Comments Add Comment

अस्ट्रेलिया जन्मेका पहिलो नेपालीले मनाए ४५औं जन्मोत्सव

भन्छन - लालीगुराँस मन पर्छ, बाँसुरी र सारंगीको धुन मधुर लाग्छ

सिड्नी । १९ अगस्ट १९७४ सोमबार । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्नको सेन्ट भिन्सेन अस्पतालमा एक नेपाली दम्पतिलाई पहिलो पुत्र लाभ भयो ।

नाबालकलाई भेट्न आउने उनका पिता बाहेक अर्को अरु कोही नेपाली थिएनन् । अस्पतालमा १० दिन बस्नु पर्‍यो । पिताले गणेशको मूर्ति सामुन्य पुत्रको नाम जुराए – संगम । किन कि  त्यहाँ कोही ज्योतिषी थिएनन् ।

संगम अर्थात अस्ट्रेलियामा जन्मेको पहिलो नेपाली । यहाँ हुर्कदै गरेको नेपाली समाजको जेनेरेशनको कुरा गर्ने हो भने उनी दोश्रो पुस्ताका नेपाली हुन् । तर, यहाँकै माटोमा जन्मेको पहिलो पुस्ताको नेपाली मूलको अस्ट्रेलियन हुन् ।

अष्ट्रेलियन माटोमा पहिलो नेपाली सन्तान जन्माउने सम्पत्ति हुन् डा. नारायण प्रधान र लिला ।

अस्ट्रेलियामा जन्मेका पहिलो नेपाली संगमले एक पारिवारिक जमघटकाबीच आफ्नो ४५औं जन्मोत्सव मनाएका छन् । उनको जन्म दिनको पूर्वसन्ध्यामा आइतबार राति आयोजना गरिएको जमघटमा अस्ट्रेलियामा हुर्कदै गरेका तीन पुस्ताको उपस्थिति थियो । उनका मातापिता, भाइ बुहारी र भतिजा भतिजी ।

हिसाब गर्ने हो भने अस्ट्रेलियामा नेपाली पाइला टेकिएको आधा शताब्दी भइसकेको छ । यहाँको माटोमा नेपाली साँस्कृतिक समुदायको नाभी गाडिएको ४५ वर्ष भएको छ । अस्ट्रेलियालाई आफ्नो मातृभूमि भन्न पाउने नेपालीहरुको आधिकारिक इतिहास १९ अगस्ट १९७४ बाट सुरु हुन्छ ।

पहिलो जन्मदिन

संगमको पहिलो जन्मदिन मनाउँदा नेपाली मुलकी एक भारतीय महिला र उनका भारतीय मुलका श्रीमान सहभागी भएका थिए । उनीहरु प्रथम सगरमाथा आरोही हिलारीको सहयोगमा उनका मातापिताको सम्पर्कमा आएका थिए । उनीहरु थिए – रूथ भेल र उनका श्रीमान ज्यो भेल ।

सन् १९७४ को डिसेम्बरमा मेलबर्न एज पत्रिकामा हिलारीले सोलुखुम्बुमा विद्यालय बनाउन नेपाल सम्बन्धी प्रदर्शनी आयोजना गरेको सूचना थियो । संगमका मातापिताले प्रदर्शन सकिनुभन्दा दुई घन्टाअघि थाहा पाए । प्रदर्शनीमा गए । उनीहरुले प्रदर्शनीको काउन्टरमा कोही नेपाली आएको थियो कि भनेर सोधीखोजी गरे ।

त्यस्तै सोधिखोजी गर्ने अर्को एकक दम्पतिले सम्पर्क नम्बर छोडेका रहेछन् । त्यहीँ साँझ सङ्गमका मातापिताले त्यो जोडिलाई टेलिफोन गरे । नेपाली भाषी अर्को परिवार फेला पारे – रुथ दम्पत्ति । सङ्गमको पहिलो जन्म दिनमा यी दुबै दम्पत्ति जुटे ।

यो दम्पत्ति सिड्नी सर्‍यो । बिदा मनाउन सिड्नी आएका सङ्गमका आमाबालाई १९७६ मा सिड्नीले आकर्षित गर्‍यो । एसियन स्वादका मसला पाइने सिड्नीको एक दोकानबाट उनीहरुले मसला किनेर मेल्बर्न लगे । तर, सिड्नीले मन तानिसकेको थियो । नेपालीको छिट्फुट चहलपहल पनि सिड्नीमा सुरु भएको थियो । १९७७ मा यो दम्पतीलाई दोश्रो पुत्र लाभ भयो । उनीहरु १९७८ मा सिड्नी सरे।

पहिलो नेपाल यात्रा

अब सङ्गमको कुरा । उनलाई ताजा स्मरण छ, १९८२ को पहिलो नेपाल यात्रा । नेपालीको बाक्लो उपस्थिति नै नभएको बेला अस्ट्रेलियामा हिन्दु बिधिबिधानअनुसार ब्रतबन्ध गर्ने गराउने कोही पनि थिएन ।

साथै सङ्गमकी हजुरआमा पूर्वी नेपालको सुन्दर पहाडी बस्तीसँगै जोडिएको एक भारतीय बस्तीमा थिइन् । नेपाली परम्परागत संस्कृतिअनुसार उनको त्यहाँ ब्रतबन्ध भयो ।

संगमका दाजुभाइको संयुक्त बर्तबन्ध गरियो । संगम ८ वर्षका थिए । भाइ ४ वर्ष मात्रै । र, यो नै उनीहरुको पहिलो नेपाल भ्रमण थियो । नेपाल र भारतको पहाडी इलाका, दार्जीलिङको चौरस्तामा घोड सवार गरेको संगम अहिले सम्झिरहन्छन् ।

नेपालमा ट्रेकिङको रहर

सङ्गमलाई नेपालका हिमाल , पहाड र बनकुन्जहरुमा ट्रेकिङ गर्न खुब मन पर्छ । उनी लन्डन बस्दा सिनी फर्किनुअघि नेपाल गएर घुम्फिर गर्थे ।

दोश्रो पटक उनी सन २००० अर्थात वि.स. २०५७ सालमा नेपाल भ्रमण गरे । उनले आफ्नो नेपाल प्रेम पोखे – पहिले बच्चा हुँदाको र म युवा भैसकेपछिको नेपाल भ्रमणको फरक-फरक अनुभूति छ । नेपाल वास्तवमा सुन्दर छ । आफ्ना पूर्खा नेपाली हुनुमा मलाई निकै गर्व छ ।

उनलाई नेपालमा सबैले सबैलाई चिन्ने र सबैले सबैको हेरचाह गर्ने कुरा अनौठो लाग्यो । त्यसमा उनी भातृत्व र प्रेम देख्छन् – हामी नेपाली सबैले सबैलाई माया र केयर गर्छौ कस्तो राम्रो । उनले आफ्नो २०११, २०१४ र पछिल्लो २०१७ को नेपाल भ्रमणमा यहाँका मुख्य पर्यटकीयस्थल घुमिसकेका छन् ।

संगम पोखरा, चितवन, मुस्ताङ, सगरमाथा आधारशिविर घुमिसकेका छन् । पछिल्लो भ्रमणमा त उनले काठमाडौं र पोखरामा साइकल यात्रा पनि गरे ।

‘बाटोमा भूकम्पले भत्केका बस्ती हुँदै जाँदा उनको मन दुखिरहृयो । तर, अहिले पुनर्निर्माण पनि भैरहेको छ,’ उनले बन्दै गरेका बस्तीहरु सम्झिँदै भने ।

पोखराको फेवा तालमा बोटिङ, बेग्नास र रुपातालको घुमघाम, अन्नपूर्ण सर्किटको यात्रा, मुक्तिनाथ मन्दिर दर्शन र त्यहाँका धारामा चिसो हिमाली मुलपानी छोएको उनलाई ताजा सम्झना हुन्छ ।

नेपालका निकुन्जमा उनको बाघ, हात्ती र गैंडासँग चिनजान भयो । उनले भने – हाम्रो नेपाल प्रकृतिको कति सुन्दर बर्दान, हाम्रो फन्ना र फ्लोरा अझै राम्रो र बिबिधतापूर्ण ।

गुराँसको रङ, सारङ्गी र बाँसुरीको धुन मन पर्छ

उनी प्रकृति प्रेमि त छदै छन । नेपालका हिमाली भेगमा यात्रा गर्दा जङलैभरी लालीगुराँस फुलेको राताम्य पर्बत अचम्मको लाग्छ । चराचुरुङ्गीको आवाज कर्णप्रिय । भन्छन – नेपाली हिमालको हावा पानी स्वस्थ छ ।

संगम प्रकृतिसँगै नेपाली लोक संगीतलाई पनि निक्कै माया गर्छन । ‘मलाई बासुरी र सारङ्गीको धुन निक्कै मन पर्छ । म लोक गीतको सबै अर्थ बुझ्दिन तर मिस्मास गरेको होइन सक्कली लोक गीत मन पर्छ,’ उनी आफ्नो नेपाली संगीत प्रेम ब्यक्त गर्छन ।

मातापितासँग संगम प्रधान ।

उनलाई नेपाली समाजको बिशेष अवसरमा नेपाली पोशाक दौरा, सुरुवाल र टोपी लगाउन मन पर्छ । पछिल्लो पटक आफ्नो भाइको बिहेमा त्यो पोशाक लगाएको फोटो एल्बम देखाउँदै भन्छन – हाम्रो नेपालीमा धेरै युनिक पोशाकहरु छन । सबै पोशाकलाई माया गर्नुपर्छ ।

खानामा पनि संगम नेपाली दालभात, अचार, सेल रोटी र मम पन पराउँछन ।

पछिल्लो पुस्ता भाग्यमानी

उनलाई अस्ट्रेलिया जन्मेको पछिल्लो पुस्ता भाग्यमानी लाग्छ । कम्तिमा नेपाली पढ्ने, लेख्ने अवसर छ, आफ्नो उमेर समूहका साथीहरु पनि छन । भन्छन – मेरो बेला म बाहेक स्कूलमा मेरो रङको कोही पनि थिएन । मैले भाषा सिक्ने अवसर नै पाइन ।

कर्णालीमा जल विहारको रहर

संगमको नेपाल गएर छ महिना पुरै बस्ने धोको छ । नेपालका बस्तीहरु घुम्ने, बर्दिया निकुन्ज र त्योभित्र बग्ने कर्णाली नदीमा जल बिहार गर्ने रहर छ ।

भारतको बनारस जाने मन पनि छ । ‘मलाई पशुपतिनाथ, मुक्तिनाथ मदिर घुमेपछि बनारस पनि जान मन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment