Comments Add Comment

वडा कार्यालय नै असुरक्षित, रोकिएन श्रृङ्खलाबद्ध चोरी

सोमबार रातिमात्रै वडा नम्बर ६ मा चोरी

२१ साउन, पोखरा । घटना १ : मंसिर अन्तिम साता पोखरा १४ को वडा कार्यालयमा चोरी भयो । त्यहाँबाट चोरले २ थान कम्प्युटर चोरेको वडाध्यक्ष प्रेमबहादुर कार्की बताउँछन् । चोरीमा वडा कार्यालयलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुग्यो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेको थियो तर, सामान्य सोधपुछ गरेर छोडियो ।

घटना २ : फागुन १ गते पोखरा ५ वडा कार्यालयमा चोरी भयो । पोखरा महानगरको प्रवक्तासमेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीको वडा कार्यालयबाट एउटा ल्यापटप, ४ वटा कम्प्युटर र २ वटा सीपीयू चोरी भएको थियो । कार्यालयमा भएको सीसीटीभी क्यामेरामा चोरी भइरहेको भिडियोसमेत कैद भएको थियो । भिडियोमा चोरको हुलियासमेत प्रष्ट देखिएको थियो ।
वडाले भिडियोसहित वडा प्रहरी कार्यालय बैदाममा उजुरी दियो तर, हालसम्म प्रहरीले चोर पक्रन सकेको छैन ।

घटना ३ : फागुन २३ गते राति पोखरा १३ को वडा कार्यालयमा चोरी भयो । चोरले ४ वटा मनिटर, २ वटा सीपीयू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग उठाएर लग्यो । सीसीटीभी क्यामेरा नै डिस्कनेक्ट गरेर चोरी भएको थियो । चोर पहिचान गर्न समस्या भयो ।

माथिका घटना पोखरा महानगरपालिकाका वडा कार्यालयमा चोरी भएका उदाहरण मात्र हुन् । श्रृंखलाबद्ध रुपमा कहिले हप्ता दिन त कहिले महिना दिनको फरकमा वडा कार्यालयमा चोरी हुने क्रम रोकिएको छैन ।

गत भदौबाट वडा कार्यालयमा चोरीको श्रृंखला सुरु भएको थियो । कुल ३३ वडामध्ये हालसम्म ९ वटा वडामा चोरी भइसकेका छन् । पटकपटक वडा कार्यालयमा चोेरी हुँदा महानगरले महत्वपूर्ण कागजातसहित लाखौं मूल्य बराबरको क्षति व्येहोर्दै आइरहेको छ ।

महानगरको सुरक्षामै चुनौती : महानगर

लगातारको चोरीबाट महानगरको संवेदनशील विषयमा हानीमात्रै होइन सुरक्षा व्यवस्थामै प्रश्न उठ्न थालेको छ । यसबाट महानगरलाई सुरक्षामा चुनौती पुगेको महानगरका प्रवक्ता धनबहादुर नेपाली बताउँछन् ।

वडा कार्यालयमा लगातार चोरी बढ्न थालेपछि चैत १ गते बसेको महानगरको २८ औं बैठकले रात्रीकालीन कर्मचारी खटाएरै सुरक्षा विधि अपनाउने कार्यपालिका बैठकले नै निर्णय गरेको थियो ।

निर्णय अनुसार महानगरका वडा नम्बर १८, ८, १२ र १ बाहेक अरु वडामा रात्रीकालीन कर्मचारी खटाउने भनिएको थियो । ‘ती वडा प्रहरी कार्यालय नजिक छन् । अरु वडामा एउटा एउटा प्रहरी रातभर खटिने कुरा भएन । त्यही भएर कर्मचारी नै राख्ने निर्णय गरेका थियौं,’ उनले भने ।

वडा कार्यालयलाई सुरक्षित बनाउन रात्रीकालीन कर्मचारी राख्ने निर्णय भएपनि प्रभावकारी हुन सकेको छैन ।

सोमबार रातिमात्रै पोखरा ६ को वडा कार्यालयमा चोरी भएको छ । बिहान वडा कार्यालयमा पुग्दा चोरी भएको थाहा पाएको वडाध्यक्ष जगत पहारीले बताए । कार्यालयबाट २ वटा कम्प्युटर चोरी भएको हो ।

त्यहाँ रात्रीकालीन कर्मचारी राखिसकिएको छैन । पोखरा ५ ले मात्र रात्रीकालीन कर्मचारी राखेको छ । ‘अन्य वडाले रात्रीकालीन कर्मचारी नराखेकै कारण पनि चोरीको खतरा झनै बढेको छ,’ प्रवक्ता नेपालीले भने, ‘आफ्नो वडालाई सुरक्षित बनाउन पहिले त सम्बन्धित निकाय नै जागरुक हुनुपर्‍यो ।’

वडा कार्यालयमा राखिएका सीसीटीभी क्यामेरा गुणस्तरहीन हुँदा पनि चोर पहिचान हुन गाह्रो भएको प्रवक्ता नेपालीले स्वीकार गर्छन् । ‘वडा कार्यालयमा राखिएका सीसीटीभी क्यामेरा क्वालिटीका छैनन् । ब्ल्याक एन्ड ह्वाइटमा चोर देखिएपनि पहिचान गर्न गाह्रो छ,’ उनले भने । वडामा गुणस्तरीय सिसिटिभी क्यामेरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

हामी अनुसन्धानमै छौं : प्रहरी

श्रृंखलाबद्ध चोरीका घटना भइरहँदा पनि प्रहरी प्रशासनले चोरीमा संलग्नलाई नियन्त्रणमा लिन सकेको छैन ।

कास्की प्रहरीका अधिकारी सुक्ष्म अनुसन्धानमा लागिरहेको बताउँछन् । ‘अहिले हामी प्लानिङ गरेरै अनुसन्धानमा जुटेका छौं,’ प्रहरी प्रवक्ता राजकुमार केसीले भने, ‘चोरीमा संलग्न भएकालाई नियन्त्रणमा लिन घर बनाएजस्तो यति दिनमा सकिन्छ भन्ने हुँदैन । १ घन्टामै नियन्त्रणमा लिन पनि सकिन्छ । महिनौं लाग्न पनि सक्छ ।’

प्रवक्ता केसीले चोरले महानगरका विद्युतीय सामानलाई निशाना बनाइरहेकाले त्यही अुनसार विशेष प्रकारको अनुसन्धान गरिरहेको जानकारी दिए । उनले अन्य प्रकारका चोरीमा संलग्नलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेकोले चाँडै चोर पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment