Comments Add Comment

लेकसाइडमा लफडा : चौबीसै घन्टा खोल्ने कि नखोल्ने ?

Photo Credit : gobackpacking.com

२१ साउन, पोखरा । नेपालको पर्यटन क्षेत्रमा अहिले मुखमुखमा झुण्डिएको नारा हो, ‘नेपाल भ्रमण वर्ष– २०२० ।’ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने यो नाराको निहितार्थ छ ।

केन्द्र सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दा गण्डकी प्रदेश सरकारले त्यसको दुईवर्षपछि त्यति नै पर्यटक प्रदेशमै भित्र्याउने भनेको छ ।

त्यसको लागि २०१९ लाई ‘आन्तरिक भ्रमण वर्ष’ भनेको प्रदेश सरकारमाथि पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाउने प्रयाससम्म नगरेको आरोप लागेको छ । यसको उदाहरण प्रदेश राजधानी पोखराको पर्यटकीय केन्द्र लेकसाईड बनेको छ, जहाँको बजार चौबिसै घन्टा खोल्ने र नखोल्ने भन्ने विवाद अहिले अदालत पुगेको छ ।

‘कोही राति १२–१ बजे पनि आउँछन्,ढिलो आइपुगेका पर्यटकले लेकसाइडमा खाना खान पाउने कि नपाउने ?’ रेवान अध्यक्ष, गणेशबहादुर थापा

लेकसाइड क्षेत्रको रेस्टुरेन्ट एन्ड बार एशोसिएसन (रेबान) बजार चौबिसै घन्टा खोल्ने अभियानमा लागिपरेको छ भने राति नौबजेपछि बन्द गर्नुपर्ने पक्षमा रहेको पश्चिमाञ्चल होटल संघका पदाधिकारी रीट लिएर अदालत गएका छन् ।

राति आउने पर्यटक भोकै नपरुन् : रेबान

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का महासचिव गणेशबहादुर थापा राति ११ बजे पर्यटकले खाना खाइरहेकै बेला सिठी फुक्दै प्रहरी प्रवेश गर्ने चलनले पोखराको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गइरहेको बताउँछन् ।

उनका अनुसार, बाहिरबाट आउने सबै पर्यटक समयमै पोखरा भित्रिएर राति नौबजे खानपान गरिसक्नुपर्छ भन्ने आग्रह पर्यटन प्रवर्द्धनका लागि घातक हुन्छ । ‘कोही राति १२–१ बजे पनि आउँछन्,’ थापा भन्छन्, ‘ढिलो आइपुगेका पर्यटकले लेकसाइडमा खाना खान पाउने कि नपाउने ?’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि आधा रातमा आउने पर्यटक थपिने, उनीहरुका लागि लेकसाइड चौबिसै घन्टा खुला हुनुपर्ने रेबानका महासचिव थापाको तर्क छ । उनी भन्छन्, ‘लेकसाइडलाई चौबिसै घन्टा खोल्ने कुरा कसैको माग होइन, अपरिहार्य बिषय भइसक्यो ।’

ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल (टान) ले पनि रेबानलाई समर्थन गरेको छ । टान, पोखराका अध्यक्ष हरि भुजेल पर्यटन प्रवद्र्धनको सोच राख्ने हो भने लेकसाइडलाई चौबिसै घन्टा खुला गर्नुपर्ने बताउँछन् । ‘ट्रेकिङबाट फर्किएका थुप्रै पर्यटन आधारातमा लेकसाइड आइपुग्छन्’, उनी भन्छन्, ‘११ नबज्दै प्रहरीले रेस्टुरेन्ट तथा बार बन्द गराउँदा उनीहरु भोकै सुत्नुपर्ने अवस्था छ ।’

समस्या सुल्झाएर मात्र चौबिस घन्टा : होटल संघ

लेकसाइडलाई चौबिसै घन्टे बनाउँदा पर्यटकलाई असर पर्ने पश्चिमाञ्जल होटल संघ बताउँछ । राति होटलमा आराम गरिरहेका थकित पर्यटकहरुलाई रेस्टुरेन्ट र बारहरुका होहल्लाले बाधा पुर्‍याएको उसको तर्क छ ।

‘चौबिसै घन्टा बजार खुल्ला गर्ने नाममा डान्सबारमात्र खोलेर तान्डव मच्चाउन पाइन्न, पर्यटन या व्यापारको नाममा हल्ला मात्र गरेर लेकसाइड नर्क बन्छ’ मीना भट्टराई

‘रातको होहल्लाले पर्यटकलाई मात्र नभई स्थानीयलाई पनि धेरै डिस्टर्ब गरेको छ,’ हान अध्यक्ष विकल तुलाचन भन्छन्, ‘यो लगायत पहिलेका अरु समस्या समाधान गरेरमात्र लेकसाइडलाई चौबिसै घन्टा खुला राख्ने निर्णय गर्नुपर्छ ।’

रात्रीकालीन व्यवसायका लागि व्यवसायी, ग्राहक, प्रशासन सबै पक्ष जवाफदेही भएर नियम, आचारसंहिता पालना गर्न जरुरी रहेको उनले बताए । ‘हामी आफैं पनि बजार २४ घन्टा खोल्ने पक्षमा नै छौं, तर पर्यटन विकासको नाममा विकृति नभित्र्याउने सर्तमा’, तुलाचन भन्छन्, ‘रमाइलो गर्ने र शान्त बस्न रुचाउने दुवै प्रकृतिका मानिसका लागि उपयुक्त ठाउँ बन्नुपर्छ लेकसाइड ।’

यो विवादमा रेबानलाई टानले साथ दिएजस्तै स्थानीय सामुदायिक सेवा केन्द्रहरु हानको पक्षमा छ । पर्यटन गतिविधि बढाउने नाममा डान्सबार मात्र खोलेर रातभर हल्ला मच्चाउन नपाइने उनीहरुको भनाइ छ ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराई बजार चौबिस घन्टा खुला हुुनुहुँदैन भन्ने पक्षमा कोही नभएको, तर त्यसका लागि पहिले समस्याहरु सल्टाउनुपर्ने बताउँछिन् । लेकसाइड व्यापारिक केन्द्रमात्र नभई यहाँ आवासीय क्षेत्र पनि छ, घरघरमा बालबालिका, वृद्ववृद्व हुन्छन् भन्ने कुरामा पनि ध्यान दिनपर्ने उनको तर्क छ ।

‘चौबिसै घन्टा बजार खुल्ला गर्ने नाममा डान्सबारमात्र खोलेर तान्डव मच्चाउन पाइन्न’, भट्टराई भन्छिन्, ‘राति किताब पसल त खुल्दैन । आखिर खुल्ने भनेको त्यही डान्स र डिस्को हो । पर्यटन या व्यापारको नाममा हल्ला मात्र गरेर लेकसाइड नर्क बन्छ ।’
बजार चौबिस घन्टा खोल्ने हो भने पहिला चर्को होहल्ला, फोहोर, तीब्र गतिमा मोटरसाइकल कुदाउनेलगायतका विकृति नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

अदालतबाट आशा

लेकसाइडको ओजन डिस्कोले सबभन्दा पहिले २०७० सालमा राति दुई बजेसम्म व्यवसाय गर्न पाउने आदेश अदालतबाट लिएको थियो । अहिले त्रिसारा, चकटी विश्राम खाजाघर, रोलिङ स्टोन रक एन्ड बार, कोइला लाउन्ज बार, ट्रेजरर लाउन्ज बार एन्ड रेस्टुरेन्ट लगायतले अदालतबाट त्यस्तो आदेश पाएका छन् । बाँकी व्यवसायीले राति ११ नबज्दै प्रहरीको हप्कीदप्की खाँदै सटर बन्द गर्नपर्ने बाध्यता छ ।

यो अवस्थामा पश्चिमाञ्जल होटल संघ नौ बजेपछि लेकसाइड बन्द गर्नुपर्ने माग दावी गर्दै साउन १० गते उच्च अदालत, पोखरा पुगेको छ । आमा समूह, सामुदायिक सेवा केन्द्रलगायतको साथ पाएको हानले होहल्ला र यौनोत्तेजक क्रियाकलापले लेकसाइडवासीलाई गम्भीर असर गरिरहेको रीट निवेदनमा उल्लेख गरेको छ ।

रीटमा राति नौ बजेपछि डान्स बार, क्याबिन रेन्टुरेन्ट, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्द गर्ने आदेशको माग गरिएको छ । ‘राति चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रंगीविरंगी बत्तीले जनजीवन अस्तव्यस्त भएको छ ।

घरमा अध्ययन गर्नुपर्ने विद्यार्थी छोराछोरी, भाइबहिनीहरुले पठनपाठन गर्न सक्ने अवस्था छैन भने समाचारका लागि टिभीसम्म हेर्न, सुन्न सकिँदैन,’ रीट निवेदनमा भनिएको छ, ‘चर्को आवाज र झिलिमिली बत्तीले वातावरणीय प्रदूषण बढेको र फेवाताल र सीमसारका जीवजन्तुलाई समेत असर पारेको छ ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन लेकसाइड व्यवस्थापनमा प्रशासनलाई दबाब दिन रिट दर्ता गरेको बताउँछन् । अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल लेकसाइडमा रात्रीकालीन व्यवसायका लागि आचारसहिंता तथा निर्देशिका बनाउन सम्बन्धित पक्षसँग छलफल चलिरहेको बताउँछन् । अदालत पुगेकाहरुसंग यसबारे छलफल गरिरहेको र एक–दुई दिनमै यसको परिणाम आउने उनले बताए ।

रमिते प्रदेश सरकार

५ असारमा पोखरा आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दा पर्यटन व्यवसायीहरुले प्रदेशका पर्यटनमन्त्रीको विरोध गरेका थिए ।

पर्यटनमन्त्री विकास लम्सालले प्रदेशको पर्यटन बिकासको कार्यक्रम ल्याएर कार्यान्वयनमा समन्वय गर्नुको सट्टा कहिले ‘इन्जोय जोन’ त कहिले फेवातालमा कफीसप खोल्ने हावादारी कुरा गरेको उनीहरुको भनाइ थियो ।

प्रदेश सरकारप्रति उनीहरुको गुनासो घटेको छैन । सरकारले पर्यटन क्षेत्रको समस्याप्रति कुनै वास्ता नगरेको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार, लेकसाइडमा अहिले यत्रो विवाद उठ्दा पनि प्रदेशको पर्यटन मन्त्रालय रमिते बनेर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment