Comments Add Comment

फ्रिजका प्रकार र गुणस्तरः खरिद गर्नुअघि जान्नैपर्ने कुरा

भान्साको लागि अपरिहार्य बन्दै छ, रेफ्रिजेरेटर अर्थात फ्रिज । आधुनिक भान्सामा फ्रिजको उपस्थिति अनिवार्य नै मान्न थालिएको छ । गर्मी होस् अथवा जाडो, अचेल फ्रिजको प्रयोग बाह्रै महिना गर्न थालिएको छ ।

फ्रिजको आकार, डिजाइन तथा ब्रान्डअनुसार मूल्यसमेत फरक-फरक पर्छ । सानो परिवारलाई सानै आकारको फ्रिज तथा ठूलो परिवारका लागि ठूलै आकारको फ्रिज किन्ने चलन पुरानै हो । यसका साथै फ्रिज किन्दा कुन कम्पनिद्वारा निर्मित अथवा कुन ब्राण्डको हो भन्ने कुरालाई पनि ध्यान दिनु आवश्यक छ ।

यदि तपाईं नयाँ फ्रिज किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त्यस्को आकार प्रकारको बारेमा जानकारी लिनु होला । त्यसपछि फ्रिजलाई घरमा ल्याएपछि त्यसको सरसफाइ तथा हेरचाहका कुरा त छँदैछन् । सबैभन्दा पहिला फ्रिजको प्रकारबाटै कुरा थालौं ।

टप माउन्ट रेफ्रिजेरेटर

टप माउन्ट रेफ्रिजेरेटरलाई अहिले सबैभन्दा लोकपि्रय फ्रिजको रुपमा लिइन्छ । यो फ्रिजको विशेषता भनेको अत्यधिक स्पेस हुनु हो । अन्य फ्रिजको तुलनामा यो निकै चौडा हुनुका साथै भित्र पनि सामान राख्नका लागि धेरै ठाउँ हुन्छ ।

त्यसैले यस्तो फ्रिजमा हामीले धेरैभन्दा धेरै खाद्य पदार्थहरु सहजै मिलाएर राख्न सक्छौं । आकारमा ठूलो हुनुका साथै यस्ता फ्रिजहरु अन्य फ्रिजको तुलनामा सस्तासमेत हुन्छन् । त्यसकारणले पनि यस्ता फ्रिजले उपभोक्ताहरुलाई आकर्षित गरिरहेको पाइन्छ ।

बटम माउन्ट रेफ्रिजेरेटर

टप माउन्ट फ्रिजभन्दा ठीक उल्टो हुन्छ बटम माउन्ट रेफ्रिजेरेटर । यसमा माथितर्फ फ्रिज हुन्छ भने तलतर्फ फ्रिजर हुन्छ । दुवै प्रकारका फ्रिजको कुलिङ पावर भने उस्तै हुन्छ ।

तर यो फ्रिजमा टप माउन्ट फ्रिजमा जस्तो धेरै खाद्य सामाग्री राख्न सकिन्न, किनभने यसको भित्रको क्षेत्रफल केही सानो हुन्छ । त्यसैले पनि बजारमा बटल माउन्ट रेफ्रिजेरेटरका कम भेराइटी उपलब्ध छन् ।

साइड बाइ साइड रेफ्रिजेरेटर

साइड बाइ साइड रेफ्रिजेरेटरमा फ्रिज र फ्रिजर सेक्सन दुवै एक-अर्काभन्दा अलग हुन्छन् । फ्रिजरको तुलनामा फ्रिजको क्षेत्रफल बढी चौडा हुन्छ । अन्य फ्रिजको तुलनामा साइड बाइ साइड रेफ्रिजेरेटर बढी महंगो हुन्छ । स्टाइलिस तथा आकर्षक हुने भएकाले उपभोक्ता मूल्यभन्दा पनि यसको डिजाइनतर्फ आकर्षित हुन्छन् ।

फ्रेन्च डोर रेफ्रिजेरेटर

फ्रन्ट डोर रेफ्रिजेरेटरलाई ड्युअल डोर रेफ्रिजेरेटर पनि भन्न सकिन्छ । यो फ्रिजलाई साइड बाइ साइड तथा बटम माउन्ट रेफ्रिजेरेटरको मिश्रति रुप पनि मान्न सकिन्छ । बटम माउन्टमा जस्तै यसको फ्रिजर पनि तल्लो भागतर्फ हुन्छ । यो फ्रिजमा दुई वटा ढोका हुन्छन् । दुई वटा ढोका भएकाले नै यसलाई ड्यूअल डोर रेफ्रिजेरेटर भनिएको हो ।

फ्रिज किन्नुभन्दा अघि ध्यान दिनु पर्ने कुराहरु

-फ्रिज किन्नुभन्दा अघि त्यसलाई घरमा ल्याएर कहाँ राख्ने भन्नेबारे निर्णय पहिला नै गरिसक्नु पर्छ । त्यसैअनुसार फ्रिजको आकार तय गर्नु राम्रो मानिन्छ ।

-फ्रिज र फ्रिजरमध्ये के बढी प्रयोजनमा ल्याइने हो त्यसबारे निर्क्यौल गरी सोहीअनुसार फ्रिजको चयन गर्नुपर्छ ।

-परिवारको सदस्य संख्या जत्रो छ, त्यही अनुसारको फ्रिज किन्नु उपयुक्त हुन्छ ।

-थोरै बिजुलीबाट सञ्चालन हुने अर्थात कम बिजुली खपत हुने फ्रिजलाई प्राथमिकता दिनुपर्छ ।

फ्रिजको सरसफाइमा पनि ध्यान दिनुपर्छ

-फ्रिज किनेर घरमा ल्याएर मात्र हुँदैन, त्यसलाई नियमित सरसफाइ पनि गर्नुपर्छ ।

-फ्रिजलाई प्रत्येक दुई सातामा एकपटक राम्ररी सफा गर्नुपर्छ । फ्रिज सफा गर्नका लागि मनतातो पानीमा दुई चम्चा बेकिङ पाउडर मिसाएर स्पन्जको सहायतले गर्दा राम्ररी सफा हुन्छ ।

-फ्रिजको माथिल्लो भागदेखि तल्लो भागसम्मका सेल्फ तथा भुइँलाई साबुन-पानीले सफा गर्नुपर्छ । फ्रिजभित्र राखिने बोटलजन्य वस्तुहरुलाई पनि सफा गरेरमात्र राख्नु पर्छ ।

-फ्रिज सफा गरेपछि करिब आधा घण्टासम्म त्यसलाई खुल्लै छाड्नु पर्छ । त्यसपछि कपासमा भेनिला एसेन्स हाल्नुपर्छ र यसलाई फ्रिजमा राखेर आधा घण्टाका लागि बन्द गर्नुपर्छ । यसो गर्दा फ्रिजबाट आउने अनौठो खालको गन्धबाट छुटकारा प्राप्त हुन्छ ।

-फ्रिजको पछाडिको भागलाई हरेक महिनामा सफा गर्नु पर्छ । उक्त भाग सफा गर्नका लागि भ्याकुम क्लिनरको सहयोग लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment