्यहरुले समेत मोटरसाइकल माग गरे । मैले यो खर्च बढाउने काम नगरौँ । आवश्यकता नै हो भने एक दुईवटा मोटरसाइकल किनेर कार्यालयमा राखौँ । जसलाई जतिबेला आवश्यकता पर्छ त्यतिबेला चाढौँला भनेको साथीहरुले तिमी चाहिँ मोटरसाइकल चढ्ने हामीलाई किन नहुने भन्ने खालको कुरा गरे । त्यसो भए म पनि चढ्दिन भनेर त्यही बैठकमै कार्यालयमा साँचो जिम्मा लगाइदिएँ ।’

अध्यक्षले नै मोटरसाइकल फिर्ता गरेपछि वडाअध्यक्षहरुले पनि मोटरसाइकल नचढ्ने बताए । तर दुर्गम भूगोलको हिसाबले पनि वडाध्यक्षहरुलाई वडाबाट गाउँपालिका आउन समस्या हुने भएकाले मोटरसाइकल प्रयोग गर्न सुझाएको जानकारी दिए ।

आफूले भने स्थानीयको एउटा पुरानो मोटरसाइकल मागेर घर र कार्यालय आउजाउ गर्ने गरेको उनले बताए । गाउँबाट सदरमुकाम आउँदा र अन्यत्र जाँदा भने उनले सार्वजनिक गाडिमा यात्रा गर्ने गरेका छन् ।

‘अब दशैंको अफरको बेला ऋण काढेरै भए पनि एउटा व्यक्तिगत मोटरसाइकल किन्ने विचार गरेको छु’, अध्यक्ष सुनुवारले सुनाए ।

सुनुवार जिल्लाका ८ स्थानीय तहका प्रमुखमध्ये मितव्ययी र सुशासन तथा विकास निर्माणका काममा सक्रिय रहने जनप्रतिनिधिमा पर्छन् । अघिल्लो वर्ष खिम्ती खोलाको पहिरोले सडक बगाएपछि गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार र उमाकुण्डका अध्यक्ष शेरबहादुर सुनुवार आफैं खटिएर सडक सञ्चालन गरेका थिए ।

२०५४ सालमा साबिक प्रिती गाविसको अध्यक्ष निर्वाचित भएर ५ वर्षे कार्यकाल पूरा गरेका शेरबहादुर सुनुवार २ वर्षअघिको स्थानीय तह निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको उमाकुण्ड गाउँपालिका भौगोलिक हिसाबले सबैभन्दा विकट छ ।

नवराज पथिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment