Comments Add Comment

काठमाडौं विश्वविद्यालयमा कार्यकारी परिषद् सदस्य नियुक्ति विवादमा

नियम विपरीत गरिएको प्राध्यापक संघको आरोप

२० साउन, काठमाडौं । तीन जना सहायक प्राध्यापकको नियुक्तिसम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन नटुङ्ग्याउँदै काठमाडौं विश्वविद्यालयमा अर्को विवाद सुरु भएको छ ।

विश्वविद्यालयको आधिकारिक प्राध्यापक सङ्घले विश्वविद्यालय नेतृत्वलाई नियम विपरीत कार्यकारी परिषद् सदस्य नियुक्त गरेको आरोप लगाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार सुबोध शर्माले आइतबार मात्र सहप्राध्यापक एकुमाया पुनलाई कार्यकारी परिषद् नियुक्त गरिएको पत्र दिएका थिए । प्राध्यापक सङ्घले भने उक्त पदका लागि आफूहरूले १२० जना शिक्षक प्रतिनिधिको भेलाबाट सर्वसम्मत रूपमा प्राध्यापक रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको अवस्थामा पुनको नियुक्ति नियमसम्मत नभएको बताएको छ ।

पाँच सदस्यीय कार्यकारी परिषद् विश्वविद्यालय सभा (सिनेट) पछिको दोस्रो सर्वोच्च अधिकारप्राप्त निकाय हो र यसको नेतृत्व उपकुलपतिले गर्दछन् । रजिस्ट्रार र वर्णानुक्रम अनुसारका दुई जना डिन यसको सदस्य हुने प्रावधान छ ।

नाम उल्लेख नगर्ने गरी अनलाइनखबरसँग कुरा गरेका प्राध्यापक सङ्घका एक पदाधिकारी भन्छन्, ‘गत महिना भएको सिनेट बैठकमा सहकुलपति तथा शिक्षा मन्त्रीले प्राध्यापकको प्रतिनिधि छान्नका लागि प्राध्यापकलाई नै अधिकार दिनू भनेर निर्देशन दिएका थिए । तर पुनको नियुक्तिले त्यस निर्देशनलाई लत्याएको छ ।’

पुन विश्वविद्यालयको स्कुल अफ आर्टसमा  एसोसिएट डिनका रूपमा कार्यरत रहेकाले उनी विश्वविद्यालयका आम शिक्षकको नभई नेतृत्वकै प्रतिनिधि भएको सङ्घको दाबी छ ।

सङ्घका अर्का सदस्यका अनुसार यस विषयमा प्राध्यापक सङ्घले गत शुक्रबार रजिस्ट्रार शर्माको ध्यानाकर्षण गराएको थियो । ‘तर उहाँ यस विषयमा खासै बोल्न चाहनुभएन । एक घण्टा बस्दा एक मिनेट बोल्नुभयो, छलफल गरौंला भन्नुभयो ।”

विश्वविद्यालय नेतृत्वले प्राध्यापकलगायत सरोकारवालाको कुरा सुन्न छाडेको धेरै समय भइसकेको ती अधिकारीको आरोप छ । ‘यहाँ सैनिक शासनको अभ्यास भइरहेको छ । नेतृत्वले चाहेपछि जे पनि हुन्छ’, उनी भन्छन्, ‘सुरेशराज शर्माले छाडेदेखि काठमाडौँ विश्वविद्यालय एउटा प्राज्ञिक निकाय होइन, निजी स्कुलजस्तो भएको छ ।’

रजिस्ट्रार जवाफ दिन मान्दैनन्

अनलाइनखबरले पुनको नियुक्तिका विषयमा रजिस्ट्रार शर्मासँग कुरा गर्न खोज्दा उनी बोल्न मानेनन् । बारम्बार फोन गर्दा नउठाउने शर्माले विषय उल्लेख गरेर पठाइएको एसएमएसको जवाफ भने ढिला गरी दिए । एक पटक ‘म तपाईँलाई पछि फोन गर्छु’ भनेर उत्तर पठाए ।

तीन घण्टासम्म फोन नआएपछि पुनः सम्पर्क गर्दा उनले फोन नउठाई एसएमएसमा लेखे ‘तपाईँ धुलिखेलमै आएर हामीलाई भेट्नुभए राम्रो हुन्थ्यो । आज म बैठकमा छु ।’

पुनले न त फोन उठाइन्, न एसएमएसको जवाफ नै दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment