Comments Add Comment

छापामा आज : कीर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

१ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले न्याय सम्पादनका कमजोरीबारे केलाएका छन् भने केहीको नजर नेकपाभित्र बदलिएको समीकरण, चुरेदोहन, उपकुलपति छनोटलगायत विषयमा परेको छ ।

कान्तिपुरले ‘कीर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको कीर्ते तमसुकलाई तीन न्यायाधीशले सद्दे भनी फैसला सुनाएका छन् ।

पटक पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोडको तमसुक खडा गरेका थिए । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएका थिए ।

त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले सद्दे ठहर्‍याएका हुन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले पनि १८ करोडको भ्रष्टाचारलाई न्यायालयले वैधता दिएको निष्कर्षका साथ कभर स्टोरी बनाएको छ । तथ्य तोडमोड गरेर सशस्त्रका चार पूर्वआईजीपीलाई विशेष अदालतले वैधता दिएको समाचारको सार छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अनियमितताबारे पनि आज कान्तिपुरले समाचार बनाएको छ । समाचार अनुसार पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी अनियमित खर्च भएको पाइएको छ । कतिसम्म भने डेढ लाखको थर्मस र ५५ हजारको तौलिया यो अवधिमा खरिद गरिएको छ ।

चुरे दोहनबारे मुख्य समाचार बनाएको अन्नपूर्णले नेकपामा वामदेव गौतम थप शक्तिशाली बनेको लेखेको छ ।

‘गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका छन्’, अन्नपूर्णले आफ्नो समाचारको लिड लाइनमा लेखेको छ ।

कर्मचारी र जनप्रतिनिधिको लर्को विदेश निस्किएको, सिगात्से–केरुङ रेलमार्गको निर्माण सुरु भएकोलगायत खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक छापेको छ ।

सरकारी मुखपत्र गोरखापत्रले उपकुलपति छान्न परेको सकसबारे समाचार बनाएको छ भने स्कुल बस निर्देशिका कार्यान्वयनबारे राजधानीले चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment