२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको देखिन्छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५ हजार ३१७ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा ५ हजार १२४, ०७२/०७३ मा ४ हजार ६८० र ०७१/०७२ मा ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
सबैभन्दा बढी झुण्डिएर आत्महत्या
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनमा सबैभन्दा बढी झुण्डिएर मानिसले आत्महत्या गरेको पाइएको छ । यसरी आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ३१२ थियो भने ०७४/०७५ मा ३ हजार ८ सय ६८ जनाले झुण्डिएर प्राण त्यागेका थिए ।
दोस्रोमा विष खाएर आत्महत्या गर्नेको संख्या उल्लेख्य देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा १ हजार ३२० जनाले विष खाएर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १ हजार ३६३ जनाले विषय पिएका थिए ।
पानीमा हाम फालेर मृत्यु हुनेको संख्या ३० छ । आर्थिक वर्ष ०७४/०७५ मा चाहिँ ११ जनाले पानीमा हाम फालेर प्राण त्यागेका थिए । अग्लो स्थानबाट हाम फालेर आत्महत्या गर्नेको संख्या ४८ छ भने आर्थिक वर्ष ०७४/०७५ मा ५० थियो ।
आफैंलाई करेन्ट लगाएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ छ भने अघिल्लो आर्थिक वर्षमा एक जनाले यसरी मृत्युवरण गरेका थिए ।
किन हुन्छ आत्महत्या ?
प्रहरी प्रवक्ता पोखरेल आत्महत्या बढ्नुको एउटा प्रमुख कारण मानिसको बदलिँदो जीवनशैलीलाई पनि मान्छन् । ‘एकातिर समाजको जीवनशैली खर्चिलो बनिरहेको छ भने अर्कातिर बेरोजगारीको समस्या व्याप्त छ’, प्रहरी नायब महानिरीक्षक -डीआईजी) पोखरेल भन्छन्, ‘प्रविधिले ल्याएको सहजतासँगै समस्या पनि बढ्दो छ । जसले गर्दा मानिसमा वितृष्णा पैदा हुने गरेको छ ।’
शिक्षा, स्वास्थ्यसँगै सन्तानको चिन्ताका कारण पनि आत्महत्या गर्नेको संख्या उल्लेख्य भएको उनी बताउँछन् । ‘सफलताको तीव्र आकांक्षामा असफलता प्राप्त हुँदा पनि मानिसले आत्महत्या गर्ने गरेका छन्’, उनी भन्छन्, ‘अधिकांश घटनामा भिन्दाभिन्दै समस्या देखिन्छ ।’
‘अभिभावकको माया नपाएर बच्चाले आत्महत्या गरेका छन्, युवा पुस्ताले प्रेम सम्बन्धमा दरार आउँदा अप्रिय निर्णय लिएका छन्’, पोखरेलले सुनाए, ‘युवा र प्रौढ उमेरकाले आर्थिक समस्या, प्रतिष्ठामा आएको आँचलगायतका कारण देह त्यागेका छन् ।’
पछिल्ला दिनमा विवाहेत्तर सम्बन्धका कारण पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । ‘श्रीमान विदेशमा भएको अवस्थामा हुने विवाहेत्तर सम्बन्धको पोल खुलेपछि आत्महत्या गरिएका पनि थुप्रै घटना छन्’, पोखरेल भन्छन् ।
सामाजिक सञ्जालले चरित्रमा ल्याएको विचलनले पनि आत्महत्यालाई प्रेरित गरिरहेको उनको अनुभव छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4