News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर फिल्म ‘परान’ले चौंथो शनिबार ६ मंसिरमा देशब्यापी १ करोड ११ लाखभन्दा बढी कमाइ गरेको छ।
- फिल्मले रिलिजदेखि चौंथो शनिबारसम्म घरेलु बक्सअफिसमा १३ देखि १४ करोड रुपैयाँ ग्रस कमाएको अनुमान छ।
- निर्माता शेखर गोल्छाले बैंकबाट ऋण लिएर फिल्म बनाएको र कलाकार तथा प्राविधिकलाई टीडीएस काटेर पारिश्रमिक दिएको खुलाएका छन्।
काठमाडौं । प्रदर्शनको चौंथो शनिबार पनि नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १ करोडभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म १४ कात्तिकमा रिलिज भएको थियो ।
चौंथो शनिबार, ६ मंसिरमा फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १ करोड ११ लाखभन्दा केही बढी कमाइ गरेको छ । पहिलो शनिबारलाई छाडेर फिल्मले दोस्रो, तेस्रो र चौंथो शनिबार एक करोडभन्दा धेरै कमाएको हो ।
फिल्मले चौंथो शनिबारसम्म घरेलु बक्सअफिसमा १३ देखि १४ करोड रुपैयाँ ग्रससम्म कमाइ गरेको अनुमान छ । यद्यपि, यसबारे औपचारिक विवरण आउन बाँकी छ । चलचित्र विकास बोर्डले सोमबार पछिल्लो साताको विवरण सार्वजनिक गर्दैछ ।
आइतबार पनि फिल्मको देशब्यापी कमाइ सुखद हुने देखिएको छ । अकुपेन्सी पनि देशब्यापी ३० देखि ५० प्रतिशत हाराहारीमा छ । कतिपय मल्टिप्लेक्समा आइतबार बेलुका शोज खचाखच हुने क्रममा छन् ।
दीपक आचार्य काकु निर्देशित फिल्मले सन्तान र अभिभावकको कथा पेश गर्छ । रेमिट्यान्सले सामाजिक मूल्यमा ल्याएको असर प्रभावको कथा यसमा छ ।
यो फिल्म २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म बनिसकेको छ । फिल्मले अनमोल केसी स्टारर ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ ।
‘बैंकबाट ऋण लिएर फिल्म बनायौं’
फिल्मका निर्मातामध्येका एक शेखर गोल्छाले आफूहरूले बैंकबाट ऋण लिएर यो फिल्म निर्माण गरेको बताएका छन् । एक मिडियासँगको अन्तवार्तामा उनले सम्भवतः बैंकबाट ऋण लिएर बनाइएको यो फिल्म पहिलो हुनसक्ने उनको भनाइ छ ।
अहिलेसम्म फिल्म धितो राखेर ऋण लिने व्यवस्था छैन । यद्यपि, कर्पोरेट संस्था भएकाले आफूहरूलाई बैंकले ऋण दिएको गोल्छाले बताएका छन् । उनले कलाकार र प्राविधिकलाई टीडीएस काटेर पारिश्रमिक दिएको पनि खुलाएका छन् ।
प्रतिक्रिया 4