+
+
Shares

आइटी पढ्नेलाई क्यानद्वारा २ करोड बराबरको छात्रबृत्ति घोषणा

पहिलो वर्ष ४९ जनालाई दिइने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १२:१२

२१ साउन, बुटवल । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ -क्यान)ले प्राविधिक शिक्षातर्फ छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

आइटीमा विद्यार्थी आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागिएको हो । क्यान फेडेरेसन प्रदेश ५ ले बुटवलमा पत्रकार सम्मेलन गरी छात्रबृत्ति घोषणा गरेको हो ।

क्यानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले ग्रामीण क्षेत्रका विद्यार्थीलाई धेरैभन्दा धेरै लाभ होस् भन्ने उद्धेश्यसहित छात्रबृत्ति प्रदान गर्न लागिएको बताए ।

उनले लर्ड बुद्ध एजुकेशन फाउण्डेनको सहकार्यमा क्यानले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिने बताए ।

हरेक प्रदेशबाट एक/एकजना छात्रालाई पूर्ण छात्रबृत्ति दिइने छ भने अन्य ४२ जनालाई आंशिक छात्रबृत्ति दिइने क्यानले जनाएको छ ।

सबै जिल्लास्तरमा छनौट समितिबाट सिफारिस भएका विद्यार्थीहरुलाई प्रदेशलाई पठाउने र त्यसमा पनि उत्कृष्टलाई प्रदेशले संघमार्फत छनौट गर्ने उपाध्यक्ष कुँवरको भनाइ छ । यो पारदर्शी र गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरिएको उनले दाबी गरे ।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एकजुकेशन फाउण्डेसनमा स्नाकत तह अन्तरगत बीएस्सी आईटीको अध्ययन गर्न पाउने लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलनले जानकारी दिए ।

सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान दिइने रुपन्देही क्यानका उपाध्यक्ष रामुदेव गौतमले बताए ।

छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले प्रधानमन्त्री केपी शर्मा ओलीको रोहवरमा यसअघि हस्ताक्षरसमेत गरिसकेका छन् ।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई तथा आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई दिइने छ ।

सम्झौताअनुसार ४९ जनाविद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन् ।

‘नेसनल आईसीटी स्कलरसिप- २०७६’ नाम दिइएको यसमा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने क्यानको दावी छ ।

यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित दश जोड दुई अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याइ सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

क्यानको वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । गतवर्ष छात्रबृत्ति पाएका मध्ये ३३ जनाले अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?