
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ को जेनजी आन्दोलनमा गोली प्रहारबाट मृत्यु भएका ३६ जनाको पोस्टमार्टममा हाई भेलोसिटी आर्म्सबाट गोली लागेको देखिएको छ।
- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
- नेपाल प्रहरीका पूर्वअधिकृतले इन्सास र एसएलआर प्रहरीकै हतियार भएको र विस्तृत फरेन्सिक जाँच बिना निष्कर्ष निकाल्न नहुने बताएका छन्।
५ असोज, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बालुवाटारबाट हवाई उद्दार गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि सार्वजनिक भए ।
भ्रष्टाचारविरोधी प्रदर्शनका चलिरहँदा सुरक्षा जोखिम बढेपछि सैनिक ब्यारेक छिरेका ओलीले फर्किँदा कुनै आत्मालोचना गरेनन्, उल्टै ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटना छानबिन हुनपर्ने’ बताए । जबकि, संसद् भवनबाट प्रहरीले प्रयोग गरेको हतियार इन्सास र एलएलआर आफैंमा अर्धस्वचालित घातक हतियार हुन् ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग स्रोतका अनुसार, पहिलो र दोस्रो दिन उद्दार गरेर अस्पताल पुर्याइएका मध्ये ३६ जनाको कम्मरभन्दा माथि गोली लागेको भेटिएको थियो । तीमध्ये कतिपयको टाउको र छातीमा समेत गोली लागेको थियो ।
पोष्टमार्टम प्रतिवेदनमा उनीहरुको मृत्यु ‘हाई भेलोसिटी आर्म्स’बाट प्रहार भएको गोलीका कारण भएको उल्लेख छ । ‘एसएलआर, इन्साससहित अरु हतियारबाट प्रहार भएको गोलीबाट मृत्यु हुँदा यो उल्लेख गरिन्छ,’ एक फरेन्सिक चिकित्सक भन्छन्, ‘ब्यालेस्टिक जाँच गर्ने हो भने विस्तृतमा पनि थाहा हुन्छ ।’
ब्यालेस्टिक जाँचबाट कुन हतियारबाट गोली चलेको हो, गोली कुन कोण र गतिमा लागेको थियो भन्ने थाहा हुन्छ । कुनै घटनामा सम्बन्धित हतियार प्रयोग भएको थियो कि थिएन भन्ने पनि ब्यालेस्टिक जाँचबाट थाहा हुन्छ ।
चिकित्सकहरुले हालसम्म प्राप्त गरिएको विवरण अनुसार, इन्सास जसमा ५.५ एमएमको गोली लाग्छ र एसएलआर (७.६२ एमएमको गोली लाग्ने) राइफलबाट लागेको गोलीले उनीहरुको मृत्यु भएको हुनसक्ने शंका गरेका छन् । तर, विस्तृत जाँचपछि मात्र त्यो थाहा हुने भन्दै उनीहरु औपचारिक रुपमा बताउँदैनन् ।
तर, तत्कालीन सरकार प्रमुख ओलीले चाहिँ सार्वजनिक हुने वित्तिकै प्रहरीसँगै नभएका स्वचालित हतियारले गोली हानिएको उल्लेख गरेका छन् ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदी विस्तृत फरेन्सिक जाँचविना जेनजी प्रदर्शनमा चलेको गोली प्रहरीको होइन भन्नु निकै हतारो हुने बताउँछन् ।
‘कतिपयले यस्तो शंका गरिरहेका छन्, तत्कालीन प्रधानमन्त्रीले त ठोकुवा नै गर्नु भयो, त्यो कसरी भन्नुभयो मैले बुझ्न सकेको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘जहाँसम्म इन्सास र एसएलआर छ, त्यो प्रहरीले नै प्रयोग गर्ने हतियार हो ।’
हुन त भिड नियन्त्रणमा गैरघातक हतियार प्रयोग हुनुपर्ने हो । तर, रबर बुलेटसहितका गैरघातक हतियार लामो समयदेखि खरिद नभएको भन्दै प्रहरीले गुनासो गर्दै आएको छ । पटकपटक म्याद नाघेको अश्रु ग्यास प्रयोग गर्दै आएको छ । प्रहरीले हतियार खरिद गर्ने प्रस्ताव समेत वर्षेनि राख्ने गरेको छ ।
तर, बजेट छुट्टटिएको अवस्थामा समेत विचौलिया जोडिएपछि हुने विवादका कारण अन्तिममा खरिद रोकिँदै आएको छ ।
संसद् भवनभित्रबाट चलेका थिए अधिकांश गोली
२३ र २४ भदौको प्रदर्शनमा चाहिँ अधिकांश गोली संसद् भवन सुरक्षार्थ रहेको प्रहरीको स्पेशल टाक्स फोर्स (एसटीएफ) ले चलाएको छ ।
‘एसटीएफको टोलीले महत्वपूर्ण संरचनाको सुरक्षा गर्ने हो, त्यसैले ऊसँग ती हतियार हुन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका पूर्वप्रमुख समेत रहेका सुवेदी भन्छन्, ‘त्यहीँबाट धेरै फायर भएको जस्तो लाग्छ ।’
नेपाल प्रहरीका वहालवाला अधिकृतहरु पनि प्रदर्शनमा प्रहरीबाहेकका हतियारबाट गोली चलेको हुनसक्ने सम्भावना अत्यन्तै न्यून रहेको बताउँछन् ।
‘भोलि ब्यालेस्टिक जाँच गर्ने ठाउँ छ, मृतकको घाउबाट समेत कतिपय कुरा स्पष्ट हुन्छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘यस्तोमा जाँचै नगरी भन्न मिलेन, तर एसएलआर, इन्सासबाट धेरै अनि पेस्तोलबाट समेत केही गोली चलेको हुनसक्छ ।’
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मृतकको शरीरभित्र भएका गोलीलाई सुरक्षित साथ राखेको छ । प्रक्रिया अघि बढाए त्यो वैज्ञानिक निष्कर्ष नै निस्किने स्थिति छ । त्यसबाहेक घाउको गहिराइबाट समेत कतिपय अनुमान गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
२०७८ सालमा नेपाली सेनाले प्रहरीलाई १० हजार थान इन्सास, एसएमजी, एलएमजी र त्यसका गोलीगठ्ठा दिने सम्झौता गरेको थियो । एक वर्षअघि सशस्त्र प्रहरी बललाई पुराना हतियार दिएका तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले अर्को वर्ष नेपाल प्रहरीलाई घातक हतियारहरु दिने सम्झौता गरेका थिए ।
शान्ति सुव्यवस्था कायम गर्ने, भिड नियन्त्रणमा खटिनुपर्ने जस्ता जिम्मेवारी भएकाले संसारभरि प्रहरीलाई भौतिक क्षति कम हुने गैरघातक हतियार दिने अभ्यास छ । तर, प्रहरीलाई चाहिँ सेनाको पुरानो अर्धस्वचालित हतियार दिइएको थियो ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा समेत कतिपयले सार्पसुटरको प्रसंग निकाले पनि त्यो वैज्ञानिक जाँचबाट मात्र पुष्टि हुने विषय भएको बताउँछन् । ‘घटनास्थलमा फेला परेका गोली, शवमा भेटिने गोली लगायतलाई जाँच गर्दा पनि त्यो थाहा भइहाल्ने कुरा हो,’ उनी भन्छन्, ‘यस्तोमा हल्ला फैलाउनेभन्दा पनि शंका लागे जाँच गरेर त्यसलाई टुंग्याऔं भन्नुपर्ने हो ।’
फरेन्सिक जाँचपछि वैज्ञानिक रुपमा विज्ञले बोल्नुपर्ने कुरा राजनीतिक नेतृत्वबाट आउँदा त्यसले अफवाह मात्र फैलाउने उनी बताउँछन् ।
‘१५ चैतमा राजावादी प्रदर्शनका बेला राज्यपक्षले दमन गर्दा कसैलाई केही कारबाही भएन, न आयोगहरु बने,’ शर्मा भन्छन्, ‘त्यसबेला कारबाही नभएका कारण यसपालि पनि झन् कमजोरी बढेको हो ।’
सानो विषय बुझाउन समेत माइतीघर मण्डलामा नागरिकलाई उत्रिन बाध्य पार्ने र दमन गरेर उनीहरुको आवाज बन्द गराउनुपर्छ भन्ने मानसिकताले नै यो घटना भएको उनी बताउँछन् । ‘स्थिति उत्कर्षमा पुगेपछि बल्ल सम्बोधन गर्न खोज्ने प्रवृत्ति राम्रो होइन, जुन त्यसबेलाको सरकारले पटकपटक दोहोर्याएको थियो,’ उनी भन्छन् ।
कतिपय जेनजी अभियन्ताहरु त अहिले नयाँ पुस्ताको आवाजलाई दबाउन ओलीले यो प्रसंग उप्काएको शंका गर्छन् ।
‘राज्यबाट बल प्रयोग भएको विषयमा सरकारले छानबिन र अनुसन्धान गर्छ, त्यसका लागि आयोग समेत बन्ने तयारीमा छ,’ जेनजी नेता धिरज जोशी भन्छन्, ‘पहिलेको सरकारले जस्तो जेनजीको सरकारले एकैपटक थुनेर कसैलाई कारबाही गर्दैन, छानबिन गर्छ अनि दोषी देखिए, प्रमाण भेटिए कारबाहीको दायरामा ल्याउँछ ।’
तर, बाहिर चर्चा भएका सबै विषयमा छानबिन हुने उनी बताउँछन् ।
प्रतिक्रिया 4