
३० साउन, धरान । भूमिगत विप्लव समूह परित्याग गरेर सत्तारुढ नेकपामा फर्किएका पूर्वसभासद किरण राईलाई धरान उपमहानगरपालिकाको मेयर बनाउने चर्चा नेकपाभित्र सुरु भएको छ ।
पहिलो संविधानसभामा धरानबाट निर्वाचित राई पूर्वमाओवादी जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर हुन् । पछिल्लो समय स्वास्थ्य समस्याका कारण उनी विप्लव समूहको केन्द्रीय सदस्य एवं पूर्वीब्यूरो इञ्चार्ज छाडेर घरैमा बसिरहेका थिए ।
करिब डेढ वर्षअघि बेलबारीमा मोटरसाइकल दुर्घटनामा परेर उनले एकहप्ता आईसीयुमा बस्नुपरेको थियो । स्वास्थ्य समस्याका कारण पछिल्लो समय उनी नेकपा विप्लव समूहबाट सहमतिमै अलग भएर धरानमा बस्दै आएका थिए ।
यसैवीच साउनको पहिलो साता काठमाडौंमा प्रचण्डको हातबाट टीका लगाएर उनी सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
राईको नेकपा प्रवेशसँगै आगामी मंसिर ४ गते हुने उपनिर्वाचनमा धरानको नगर प्रमुखमा उनैलाई उठाउने चर्चा शुरु भएको नेकपाका स्थानीय एक नेताले बताए ।
धरानका मेयर तारा सुब्बाको गतसाल फोक्सोमा निमोनियाका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएपछि नगरप्रमुख पद अहिलेसम्म खाली छ ।
देशैभरि खाली रहेका स्थानीय तहमा आगामी मंसिरमा उपनिर्वाचन गर्ने तयारी सरकारले गरिरहेको छ ।
धरानको मेयर पद यसअघि तत्कालीन एमालेले जितेको थियो । अब चुनाव भएमा नेकपा र कांग्रेसवीचमा प्रतिस्पर्धा हुने देखिन्छ । धरानमा तेस्रो शक्तिका रुपमा उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टी रहेको छ ।
प्रतिक्रिया 4