Comments Add Comment

महिला फुटबल टीमको उपाधि भोक

२७ साउन, काठमाडौं । उपाधिको भोक कस्तो हुन्छ ? शायद नेपाली महिला फुटबल टीमलाई राम्रोसँग थाहा छ । मुखैमा आइसकेको शिकार ओकल्नुको पीडा पनि ।

गत चैतमा विराटनगरमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा चुकेको थियो । डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा अहिलेसम्मको पीडा भुलाउने र उपाधि उचाल्ने लक्ष्यका साथ नेपाली महिला टोली अहिले अभ्यासमा जुटेको छ ।

४० जना खेलाडीलाई राखेर आइतबारदेखि सुरु गरिएको बन्द प्रशिक्षणको एउटै लक्ष्य छ, गोल्ड मेडल ।

नेपाली महिला फुटबल टोलीकी कप्तान निरु थापा भन्छिन्, ‘मेरो लक्ष्य भनेको नेपाललाई सागमा गोल्ड मेडल जिताएर सन्यास लिने हो । त्यसका लागि मेहनत पनि गरेका छौं । पहिलेभन्दा दोब्बर परिश्रम गर्‍यौं भने पक्कै गोल्ड मेडल जित्छौं ।’

थापा मात्र होइन, प्रशिक्षक र नेपाली टोलीका हरेक खेलाडीहरुमा उपाधिको भोक छ ।

त्यसका लागि मेहनत पनि गरिरहेका छन् ।

बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीमध्ये रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सम्झना लावती, मनिषा थापा, प्रिति राई, सविता राना मगर र मनिषा रावत गरी आठ जना पहिलो पटक राष्ट्रिय टीमको  बन्द प्रशिक्षणमा परेका हुन् ।

‘मैले टीम बनाउँदा उनीहरुको प्रदर्शनको आधार मान्ने हो’, प्रशिक्षक हरि खड्का भन्छन् ।

खेलाडीका रुपमा नेपाललाई सागमा स्वर्ण पदक दिलाइएका खड्कासामू प्रशिक्षकको भूमिकामा पनि गोल्ड मेडल जिताउने अवसर छ । यसलाई सदुपयोग गरेरै छाड्नेमा दृढ देखिएका खड्का भन्छन्, ‘जुनसुकै प्रशिक्षकको पनि जिम्मेवारी लिइसकेपछि गोल्ड मेडल जित्ने नै हुन्छ । त्यो लक्ष्य मेरो पनि छ ।’

त्यसमा खेलाडीहरुको पनि साथ छ । नेपाली टोलीका कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारी भन्छिन्, ‘हामी कमजोर छैनौं । हामीमा उपाधि जित्ने आत्मविश्वास छ ।’

डिफेन्समा जोड

नेपाली महिला टोलीको डिफेन्स लाइन कमजोर मानिएको छ । विराटगरमा भएको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल भारतसँग ३–१ ले हार्दा डिफेन्स चुकेको थियो ।

आफू डिफेन्समा देखिएको कमजोरी सुधार गर्न केन्द्रित भएको प्रशिक्षक खड्काले बताए । उनले भने, ‘डिफेन्सिभमा जुन हिसाबले हामीले काम गर्नुपर्ने हो । त्यो साफ च्याम्पियनसिपको फाइनलमा देखिएन । त्यसमा अझ मेहनत गर्छौं ।’

मिडफिल्ड र फरवार्ड लाइनमा पनि सुधार आवश्यक छ । प्रशिक्षक खड्का भन्छन्, ‘टीमलाई सन्तुलनमा राख्नका लागि सबैको उत्तिकै महत्व हुन्छ । डिफेन्सले एउटा गोल छोडिदियो भने सिंगो टीमले हार्ने हो । फरवार्डले एउटा गोल हानिदिएन भने पनि त्यो समग्र टीमलाई दबाव हुन्छ ।’

एक्पोजर र मैदान दुवै अभाव

अन्य खेलले भन्दा महिला फुटबल टीमले केही ढिलो गरी सागको तयारीमा जुटेको छ ।

यसको कारण हो मैदान । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अहिले पुरुष फुटबल टीमको तयारी भइरहेको छ । त्यही मैदानमा यू–२३ पुरुष फुटबल टीमको अभ्यास हुनेछ । यू–१८ टीम जवलाखेलस्थित नेपाल आर्मीको मैदानमा अभ्यास गर्दा यू–१५ टीमले सेनाकै छाउनीमा अभ्यास गरिरहेको छ ।

महिला टीमलाई भने अभ्यास गर्ने मैदानकै अभाव रह्यो । आइतबार मात्र नक्सालस्थित पुलिस मुख्य कार्यालयको मैदानमा अभ्यास गर्ने व्यवस्था मिलाइएको छ ।

तर यहाँ पनि समस्या छ । पुलिसको नियमित तालिम चलिरहेकाले महिला फुटबल टीमले बेलुकी करिब साढे ५ बजेटबाट मात्र अभ्यास सुरु गर्न पाउँछ । कप्तान निरु थापा भन्छिन्, ‘मैदान अभावका कारण हामीले पूरै समय अभ्यास गर्न पाइरहेका छैनौं । अझै अभ्यास गर्न पाइयोस भन्ने नै हो ।’

पुलिस हेडक्वार्टरमा पनि राम्रो अभ्यास गर्न नपाए उपत्यका बाहिर जाने मुख्य प्रशिक्षक खड्काले बताए ।

प्रशिक्षणसँगै अर्को समस्या हो, एक्पोजर । साग अगाडि नेपाली टोली राम्रा टीमहरुसँग खेलेर आफूलाई परीक्षण गर्न चाहन्छ । कतिपय नयाँ खेलाडी दबावमा आत्तिने गरेका छन् भने अनुभवी खेलाडी पनि पिनिसिङमा चुकिरहेको छन् ।

यसलाई हटाउन म्याच एक्सपोजर चाहिने नेपाली टोलीका स्ट्राइकर सावित्रा बताउँछिन् । ‘भारतीय खेलाडी स्तरीय छन्, राम्रो म्याच एक्सपोजर पाइरहेका छन् । त्यसैले नतिजा आइरहेको छ’ उनले भनिन्, ‘ हामीलाई म्याच एक्सपोजर चाहियो ।’

कप्तान निरु पनि सावित्राको भनाइप्रति सहमत छिन् । अभ्यास गरेरै मात्र नपुग्ने भन्दै उनले भनिन्, ‘हामीले आफ्नो स्तर नाप्ने भनेकै मैत्रीपूर्ण खेलले हो । मैत्रीपूर्ण खेलको लागि हामीलाई कतै बाहिर लगिदिएको भए राम्रो हुने थियो ।’

प्रशिक्षक हरि खड्का भने मैत्रीपूर्ण खेलको लागि पहल भइरहेको बताउँछन् । ‘दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भन्ने छ तर कुन देशसँग भन्ने तय भइसकेको छैन’, प्रशिक्षक खड्काले थपे, ‘भारतकै स्तरको टीमसँग मैत्रीपूर्ण खेल खेल्ने छौं । म्यानमार, थाइल्यान्ड वा अरु कुनै राम्रो टीमसँग मैत्रीपूर्ण खेल हुनेछ ।’

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment