+
+
Shares

धादिङ बस दुर्घटनामा बेपत्ता ५ दिनसम्म पनि भेटिएनन्, खोजीका लागि ४ जिल्लासँग आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १०:३०

२८ साउन, धादिङ । पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परी बेपत्ता यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ । बस दुर्घटनाको ५ दिनसम्म पनि बेपत्ता यात्रु नभेटिएपछि प्रशासनले अन्य ४ जिल्लासँग सहयोग मागेको हो ।

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नंको बस शुक्रबार दुर्घटना भएकाे थियाे । दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने अन्य १९ यात्रु हराइरहेको अनुमान गरिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बेपत्ताको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसँग अनुरोध गरिएको बताए ।

बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीका लागि पुगेको उनको भनाइ छ ।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

खोजीकार्य गर्न हिँडेर मात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन जिल्ला प्रशासन कार्यालय, धादिङले आग्रह गरेको छ ।
राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?