Comments Add Comment

भ्रमण वर्ष २०२० सफल बनाउन गोरखामा म्याराथन हुने

१ भदौ, गोरखा । गोरखामा ‘लिगलिगकोट सिरानचोक गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको छ । नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुन लागेको हो ।

नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगिताबाट नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० कार्यक्रमलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । ‘२० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘प्रतियोगिताले सरकारको त्यो कार्यक्रमलाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौं ।’

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलको प्रचारप्रसार गर्ने उदेश्यसमेत रहेको उनले बताए ।

पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु हुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुङ्गनिे छ ।

३८ किलोमिटर दुरीको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजारको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पाउने आयोजक मूल समितिले जनाएको छ । प्रतियोगितामा दशौं स्थानसम्मका प्रतियोगीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

‘तीन पालिकाभित्र रहेको ऐतिहासिक महत्वका क्षेत्र समेटेर दौडको रुट तय गरेका हौ, यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पक्का छ,’ पालुङटार नगरपालिकाका मेयर दीपक कँडेलले भने ।

दौड जितेर राजा बनेका ऽव्य शाहले राजकाज प्रारम्भ गरेको स्थान लिगलिगकोटबाट दौड शुरु हुने उनले बताए ।

प्रतियोगिताले सिरानचोक गाउँपालिकामा रहेको सिरानचोककोट, छोप्राकलगायतका ऐतिहासिक स्थल प्रवर्द्धनमा सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।

प्रतियोगिता गर्न करिब दश लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि तीन पालिकाले ३/३ लाख र नेपाली सेनाको रणसिंह दल गणले एक लाख रकम बिनियोजन गर्ने भएको छ ।

प्रतियोगिताले सैनिक र नागरिक बीचको सम्बन्ध सुधार सँगै नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सहयोग पुग्ने रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।

प्रत्यक वर्ष प्रतियोगितालाई निरन्तरता दिदै उक्त रुटलाई पदमार्गको रुपमा विकास गर्ने योजना रहेको आयोजक मूल समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment