+
+
Shares
स्थलगत :

अनि जेनजीको आन्दोलन रक्तपातपूर्ण बन्यो

माइतीघरदेखि बानेश्वरसम्म आउँदा शान्तिपूर्ण रहेको जेन–जी आन्दोलन संसद् भवन अगाडि पुगेपछि अशान्त बन्यो। संसद् भवनभित्रबाटै प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्न थालेपछि बानेश्वर क्षेत्र रक्तपातपूर्ण बन्यो।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २३ गते २३:५९

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपोबेबिज’ अभियान चलाउँदै आएका जेनजी युवाले सोमबार (सेप्टेम्बर ८) मा प्रदर्शन गर्ने घोषणा कुनै लामो तयारी साथ गरेका होइनन् ।

इन्डोनेसिया लगायतका देशमा चलेको अभियानपछि नेपाली युवाले समेत भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका बेला सरकारले सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो । त्यसमाथि शनिबार ललितपुरको हरिसिद्धीमा शनिबार कोशीका प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर नरोकी हिंडेको सीसी टीभी फुटेज बाहिरिएपछि उनीहरू थप आक्रोशित भए ।

यस्तोमा जेनजीले रेडिट र डिस्कर्ड एपमार्फत स्वतःस्फूर्त प्रदर्शन मिति घोषणा गरेका थिए । त्यसपछि अनलाइनमै विभिन्न समूहहरू बनेका थिए । आफैं उठेको यो अभियानमा छोटो समयमै धेरैले ऐक्यबद्धता जनाउन थाले ।

तर, यो अभियानको नेतृत्वमा भने शनिबार बेलुकीसम्म कोही देखिएका थिएनन् । आइतबार बेलुकी भएको छलफलमा सहभागी एक जेनजी युवाका अनुसार, स्वतःस्फूर्त रूपमा घोषणा भएको प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस् भन्ने हिसाबले केहीले जेनजी अभियन्ताले छलफल थालेका थिए ।

त्यो छलफलमा पहिले विवकेशील नेपाली दलमा जोडिएका युवादेखि हामी नेपाली, हन्ड्रेड ग्रुप लगायतसँग जोडिएकाहरू समेत थिए । राप्रपा र कांग्रेसका विद्यार्थी संगठनमा जोडिएका कतिपय युवा पनि त्यसमा देखिएका थिए ।

‘प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस्, घूसपैठ नहोस् भन्ने हिसाबले जोडिएका थियौं’ एक जेनजी युवाले भने, ‘खासगरी व्यवस्थापनको पाटोमा काम गरेका थियौं ।’

०००

आइतबार अपराह्नको बैठकपछि छुट्टिएका उनीहरू सोमबार बिहान ९ बजे नै माइतीघरमा भेला भए । १० बजेसम्ममा कम्तिमा एक हजार बढी जेनजी भेला भइसकेका थिए । ‘युथ एग्नेस्ट करप्सन’ लेखिएको एउटा गाडीमा कोही माइकिङ गर्दै बसेका थिए भने छुट्टाछुट्टै समूहमा समेत नाराबाजी भइरहेको थियो ।

बिहान साढे १० बजे माइतीघर मण्डलाबाट विभिन्न समूहमा रहेका युवा बानेश्वरतर्फ अघि बढेका थिए । ‘रातो र चन्द्र सूर्य, जंगी निशाना हाम्रो’ गीतसहित अघि बढेका जेनजीले लगत्तै ‘देश बेच्न पाइँदैन, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘लुट्न पुग्यो सरकार’ लगायतका नारा लगाएका थिए ।

यो भिडमा कक्षा ८ पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली पनि परिरहेका थिए । खासगरी सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णयलाई फिर्ता लिन समेत उनीहरूले माग राखिरहेका थिए ।

त्यहीबेला बिजुलीबजार पुल पुग्न लाग्दा पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर रहेको होर्डिङ बोर्ड देखियो । प्रदर्शनकारीले नाराबाजी गर्दै तस्वीरमा बोतल प्रहार गर्न थाले ।

कतिपयले भिडलाई संयमित बनाउने कोसिस गरिरहे, त्यहीबीच एक युवाले पोलमा चढेर ओलीको तस्वीर च्याते । त्यसपछि फेरि भिड ‘रातो र चन्द्र सूर्य’ गीत गाउँदै अघि बढ्न थाल्यो ।

बिजुली बजारबाट समेत नाराबाजी र गीत गाउँदै जेनजी युवा अगाडि बढे । अगाडि केही युवाले ‘जेनजीको आवाज ः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार र काण्डवादीलाई कारबाही’ लगायतका लेखिएका ब्यानर समेत बोकेका थिए । उनीहरूले बोकेको ब्यानर र प्लेकार्डमा तीन नेताको वरिपरि घुम्ने सरकारको नेतृत्व रोकिनुपर्ने समेत लेखेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको तस्वीर राखेर उनीहरूले म्यूजिकल चेयर बन्द गर्नुपर्ने उल्लेख गरिएको प्लेकार्ड समेत देखाएका थिए ।

‘भ्रष्टाचारको सोह्र श्राद्ध गर्नुपर्छ’ भन्ने प्लेकार्ड बोकेकी कक्षा ७ मा पढ्ने विद्यार्थी अनिता लामाले जेनजीले नेताका छोराछोरीबारे सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि सञ्जाल बन्द गराइएको बताइन् ।

०००

नाराबाजीसहित प्रदर्शन एभरेष्ट होटल नजिक पुग्न लागेपछि चाहिँ १०/१२ जनाको संख्यामा रहेका प्रहरीले रोक्ने प्रयास गरे । त्यसअघि केहीबेर प्रहरीले पानीको फोहोरा हान्यो । केहीबेर तितरबितर भएको भिड एकैछिनमा अगाडि आइहाल्यो ।

भ्रष्टाचारी मुर्दावाद भन्दै नारा लागिरहेका बेला त्यहाँ खटिएका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) ले सम्झाउँदै त्यहीँ रोकिन आग्रह गरे । तर, भिडको सामू उनको आवाज कमजोर सुनियो । सबै एकसाथ अघि बढ्न थालेपछि प्रहरी अधिकारीहरू पछि हटे ।

यहाँनेर प्रहरी तयारी पनि फितलो देखियो । कतिसम्म भने सुरुमा त्यहाँ ब्यारिकेड समेत थिएन ।

जेनजी प्रदर्शनमा सहभागी युवा युजनराज भण्डारीका अनुसार, पहिले निषेधित क्षेत्र तोकिएको यो स्थानमा ब्यारिकेड राख्ने गरिन्थ्यो । ‘आज भिडलाई उत्तेजित बनाएर दमन गर्ने नीति रहेछ,’ उनले अनलाइनखबरसँग भने ।

पहिले माइतीघरबाट आउने प्रदर्शनकारी त्यहीँ रोकिने गरेका थिए । तर, सोमबार दिउँसो ११ः५५ मा जेनजी प्रदर्शनकारी त्यहाँबाट कटेर गएपछि आकाशे पुल तर्फ चढे । पुलमा चढेर उनीहरूले ‘टाइम इज नाउ, वेक अप नेपाल’ लेखेको ब्यानर टाँगे ।

विगतका प्रदर्शनमा यो स्थानमा यस्तो दृश्य देखिएको थिएन । नयाँ बानेश्वर चोकमा पुगेपछि उनीहरूले ट्राफिक आईल्याण्डमा समेत पोस्टर टाँगे । मध्यान्ह १२ः०५ बजेसम्म परिस्थिति नियन्त्रणमै थियो ।

०००

त्यहीबेला युवाको समूह संसद् भवनतिर अघि बढिरहेको थियो ।

संसद् भवनको मुख्य गेटमा पुगेका युवाले गेटमा रहेको सुरक्षाकर्मी बस्ने भवनको माथि चढेर नेपालको झण्डा फहराए । दिउँसो १२ः०८ मा युवाको एउटा समूह छतमा बजेर नारा लगाउन थाल्यो ।

अगाडि नाराबाजी पनि चलिरह्यो । बानेश्वरमा जेनजी युवाले ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाइरहँदा आकाशमा अश्रु ग्यास प्रहार हुन थाल्यो । लगत्तै आक्रोशित बनेको समूहका केही सदस्यले संसद् भवनको एकातिरको पर्खाल भत्काउन थाल्यो ।

सुरुमा केही युवाहरू संसद् भवनको पर्खाल छेऊ प्रहरी बस्ने सेन्ट्रीतिर लागे । उनीहरू माथि चढेर नारा लगाउन थाल्दा १२ः४७ भइसकेको थियो । प्रहरीले अश्रु ग्यास हान्न भने छाडेन । केहीबेरमा प्रहरीले गोली चलाउन थाल्यो ।

आक्रोशित भिडले संसद् भवनको पर्खाल भत्काउन थाल्यो । दिउँसो १ः२८ मा प्रदर्शनकारीले नयाँ बानेश्वरबाट पानी ट्यांकी जाने बाटोतर्फ रहेको पर्खालको मुनितिर भ्वाङ पारिदिए ।

सुरुमा पर्खालमाथि राखिएको फलाम भत्काएका युवाले पछि मुन्तिर पर्खालमा ढुंगा र इँटाले प्वाल पारका थिए । पछि त्यहीँबाट उनीहरू संसद् भवनभित्र समेत छिरे ।

०००

दिउँसो १ः३० सम्ममा प्रहरीको गोली लागेर एक युवा गम्भीर घाइते भइसकेका थिए । संसद् भवनभित्रबाट अन्धाधुन्ध चलाएको गोली लाग्दा प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । त्यसबेला सडकमा रगक्ताम्ये दृश्यहरू देखिन थालिसकेका थिए ।

दिउँसो १ः५५ मा प्रहरीको गोली लागेर संसद् भवनको मुख्य गेटको विपरीत सडकमा ढलेका एक युवालाई लैजान एम्बुलेन्स समेत आएन । जेनजी युवाले बोकेरै नजिकै रहेको सिभिल अस्पताल लैजाने प्रयास गर्न थाले । त्यहीबीचमा एउटा मोटरसाइकल आयो र त्यसमा च्यापेर लगे ।

सोमबार गोली लागेर घाइते भएका १७ जनामध्ये अधिकांशलाई यही क्षेत्रमा गोली लागेको थियो । २ बजे अर्का घाइतेलाई स्ट्रेचरमा राखेर अस्पताल पुर्‍याइएको थियो । त्यसबेलासम्म प्रहरीले अश्रुग्यास र रबर बुलेट मात्र हानेको बताए पनि त्यहाँ गोलीका सेलहरू फेला परेका थिए ।

प्रहरीको गोली लागेर घाइते हुने क्रम बढेपछि आक्रोश थप चुलिया । त्यसपछि २ः०५ बजे युवा फेरि संसद्को गेटतिर अघि बढे । २ः२० मा स्कुल र कलेजको ड्रेसमा भएका युवाले संसद्को गेट अगाडि हात उठाउँदै गएर प्रहरीलाई संयमित भइदिन आग्रह गरे ।

तर, त्यहीबेला समेत भित्रबाट गोली चल्यो । परिस्थिति झन् तनावग्रस्त बन्न थाल्यो ।

प्रहरीले संसद् भवनबाट हानेको अश्रु ग्यास जेनजी युवाले समात्दै प्रहरी भएतिरै समेत फ्याँकिदिए । त्यही बेला एउटा एम्बुलेसबाट संसद् भवनभित्रका कर्मचारी बाहिर निस्किएको भन्दै हल्ला भएपछि प्रदर्शनकारीले नजिकै रहेको सशस्त्र प्रहरीको एम्बुलेन्सलाई समेत तारो बनाए ।

प्रहरीले गोली हान्न भने छाडेन । कतिसम्म भने बानेश्वरस्थित सिभिल अस्पताल परिसरमै समेत अश्रु ग्यास हान्यो । यो अस्पतालमा सोमबारको आन्दोलनका अधिकांश घाइते भर्ना गरिएका थिए । प्रहरीले अस्पताल परिसरमै अश्रु ग्यास र लाठी चार्ज गर्दा स्वास्थ्यकर्मीलाई समेत काम, कारबाहीमा असर पुगेको थियो ।

सोमबार साँझसम्मै पनि प्रहरीले अश्रु ग्यास हानी रह्यो । बेलुकी ७:२० मा प्रहरीले नागरिकको घरको छतमा बसेकालाई समेत भित्र छिर्न भन्दै उर्दी गर्न थाल्यो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?