
२४ भदौ २०८२ । गौशाला र नयाँबानेश्वरबाट लगातार गोलीको आवाज आइरहेको थियो । घर भित्रै बस्दा पनि धुवाँको मुस्लोले आँखा र नाक पोलिरहेको थियो । जलेको गन्धले पनि गाह्रो पारिरहेको थियो ।
विगत केही महिनादेखि ढाडको समस्याका कारण घरमै आराम गरेर बसिरहेकी म जरूरी काममा मात्रै निस्कने गरेकी थिएँ । जेनजी आन्दोलनको दोस्रो दिन सबैतिर आक्रोश पोखिंदै थियो । घरमा बस्न सकिनँ । बेल्ट कम्मरमा कसें । प्रेस ज्याकेट, कार्ड र क्यामेरा लिएर निस्किएँ ।
निस्कनुअघि रूमाल भिजाएँ । प्लाष्टिकमा पोको पारें र ज्याकेटको पकेटमा राखें । किनभने आन्दोलनमा प्रहरी र आन्दोलनकारी मात्रै होइन पत्रकार पनि भिडन्तमा पर्ने गरेको आफ्नै अनुभव थियो । घरबाट बाहिर निस्केपछि द्वारिका होटल छेवैको नयाँ भवन र डोजरमा आगो सेक्दै थिए आन्दोलनकारी । कोही मिठाइ खाँदै थिए । कोही नजलेको भाग जलाउनमा मस्त थिए । त्यसमै हिमालयन बैंक पनि थियो । स्थानीयहरू भिडियो खिच्न व्यस्त थिए ।
बत्तीसपुतली हुँदै गौशाला चोक पुगें । गौशाला प्रहरी वृत्तमा आन्दोलनकारीको नियन्त्रण कायम हुँदैथियो । प्रहरी भाग्ने अवस्थामा पुगिसकेका थिए । आगो लगाइसकिएकाले खरानी बन्दै गरेका थिए सवारीसाधनहरू । मारवाडी सेवा समितिको भवनमा समेत तोडफोड र आगजनी भएको थियो । नयाँ नेपाल भन्दै कोही ढालिएको ट्राफिक पोलमा बसेर सेल्फी खिच्दै थिए । कोही राष्ट्रिय झण्डा फहराउँदै थिए । कोही भने प्रहरी पोशाक (माथिल्लो भाग) लगाएर त कोही ट्राफिक प्रहरीको टोपी लगाएर हल्ला गर्दै मोटरबाइकमा कुदिरहेका थिए ।
त्यसपछि म हिल्टन होटलतिर लागें । हिल्टनमा आगो झोसिसकेका थिए । उग्र बनेका थुप्रै आन्दोलनकारी होटलभित्र पसेर लुटपाट गरिरहेका थिए । कति होटलको माथिल्लो तलामा पुगेका थिए । कति सबैभन्दा माथि रहेको स्वीमिङ पुलमा रमाउन थालेका थिए ।
उग्र बन्दै गएका केही आन्दोलनकारी प्रहरी हेडक्वार्टर जलाउन भन्दै अघि बढे । नक्साल हेडक्वार्टरको करिब १०० मिटर वरपर हिंड्न दिइएको थिएन । पूर्ण रूपमा प्रहरीको घेरा थियो । प्रधानमन्त्री निवासमा रहेका गाडी नक्साल ल्याइएका कारण प्रधानमन्त्रीलाई प्रहरीले लुकाएको छ भन्दै हल्ला चलाइएको थियो र उग्र युवा र अधबैंसेहरू प्रहरी हेडक्वार्टर जलाउन तम्सिरहेका थिए । यदि अरू उग्र आन्दोलनकारी हिल्टनको माथि नअड्किएका भए त्यस दिन प्रहरीको मुख्यालय पनि सम्भवत: ध्वस्त हुने थियो ।
प्रहरीलाई गोली चलाउने आदेश थिएन । आदेश नभएका कारण हेडक्वार्टरमा आक्रमण भए गोली गट्ठा र सेट लिएर ज्यान जोगाउन निस्कनू भनिएको थियो । त्यस दिनको अवस्था यति उग्र थियो कि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाएको भए मृत्यु हुनेको संख्या गनेर साध्य हुने थिएन । त्यस दिन प्रहरीले गोली चलाएन । बरु आफू प्रहरी कुटिए, ज्यान जोगाउन बागमतीमा हेलिए । बर्दी फुकालेर फाले तैपनि प्रदर्शनकारीले दया देखाएनन् । केही प्रहरी मारिए ।
हिल्टनको माथि केही विदेशी नागरिक र कामदार अड्किएको भन्दै थिए । खासमा उनीहरू आन्दोलनकारी थिए । पाँचमध्ये तीन जना पछाडिको भागबाट तल झरिसकेका थिए भने दुईजना स्वीमिङ पुलमा रक्सी खाँदै स्वीमिङ गर्दा फसेका थिए । प्रहरी हेडक्वार्टरबाटै सेटमा हिल्टनमाथि अड्किएको खबर गयो । प्रहरीले हातको इशारा गर्दै हेलिकप्टर आउँदैछ । माथिबाट हाम नफाल्नु भन्दै अनुरोध गरिरह्यो । केहीबेरपछि हेलिकप्टर आयो, दुई आन्दोलनकारीलाई बचाउन । हेलिकप्टर आएपछि दुवै जना स्विमिङ पुल छेउमा उभिएर हेलिकप्टर देखिने गरी सेल्फी खिच्दै रमाउन थाले । यो देखेर हेलिकप्टर सीधै महाराजगञ्जतर्फ लाग्यो ।
महाराजगञ्ज प्रहरी वृत्तको भवनमा पनि आन्दोलनकारीले आगो लगाइसकेका थिए । तलबाट आगो दन्किंदै थियो भने माथि प्रहरीहरूलाई थुनिएको थियो । हेलिकप्टरले ती प्रहरीको उद्धार गर्यो । तर त्यहीं रहेका एक प्रहरीलाई उग्र आन्दोलनकारीले कुटीकुटी हत्या गरे । त्यसपछि हेलिकप्टरले हिल्टन होटलमा अड्किएकाहरूलाई होटलको पछाडि भागबाट रेस्क्यू गर्यो ।
सुरक्षा स्रोतका अनुसार त्यसदिन ती दुई जना हिल्टनमा नअड्किएको भए र प्रहरीका दुई जना अफिसरले हेडक्वार्टर छिरेमा गोली चलाउनू, त्यसको जिम्मेवारी म लिन्छु भनेर प्रहरीलाई आँट नदिएको भए हेडक्वार्टर खरानीमाथि उभिएको हुनेथियो । यतिबेलासम्म उपत्यकामा प्रहरीका १५३ कार्यालयमा आगजनी भइसकेको थियो भने ट्राफिक प्रहरीका १० वटा युनिट ध्वस्त हुँदै थिए ।
प्रहरी हेडक्वार्टरको अवस्था बुझ्न आन्दोलनकारीले ड्रोनबाट रेकी गरेका थिए । केही प्रदर्शनकारी ड्रोन उडाएर हेडक्वार्टर भित्रको अवस्था हेरिरहेका थिए । एक जना प्रहरीले देखेपछि एसपीलाई खबर गरे । त्यसपछि ड्रोनमाथि नै गोली चलाइएको थियो । यसरी बल्लबल्ल हेडक्वार्टर, गण सुरक्षित गरिएको थियो ।
यतिबेलासम्म राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगिसकेको थियो । त्यहाँ सेल्फी खिच्नेहरूको भीड थियो । गणतन्त्रको प्रतीक राष्ट्रपति कार्यालय आगोमा झोसिएको थियो । तर, कसैको मन रोएको थिएन । खरानीमाथि रमाउनेहरू तस्वीर खिच्न मस्त थिए । केटाकेटी समेत भोगटेले भवनमा हिर्काउँदै थिए । उग्र प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई हेर्दा उनीहरू कुनै न कुनै राजनीतिक पार्टीसँग आवद्ध थिए जस्तो देखिन्थ्यो । उनीहरू ठाउँठाउँ पुगिरहेका थिए । हिंसात्मक गतिविधि गरिरहेका थिए । मोटरबाइक चढेर नयाँ नेपाल भन्दै कुदिरहेका थिए । खरानीले नयाँ नेपाल कोर्दै थिए ।
मुस्लोले सबैको मुहार कालो बनाएको कसैलाई पत्तो थिएन । कोही प्रहरीसँग लुटेका बन्दुक बोकेर कुदेका थिए । कोही खुँडा बोकेका थिए । कसैका हातमा बेल्चा थियो त कसैका हातमा रड र बञ्चरो । राष्ट्रपति भवनबाट सुटकेसदेखि कुर्ची, सोफा सबै बोकेर हिंडिरहेका थिए । राष्ट्रपति कार्यालयका महत्वपूर्ण कागजात बाटोभरि छरपस्ट थिए ।
त्यसपछि नक्साल पुगें । त्यहाँ भाटभटेनी आगोको लप्काभित्र थियो । आगोले तापले उछिट्टिएर सामान बाहिर आइरहेका थिए । तापकै कारण सिसा फुटेर उछिट्टिरहेका थिए । त्यसकै अगाडि एउटा समूहले सरकारी बसमा आगो लगायो । अर्को समूहले यस्तो गर्नुहुँदैन भनेर पानी फ्याकेर निभायो । तर उग्रहरूले पछाडि पेट्रोल हालेर फेरि दनदनी पारे । छेउमा एका युवा पछुतो मानिरहेका थिए । सरकारी बसमा आगो लगाएर बाटो अवरूद्ध पारेपछि त्यो समूह लुटपाटमा उत्रियो । लुटेरा युवाले फलामको रडले बैंकको एटीएम फोडे । बसमा पड्किएको आवाज आएपछि अब सकियो भनेर भाग्न थाले । म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयतिर जाँदा कुर्ता, सारी भएका पसलेहरू आफ्नो सामानको सुरक्षाको लागि जागा बसिरहेका थिए ।
आन्दोलनकारीहरू अख्तियारमा पनि पसेका थिए । कोही त्यहाँबाट सामान बोकिरहेका थिए । प्रहरीले हनुमान मन्दिरभन्दा अगाडिबाट बाटो मोडेको थियो । प्रहरी नभएका कारण सबैले आ–आफ्नो सुरक्षा आफैं गरिरहेका थिए । कानून नहुँदा, प्रहरी नहुँदा कस्तो हुन्छ भन्ने प्रत्यक्ष अनुभव आम नागरिकलाई भइरहेको थियो । कैयौंका आँखा भरिएका थिए । क्यामेराका लेन्सले ती स्पष्ट देखिरहेको थियो भने मनको थकथकी सहजै बुझिन्थ्यो ।
म दरबारमार्ग पुगें । दरबारमार्ग प्रहरी बिट खरानी भइसकेको थियो । खरानीमाथि कोही बचेको सामान खोजिरहेका थिए । त्यत्तिकैमा बन्दुक बोकेका युवाहरूको हुल आइपुग्यो । मैले प्रेसको ज्याकेट लगाएको देखेपछि उनीहरू झन् उफ्रिन थाले । नारायणहिटी राजदरबार संग्रहालयभित्रको पहिलो घेरासम्म आन्दोलनकारी छिरेका थिए । नारायणहिटीको मुख्य गेटबाट माथि चढ्न पनि खोजेका थिए । तर, सकिरहेका थिएनन् ।
मोटरबाइकमा सवार आन्दोलनकारीहरू बन्दुक प्रदर्शन गर्दै नाचिरहेका थिए । त्यो हुलमा रहेका प्राय: सबै आन्दोलनकारी रक्सीले मातेका थिए । म अलि टाढा गएँ तर एक जना बाइक लिएर मेरो नजिक आए । रक्सीले मात्तिएका उनी आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । बाइक कसरी चलाउँदै थिए, अचम्म लाग्यो । नजिकै आएर उनले बेस्सरी नन–भेज गाली गरे । उनले मलाई चिनेका थिएनन् । त्यसैले उनको गाली मतिर केन्द्रित थिए । नन–भेज बोलेर उनले आक्रोश पोखेका थिए । उनी आक्रोशमै थिए । यत्तिकैमा उनी चढेको बाइकबाट धुवाँ निस्कन थाल्यो । आगो लाग्ने सम्भावना देखेर म त्यहाँबाट निस्कें ।
लैनचौर पुगें । प्रहरीबाट खोसिएका गाडी चलाएर आन्दोलनकारी फिल्मी शैलीमा गीत गाउँदै नेपाली झण्डा फहराउँदै थिए । यस्तो त २०६२/६३ को जनआन्दोलनमा पनि भएको थिएन । राष्ट्रका संरचनाहरूलाई खरानी बनाएर यिनीहरू कसरी नाच्दै होलान्? खरानीमाथि नाचेकोमा पछुतो छ कि छैन भनेर केही जेन–जी सोध्दैथिए । हामीले जलाउने, भत्काउने कल्पना पनि गरेका थिएनौं । कसैले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरेको हो । तर, उनीहरूका आवाज दबिएका थिए । ठूलो स्वरले चिच्याएर ती हिंस्रक प्रदर्शनकारीलाई सोध्न पनि सक्दैनथे । तिनले सुने तिनै जेन–जीलाई जिउँदै जगाउन पनि सक्थे ।
रानीपोखरी मेट्रोमा पुगें । जलिसकेको थियो । एक, दुईजना कुर्सी लिएर मस्जिदतिर रहेको मेट्रोको गेटमै बसिरहेका थिए । भित्र सबै जलिसकेको थियो । उपत्यकाको सीसीटीभी कन्ट्रोल रुमका एलसीडी बाइकमा बोकेर केही मानिस जाँदैथिए । कोही प्रहरीका बर्दी जलाउँदै थिए भने कोही लगाउँदै थिए । मेट्रोको चारैतिर घुम्दा महिलाहरूको समूह सामान चोर्दै गरेको देखियो । उनीहरू रेस्टुरेन्टको सामान झिक्दै थिए । यहाँ अरुबेला विदेश जानको लागि चारित्रिक प्रमाणपत्र बनाउन युवाहरूको लाम लाग्थ्यो । आज त्यो घरमा आगो लगाइएको थियो ।
सिंहदरबार पुगें । ट्राफिक प्रहरी बग्गीखाना हेरें । खिच्न मन लागिरहेको थिएन तर अहँ भावुक हुनुहुँदैन भन्दै मनलाई सम्झाएँ । आँखाभरी आँशु आयो । चिच्याउँदै भन्न मन थियो, ‘ए हिंस्रकहरू हो, तिमीहरूले जे गर्यौं ठिक गरेनौं ।’ त्यहाँ मेरो चिच्याहट सुन्न कोही तयार थिएन । त्यसैले दर्दनाक दृश्य कैद गरिरहें । भित्र आगो लगाइएको थियो । बाहिर मुख्य गेट लगाएर प्रवेश निषेध थियो । त्यहाँ ट्राफिक प्रहरीसँग आक्रोश पोखिरहेका युवाहरूको जमात थियो । कोही पृथ्वीनारायण शाहको सालिकमा तस्वीर खिचाउँदै थिए । कतिपय उग्र युवा हुइँकिंदै बाइक जीउमै ल्याएर क्यामेरा अघि आफ्नो कला देखाउँदै थिए ।
सिंहदरबारनजिकै रहेको सर्वोच्च अदालतमा आगो दन्किरहेको थियो । कोही सामान चोर्दै थिए । केही सामान सडकमा ल्याएर जलाइएको थियो । स्वास्थ्य मन्त्रालय दनदनी आगोमा थियो । भित्रबाट लगातार ठूल्ठूलो विस्फोटको आवाज आइरहेको थियो । त्यसको सामुन्ने रहेको राष्ट्रिय अभिलेखालय अगाडि १०, १२ जनाको समूह अभिलेखालय बचाउन बिहानदेखि धर्ना दिएर बसेका थिए । उनीहरूले अनेकन् अनुनय गरेर बचाइरहेका थिए ।
स्वास्थ्य मन्त्रालयको आगोले पछाडिको भवनमा पनि आगलागीको जोखिम थयो । केहीले काठमाडौं महानगरपालिका र सेनालाई खबर गरिरहेका थिए । ‘तर, कतैबाट रेस्पोन्स भएन । लौ न भनिदिनुपर्यो’, कोही कोही रुँदै प्लेकार्ड समातेर बसेका थिए । तर उनीहरूको पुकार कसले सुन्ने ? कसले आगो निभाउने ! सिंगै काठमाडौं आगोको ज्वालाभित्र थियो ।
चारैतिर आगोका लप्काबीच पनि राष्ट्रिय अभिलेखालय जोगिएको थियो । कारण एउटा थियो, मुटु दह्रो भएका र राष्ट्रिय अभिलेखालयको महत्व बुझेका केही मानिस ज्यानै जोखिममा राखेर उभिएका थिए । राष्ट्रिय अभिलेखालयमा पनि आगजनीको पटक–पटक प्रयास भएको थियो । तर, उनीहरू कहिले अनुनय गरेर त कहिले सतिसाल झैं उभिएर राष्ट्रको ठूलो सम्पत्ति आततायीहरूबाट बचाइछाडे ।
मनमनै सोचें, समयमै जेनजीका आवाज सरकारले सुनिदिएको भए, आन्दोलनमा ताकी–ताकी गोली हानेर निहत्था किशोर युवाको हत्या नगरेको भए, प्रदर्शनमाथि घुसपैठ हुन थालेपछि नेपाली सेनाले समयमै नियन्त्रण लिएको भए, ज्यान जोखिममै राखेर भए पनि राष्ट्रिय अभिलेखालय जोगाउन तयार युवाहरू जस्तै साहस सिंहदरबार वा संसद् भवनमा पनि केहीले देखाएका भए शायद मेरो देश यसरी जलिरहेको हुने थिएन ।
(मल्टिमिडिया पत्रकार विष्ट डकुमेन्ट्री फिल्म मेकर पनि हुन् ।)
प्रतिक्रिया 4