News Summary
Generated by OK AI. Editorially reviewed.- ह्यूमन राइटस् वाचले जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि प्रहरीले ताकेरै गोली प्रहार गरेको र अस्वभाविक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ।
- प्रतिवेदनअनुसार सुरक्षा संयन्त्रले कर्फ्यू घोषणा बिना नै गोली प्रहार सुरु गरेको र प्राणघातक बल प्रयोगमा चेतावनी नदिएको पाइएको छ।
- ह्यूमन राइटस् वाचले दोस्रो दिनको आगजनी र हिंसामा प्रदर्शनसँग सम्बन्धित नभएका समूह संलग्न रहेको र न्यायिक आयोगले पारदर्शी छानबिन गर्नुपर्ने सुझाव दिएको छ।
७ मंसीर, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरीमाथि गम्भीर र तत्काल संकट आउने परिस्थिति नहुने प्रदर्शनकारीहरुमाथि समेत ताकेरै गोली प्रहार गरेको भेटिएको छ ।
मानव अधिकारको अवस्थाबारे विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राईटस् वाचले हिंसा र उछृङ्खल क्रियाकलापमा संलग्न नभएका प्रदर्शनकारीहरुमाथि समेत ताकेरै गोली प्रहार गरिएको निष्कर्ष निकालेको हो ।
ह्यूमन राइटस् वाचका अनुसन्धानकर्मीहरु प्रत्यक्षदर्शी र घाइतेहरुसँग कुराकानी गर्दै ‘झडप भइरहेको ठाँउबाट भाग्दै गरेकाहरुमाथि पनि गोली प्रहार भएको र उनीहरुका शरिरको पृष्ठ भागमा गोली लागेको’ निष्कर्ष निकालेको हो ।
साढे दुई महिनाअघिको जेन–जी प्रदर्शनका क्रममा अस्वभाविक र असंगत’ बल प्रयोग भएको निष्कर्ष निकाल्दै ह्यूमन राइटस् वाचले पाँचवटा विषयवस्तुमा प्रश्न उठाएको हो ।
पहिलो, उसले अध्ययनबाट जेन–जी आन्दोलनको शुरुवाती भीडको अनुमान गर्न र त्यस अनुसार पूर्वतयारी हुन नसकेको भन्दै त्यसलाई राज्यसंयन्त्रको विफलता भनी संकेत गरेको छ ।
दोस्रो, उसले भीड नियन्त्रणका आधारभूत प्रक्रिया पालना नभएको र बल प्रयोग हुनुअघि चेतावनी नदिएको भनेको छ । यतिसम्म कि प्रहरीले प्रदर्शनमा रहेकाहरुलाई अवस्था थाहै नदिई कर्फ्यू घोषणाको पाँच मिनेटभित्रै गोली प्रहार गर्न थालिसकेको थियो ।
तेस्रो, आफ्नो जीउज्यान नै जोखिममा परेको अवस्थामा मात्रै घातक गोली प्रहार गर्नुपर्नेमा सुरक्षा संयन्त्रले त्यसको पालना गरेको थिएन । कतिसम्म भने, सुरक्षाकर्मीहरुले एम्बुलेन्सको आडमा लुकेर समेत गोली चलाए ।
चौथो, बल प्रयोग गर्दा पनि कम क्षति हुनेतर्फ सोच नराखी सुरक्षाकर्मीहरुले नजिकबाट, सांघातिक हतियारबाट र ताकिताकी गोली प्रहार गरेको भेटिएको छ ।
पाँचौं, ह्यूमन राइटस् वाचले भोलिपल्ट अर्थात २४ भदौमा सुरक्षा संयन्त्रले स्थिति नियन्त्रणमा राख्न नसकेको र त्यसबेलाको आगजनी, तोडफोडले कयौं जनधनको क्षति भएको निष्कर्ष निकालेको हो ।
अमेरिकाको न्यूयोर्कबाट जेन–जी आन्दोलन, त्यसमा बल प्रयोग र मानव अधिकारको अवस्थावारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ह्यूमन राइट वाचले भदौ २३ गते प्रदर्शनकारीहरुमाथि करिब ३ घण्टा व्यापक गोली चलेको निचोड निकालेको हो । उसले सुरक्षाकर्मीहरुबाट गोली प्रहार गर्ने प्रवृतिलाई अन्धाधुन्ध भनेको छ ।
ह्यूमन राईटस् वाचले आफ्नो संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसैको प्रतिक्रियास्वरुप भोलिपल्ट व्यापक आगजनी र लुटपाट भएको निष्कर्ष निकालेको हो । तर उसले त्यसमा ‘जेन–जी’ प्रदर्शनसँग सम्बन्धित नभएका व्यक्तिहरु पनि संलग्न भएको भनेको छ ।
उसले अध्ययनको निष्कर्षमा हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जो–कोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औंल्याएको हो । उसले त्यसैमा न्यायिक आयोगको सफलता निर्भर हुने औंल्याएको छ । उसले जेन–जी आन्दोलनपछि बनेको सरकारले पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानबिन हुनुपर्छ भनेको छ ।

‘सोझै प्राणघातक प्रहार’
राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिब तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कूल संख्या भने २२ पुगेको थियो ।
उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद् भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ अर्थात मेटल बुटेल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन–मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो । उसले प्रत्यक्षदर्शीहरुको बयान र भिडियो फुटेजमा आधारित अध्ययनपछि भनेको छ, ‘अध्ययनले त्यस्तो प्राणघातक बल प्रयोग गर्नैपर्ने गरी गम्भीर तथा तत्काल संकट थियो भन्ने देखाउँदैन ।’
जीवन–मरणको जोखिममा भने सुरक्षाकर्मीहरुले चेतावनी सहित प्राणघातक बल प्रयोग गर्नु स्वाभाविक मानिन्छ । एक अवकाशप्राप्त प्रहरी अधिकारीलाई उदृत गर्दै अध्ययनले ‘भीड नियन्त्रण र प्राणघातक बल प्रयोगको प्रक्रियाको पालना नभएको’ भनेको छ ।
संयुक्त राष्ट्रसंघीय मापदण्ड अनुसार, सुरक्षाकर्मीहरुको जीवन–मरणको तत्कालीन जोखिममा मात्रै प्राणघातक हतियार प्रयोग गर्न मिल्छ । तर त्यसअघि पनि चेतावनी दिनुपर्छ । नेपालको कानूनमा पनि त्यही व्यवस्था भएपनि परिपालना नभएको अध्ययनको निष्कर्ष छ ।
सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी डिस्कर्डको माध्यमबाट सूचना पाएका सहभागीहरु ठूलो संख्यामा भेला हुँदा समेत संसद भवन जाने सडकमा एक मात्रै अवरोधक ‘ब्यारिकेड’ राखिएको प्रतिवेदनमा उल्लेख छ ।
बिहान ९ बजे आसपास नै माईतीघरमा भेला भएका प्रदर्शनकारीहरु भीड ११ बजेसम्म ठूलो भइसकेको भन्दै अध्ययनले प्रदर्शनकारीहरुले ब्यारिकेड नाघेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रहार गरेको विवरण उल्लेख गरेको छ ।
त्यसक्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको विवरणमा उल्लेख छ ।
शुरुमा शान्तिपूर्ण रुपमा अघि बढेको प्रदर्शन बानेश्वरको प्रहरी ब्यारिकेड नाघेपछि अव्यवस्थित हुन पुगेको भन्दै त्यसपछि सुरक्षा संयन्त्रले ‘प्राणघातक बल प्रयोग’ गरेपछि जनधनको क्षति भएको निष्कर्ष निकालेको हो ।
सरकारले करिब साढे १२ बजे कर्फ्यूको घोषणा गर्दा समेत प्रदर्शनकारी र पत्रकारले कुनै जानकारी नपाएको भन्दै ह्यूमन राइटस् वाचले एक पत्रकारको भनाई उदृत गर्दै एक बजेभित्र ‘वातावरण अत्यन्तै खराब भएको’ औंल्याएको छ । त्यसक्रममा प्रत्यक्षदर्शीहरुले आफ्नो नजिकबाट गोली गएको बताउदै ‘प्राणघातक बल प्रयोग गर्नुअघि कुनै चेतावनी सुनिएको थिएन’ भनी बताएका छन् ।
स्थिति शान्तिपूर्ण रहेको अवस्थामा पनि प्रहरीले बल प्रयोग गरेको भेटिएको छ । करिब पौने २ बजे प्रहरीको गोली एक किशोरीको काँधमा लाग्यो । उनले आफूलाई गोली लागेको बेला स्थिति शान्त भएको र कुनै हिंसा नभएको बताइन् । त्यही बेलामा सुरक्षाकर्मीहरुले गोली चलाएका थिए । शुरुका एक घण्टासम्म फाट्टफुट्ट भएको गोली प्रहार पछि भने बढ्न थाल्यो ।
एक प्रदर्शनकारीका अनुसार, सिंहदरबार वरपर भेला भएका ३३ जनाले प्रहरीको स्पेसल टास्क फोर्सका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका उनीहरुमाथि कुटपिट भयो, सुरक्षाकर्मीहरुले धम्क्याए, अनि भोलिमात्रै छाडे । सुरक्षाकर्मीहरुले अस्पतालमै पुगेर बल प्रयोग गरेका थिए । सामाजिक सञ्जालमा राखिएका करिब ५० वटा भिडियोहरु विभत्स प्रकृतिको भएको भन्दै उसले तिनको पनि विश्लेषणबाट आफ्नो निष्कर्ष निकालेको हो ।
शव भेटिएका ४७ जनामध्ये ३५ जनाको गोली प्रहारबाट ज्यान गएको देखिएको भन्दै उसले अधिकांशको टाउको, घाँटी, छाती र पेटमा चोट रहेको औंल्याएको छ । अनि अस्पतालमा भर्ना हुने घाइतेहरुको संख्या सयौं थियो ।
ज्यानै जानेगरीको प्रहार
निजामति अस्पतालले त्यो दिन २ सय २१ जना घाइतेको उपचार गरेको थियो, जसमध्ये ३ जनाको अस्पतालमै मृत्यु भयो । ट्रमा सेन्टरमा पुर्याइएका ८ घाइतेमध्ये केहीलाई त्यहाँ पुर्याँउदा ज्यान गइसकेको थियो, केही उपचारका क्रममा मरे । त्यहाँ अरु ७३ जना घाइते थिए । अलि टाढाको त्रिवि शिक्षण अस्पतालमा ३० जना घाइते थिए ।
प्रत्यक्षदर्शीका अनुसार, दिँउसो ३ देखि साढे ३ बजेको बीचमा एक प्रदर्शनकारीले ठूलो जमातलाई संसद् भवनतिर जान हौंसाएका थिए । त्यसको केही बेरमा उनीहरु सेनाको ट्रकमा चढेर गेट हल्लाउन थालेका थिए ।
त्यसपछि प्रदर्शनकारीहरु अति नजिक भएको ठाँउ(करिब तीन मिटर)मै प्रहरीले फायरिङ खोल्यो । त्यहाँ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष कार्यदलको टोली थियो । ती प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनीहरूले हामीलाई ताकेरै गोली प्रहार गर्न थाले ।’

प्रहरीहरुले एम्बुलेन्सको आड लिएर समेत गोली प्रहार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ब्यारिकेड र एम्बुलेन्सको आड लिएर प्रहरीले गोली प्रहार गरेको भन्दै अध्ययन प्रतिवेदनले दुई राउण्ड गोली चलेकोमा प्रदर्शनकारी भुइँमा लडेको भिडियोबाट देखिन्छ । त्यसपछि दिपेन्द्र बस्नेत प्रहरीको ब्यारिकेडमाथि लत्रिए र उनको टाउकोबाट भलभल रगत बग्यो, संयोगले उनी जोगिएका छन् ।
सुरक्षा संयन्त्रको हेलचेक्राई
प्रदर्शनको पहिलो दिन सुरुवातमा उमंगमय भएको प्रदर्शनमा भीड विस्तारै बढ्दै गएको थियो । प्रहरीलाई फूल उपहार दिएर शान्तिपूर्ण रुपमा नै प्रदर्शन टुंग्याउने योजना भएपनि भीड झनझड ठूलो भएको भन्दै ह्यूमन राइट वाचले सांकेतिक रुपमा सुरक्षा संयन्त्रले त्यसतर्फ हेक्का राख्न नसकेको औंल्याएको छ ।
प्रहरी अपरेसनबारे जानकार एक प्रहरी अधिकारीले नै त्यो दिन जम्मा हुने भीडको संख्यालाई कम आँकेका थिए र पूर्वसूचना र तयारीको अभाव थियो । पूर्वतयारी गरेको भए ‘प्राणघातक बल प्रयोगबिना’ नै प्रदर्शनलाई व्यवस्थित गर्न सकिने विश्लेषण सहित एक अवकाशप्राप्त प्रहरी अधिकृतको भनाई उदृत गर्दै प्रतिवेदनमा लेखेको छ, ‘त्यो ठूलो गल्ती थियो ।’
उसले सुरक्षा रणनीतिमा अर्को त्रुटी भएको पाटो पनि औल्याएको छ । बानेश्वर चोकदेखि माईतीघर पुग्ने एउटा मूल सडकमात्रै छ । होटल एभरेष्टनिर ब्यारिकेड तेर्स्याएर बसेको प्रहरीले अरु साना सडक र गल्लीबाट प्रदर्शनकारीहरु प्रदर्शनकारीहरु बानेश्वर चोकमा पुग्छन् भन्ने हेक्कै राखेन ।
जिल्ला प्रशासन कार्यालयले साढे १२ बजेदेखि कर्फ्यू लगाएको थियो । त्यसको सूचना प्रदर्शनकारीहरुसम्म पुग्न पाएको थिएन । कुनै चेतावनीबिना नै प्रहरीले कर्फ्यूको ५ मिनेटपछि नै गोली प्रहार गरेको थियो । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका अधिकारीहरुले गोली प्रहार गरेको भिडियो भेटिएको भन्दै ह्यूमन राइट वाचले त्यसक्रममा ‘सैनिक राइफल’ प्रयोग भएको निष्कर्ष निकालेको हो ।
‘हामी संसद् अगाडि हुँदा उनीहरूले धातुको गोली हाने । हाम्रा केही साथीहरूले ढुंगा हानेको हुनसक्छ’ एक घाइतेलाई उदृत गर्दै प्रतिवेदनले भनेको छ, ‘हाम्रा साथीहरूले ढुंगा हान्दा उनीहरूले गोली हाने ।’ उनका अनुसार, पहिलोपटक गोली चल्दा प्रहरी र प्रदर्शनकारीहरुबीच करिब ७ मिटरको मात्रै दूरी थियो । टाढाको तुलनामा त्यति नजिकबाट ठूलो हतियारले गर्ने प्रहार निकै घातक हुन्छ ।

प्रहरीले अन्धाधुन्द रुपमा गोली प्रहार गरेको र क्षति कम गर्न कुनै रणनीति नलिएको देखिन्छ । एक २० वर्षिया घाइतेका अनुसार, दुई जनाको मृत्युपछि प्रदर्शनकारीहरुले साथी र प्रहरीलाई संयम अपनाउन आग्रह गरेका थिए । उनी स्वयं साढे १ बजे घर फर्किन लाग्दा पछाडिबाट गोली लागेको थियो । प्रहरीले टाउको, काँध र छातीमा लाग्नेगरी अन्धाधुन्ध बल प्रयोग गरेको थियो ।
गोली प्रहारबाट ज्यान गुमाएका १७ वर्षिक बालक श्रेयम चौलागाईको कारुणिक अवस्था प्रतिवेदनमा चित्रित छ । उनी स्कूल युनिफर्ममा थिए र टाउकोमाथि हात लगेर ताली बजाउँदै संसद् भवनतिर गइरहेका थिए ।
त्यसलगत्तै बन्दुक पड्किएको आवाज सुनिन्छ । उनको टाउको एक्कासी झुक्छ र त्यही लड्छन् । भिडियोको छाँया विश्लेषण गरेको ह्यूमन राइटस् वाचको टिमले करिब दुई बजे उक्त घटना भएको भनेको छ ।
प्रतिवेदनले अवस्था चित्रित गर्दै भनेको छ, ‘त्यसलगत्तैको अर्को भिडियोमा प्रदर्शनकारीहरूले बालकको शरीरलाई बोकेर अर्कातिर लाग्दै गरेको र उनको टाउको पछाडिबाट बगिरहेको रगत थाम्ने कोसिस गरिरहेको देखिन्छ । उनी बाँचेनन् ।’
‘दोस्रो दिन अर्थात् पहिलो दिनको प्रतिक्रिया’
त्यो घटनाले दोस्रो दिनको हिंसा भड्किएको भन्दै ह्यूमन राइटस् वाचले अर्को दिनको आगजनी, कुटपिट र आक्रमणहरुमा भने प्रदर्शनसँग असम्बन्धित मानिसहरु सक्रिय भएको निष्कर्ष निकालेको हो । सरकारी भवन, राजनीतिज्ञ, पत्रकार र अन्य व्यक्तिको घर आगजनी हुँदा, उनीहरु कुटपिटमा पर्दा राज्यको सुरक्षा बल ‘प्रभावकारी हस्तक्षेप गर्न’ असफल देखिएको उसको निष्कर्ष हो । उसले विद्यालय, व्यवसाय र सञ्चारमाध्यममाथिको अक्रमणलाई पनि यसैसँग जोडेको छ ।
भोलिपल्ट प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गरेका थिए, कयौंले हतियार लुटे । आक्रमणमा तीन प्रहरीको ज्यान गयो । अध्ययनले ‘धेरै ठाँउमा सर्वसाधारणले पनि आगजनीमा भाग लिएको देखियो’ भन्ने निष्कर्ष निकालेको छ ।
भीडले नेताहरुलाई कुटपिट गर्नुका साथै घरमा आगो लगाइदिएको, तत्कालीन प्रधानमन्त्री लगायतलाई सैनिक हेलिकप्टरले उद्दार गर्नुपरेको, संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायतका भवनहरुमा अगजनी भएको, निजी सम्पत्ति लगाइएको र हजारौं कैदी भागेको घटनालाई गम्भिर मानेको छ ।

ह्यूमन राइटस् वाचले आफ्ना दस्तावेजहरुको विश्लेषण गर्दै भनेको छ, ‘भदौ २४ का आगजनीका घटनामा केही जनआक्रोशका स्व:स्फूर्त अभिव्यक्ति थिए भने अन्यमा हिंसाको सुनियोजित तथा लक्षित प्रयोग थियो भन्ने संकेत पाइन्छ ।’ २३ भदौमा अधिकांश युवा प्रदर्शनकारी रहेकोमा भोलिपल्ट अरु मानिसहरु पनि संलग्न रहेको उसको निष्कर्ष छ ।
‘लक्षित आक्रमण’
ह्यूमन राइटस् वाचले दोस्रो दिनको कतिपय आक्रमणलाई लक्षित भनेको छ । उसले हरिसिद्धिको प्रहरी चौकीको उदाहरण दिँदै बिहान साढे ११ बजे नै त्यहाँ आक्रमण भएको जनाएको छ । त्यहाँ नजिकैको एउटा हाउजिङ कम्प्लेक्समा प्रदर्शनकारीहरु घुसेका थिए । उनीहरुले सीसीक्यामेरा बन्द गरे र भाडामा बस्ने राज्यमन्त्रीको निवासमा आक्रमण गरे ।
युलेन्स स्कूल, कान्तिपुर टेलिभिजनमाथिको आक्रमण, कान्तिपुर दैनिक र अन्नपूर्ण पोष्टको कार्यालयको आक्रमण विश्लेषण गर्दै उसले त्यसक्रममा लाठी, खुकुरी र मट्टीतेल बोकेका आक्रमणकारीहरु सक्रिय भएको जनाएको छ । त्यसपछि सर्वोच्च अदालत र सिंहदरबारमा आक्रमण भयो ।
एक प्रत्यक्षदर्शीलाई उद्दृत गरी वाचले प्रतिवेदनमा ‘अत्यन्त आक्रामक समूहसहितको भीड १२ देखि १ बजे उक्त क्षेत्रमा आउन थालेको’ जनाएको छ ।
सिंहदरबारसम्म पुग्दा हतियार बोकेको १०/१५ जनाको समूह थियो । त्यतिबेलासम्म कारागारका कैदीबन्दी भागिसकेका थिए भने प्रहरी चौकीका हतियार लुटिएको थियो । सिंहदरबार पस्ने क्रममा उनीहरुले फोटो पत्रकारलाई फोटो नखिच्न धम्क्याएका थिए ।
सिंहदरबार आगजनीमा खुकुरी र फलामे रड बोकेका ‘बाइकर ग्याङ’ संलग्न भएको भन्दै ह्यूमन राइटस् वाचले भनेको छ, ‘यी पुरुषहरूले आफ्ना मोटरसाइकलबाट इन्धन निकालेर आगो–बम बनाएको र मुख्य भवनमा आगजनी गर्न प्रयोग गरेको ।’
ह्यूमन राइटस् वाचको अनुसन्धानकर्मीहरुको टोलीले कयौं प्रत्यक्षदर्शीहरुलाई सोधपुछ गरेको थियो । उनीहरुले कयौं ठाँउमा छानी छानी आगजनी र आक्रमण गरिएको आफ्नो अनुभव सुनाएका थिए । उसले प्रतिवेदनमा लक्षित प्रकृतिको आक्रमण भनेको छ, किनभने कुनै ठाँउमा व्यापक आक्रमण र आगजनी हुँदा छेवैको अर्कोमा कुनै दखल थिएन ।
अनि दोस्रो दिन सुरक्षाकर्मीहरुले हस्तक्षेप नगरेकोमा प्रश्न उठाएका थिए । दोस्रो दिन धेरै ठाँउमा सुरक्षाकर्मीहरु नरहेको र त्यसले गर्दा जनधन सुरक्षित हुन नसकेको अध्ययनको निष्कर्ष हो । उसले भाटभटेनीमा भएको आगजानी, त्यसक्रममा त्यहाँ ६ जना जलेकोसहित अन्य दर्जनौं मारिएको घटनालाई ‘सुरक्षा बलहरूले सुरक्षा सुनिश्चित गर्न नसक्दाको नतिजा’ भनेको हो ।
उसले प्रत्यक्षदर्शी र विश्लेषकहरुको भनाई उदृत गर्दै विभिन्न राजनीतिक समूह र घुसपैठियाहरु यस्ता गतिविधिमा संलग्न भएको हुनसक्ने औंल्याएको छ । उसले प्रतिवेदनमा भनेको छ, ‘विश्वसनीय आपराधिक गतिविधिको आरोप भए, त्यसको छानबिन हुनुपर्छ ।’
ह्यूमन राईटस् वाचले भदौको हिंसालाई ‘गम्भीर मानव अधिकार उल्लंघनले भरिएको घटना’ भनी निष्कर्ष निकालेको हो । ‘यसमा सुरक्षा बलका सदस्य हुन् वा राजनीतिक पात्र, जो–कोही जिम्मेवार छन्, उनीहरुलाई जवाफदेही बनाइनुपर्छ’ ह्यूमन राईटस् वाचकी एसिया उप–निर्देशक मीनाक्षी गंगुलीको भनाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘कानून तोड्ने कोही पनि अनुचित रुपमा जोगाइदैनन् भन्ने सरकारले सुनिश्चित गर्नुपर्छ ।’
ह्यूमन राइटस् वाचले जाँचबुझ आयोगलाई सुरक्षाबलको भूमिका, घुसपैठको आरोप र अरु आपराधिक गतिविधि सबैको अनुसन्धान गर्न सल्लाह दिएको छ ।
दुई साता अघिसम्म प्रहरीले जेन–जी आन्दोलनका दुई दिनको घटनामा संलग्न भएको आरोपमा ४ सय २३ जनालाई पक्राउ गरेको तर अघिल्लो दिन गोली चलाउने प्रहरी अधिकारीमाथि कुनै कारबाही नभएको भन्दै प्रश्न उठाएको छ ।
विगतका मानव अधिकार उल्लंघनका घटनालाई पनि ह्यूमन राइट वाचले अध्ययनका क्रममा विश्लेषण गरेको देखिन्छ । विगतका शान्तिपूर्ण आन्दोलन र शसस्त्र द्वन्द्वमा संलग्न मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही भएको छैन । उसले यो विषयलाई गम्भिरतापूर्वक उठाएको छ ।
‘नेपालमा विगतका मानव अधिकार उल्लंघनमा देखिएको दण्डहीनताले यस पटकको हिंसा सम्भव बनायो’ ह्यूमन राईटस् वाचकी एसिया उप–निर्देशक मीनाक्षी गंगुलीको भनाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘छानबिन लुकाउने, अभियोजन ढिलो गर्ने परम्परा अन्त्य गर्न अत्यावश्यक छ ।’
विलासी जीवनशैली कारक
ह्यूमन राइटस् वाचले नेपाली युवामाझ बढ्दो असन्तुष्टिलाई औंल्याउदै सामाजिक सञ्जाल अभियानले ‘राजनीतिक सम्भ्रान्त वर्गको विलासी जीवनशैली उदाङ्गो बनाएको’ टिप्पणी गरेको छ । जेन–जी आन्दोलन हुनुअघि नेताहरु र तिनका परिवार र नातेदारले पाएको लाभबारे ‘नेपो बेबी’ अभियान चलेको थियो ।
जेन–जी आन्दोलनको सामाजिक परिवेशअघिको अवस्थाबारे चित्रित गर्दै प्रतिवेदनमा भनेको छ, ‘यही असन्तुष्टि, सामाजिक तथा आर्थिक असमानता, भ्रष्टाचार, दलहरूबीचको खिचातानीका कारण सुशासनको अभाव तथा भ्रष्टाचारमाथिको कारवाहीको विफलताबारे व्यापक क्रोधमा परिणत भयो ।’
कर र नियमन प्रयोजनका लागि भन्दै ओली सरकारले फेसबुक सहित २६ वटा सामाजिक सञ्जाललाई बन्देज लगाएको थियो । तर असन्तुष्टहरुले त्यसलाई आलोचना दमन गर्ने उद्देश्यका रुपमा बुझे । तीन दिनअघिदेखि डिस्कर्डमा आन्दोलनकारीहरु एकढिक्का भएको औंल्याउँदै उसले दशौं हजार त्यसमा आवद्ध रहेको औंल्याएको हो ।
शान्तिपूर्ण भनिएपछि डिस्कर्डमा सहभागी भएका कतिपयले हिंसाको पक्षमा बोलेको र हिंसात्मक वातावरण बनाएको भन्दै उसले पहिलेदेखि नै घुसपैठको आशंका भएको निचोड निकालेको हो । ह्यूमन राइट वाचले भनेको छ, ‘विभिन्न राजनीतिक समूहका समर्थकहरूले नियतवश नै उच्छृंखलतातर्फ छलफललाई उक्साएका थिए भन्ने आफ्नो विश्वास रहेको थुप्रै सुसूचित विश्लेषकहरू तथा प्रत्यक्षदर्शीले बताएका थिए ।’
भ्रष्टाचार, उचित जीवनस्तरको अभाव लगायत नागरिक अधिकारको विषय जोडिएर आन्दोलन भएको औल्याउदै उसले विगतका ती विफलतालाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सम्बोधन गर्नुपर्छ भनेको छ ।
ह्यूमन राइटस् वाचले अध्ययनका क्रममा ५२ जना प्रत्यक्षदर्शी, पीडित, पत्रकार, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, सुरक्षा अधिकारीहरुसँग अन्तर्वार्ता र कुराकानी गरेको थियो । उसले सामाजिक सञ्जालमा गरिएका पोष्ट, अनुसन्धानकर्मीहरुलाई ‘शेयर’ गरिएको फोटो र भिडियोको विश्लेषण गरेको थियो । अस्पताल, प्रदर्शनस्थल र आगजनी भएका ठाँउहरुको अवलोकनबाट समेत प्रतिवेदन तयार पारिएको भन्दै उसले अनुसन्धान काठमाडौं केन्द्रित रहेको स्पष्ट पारेको छ ।
सन् १९७८ मा स्थापित ह्यूमन राइटस् वाच एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले मानव अधिकार, हिंसा, युद्धअपराध लगायतको अनुगमन गर्छ । उसका अनुसन्धानकर्मीहरुले जेन–जी आन्दोलनपछि काठमाडौंमा केन्द्रित भएर अनुसन्धान र अनुगमन गरेका थिए ।
प्रतिक्रिया 4