Comments Add Comment

जैतुनको तेल खरिद गर्नुअघि केही ख्याल गरौं

हामी भन्छौं धेरै चिल्लो खानेकुरा सेवन गर्नुहुँदैन । त्यही कारण हामी तेल प्रयोगमा नियन्त्रण गर्छौं । यद्यपि बिहान बेलुकी छाकमा हामीलाई तेल चाहिन्छ । तरकारी पकाउन तेल नभई हुन्न । तरकारी वा कुनैपनि खानेकुरामा तेलको प्रयोग बढी भएमा उक्त खानेकुरा नै अस्वस्थकर हुन्छ भन्ने हामीलाई लाग्छ ।

तेलमा अखाद्य पदार्थको मिसावट हुने भएकाले पनि यसप्रति हामी बढी सचेत छौं । तेलको विकल्पमा कतिपयले घिउ प्रयोग गर्छन् । कतिपयले भने ओलिभ आयल अर्थात जैतुनको तेल प्रयोग गर्छन् । यद्यपि जैतुनको तेल महंगो हुने भएकाले धेरैले यसको प्रयोग गर्दैनन् ।

भनिन्छ, जैतुनको तेल फाइदाजनक हुन्छ । स्वास्थ्यवर्द्धक खानेकुरा सेवन गर्नु परेमा जैतुनको तेल नै प्रयोग गरिन्छ । त्यसो त बजारमा थरीथरीको ब्रान्डमा जैतुनको तेल पाइन्छ । मूल्यमा पनि त्यती एकरुपता हुन्न ।

अन्य किमिसको तेलले हृदय रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या हुन्छ । जबकी जैतुनको तेलमा यस्तो खतरा हुँदैन । जैतुनको तेलले शरीरको विकारयुक्त पदार्थ निकाल्न पनि सहयोग गर्छ । खासमा जैतुनको तेलले किन हानी गर्दैन ? यसमा के पाइन्छ ? यो किन महंगो हुन्छ ?यसबारे चर्चा गरौं ।

के हुन्छ जैतुनको तेलमा ?

जैतुनको तेलमा एन्टी अक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले हाम्रो शरीरको हानिकारक तत्व रोक्ने काम गर्छ । एन्टिअक्सिडेन्टका साथसाथै जैतुनको तेलमा भिटामिन ई र डी भरपुर मात्रामा पाइन्छ ।

किन महंगो हुन्छ ?

जैतुन एक वनस्पति हो, जसको फलबाट तेल निकालिन्छ । जबकी जैतुनको फलबाट अत्यन्त कम मात्रामा तेल उत्पादन हुन्छ । ४०-५० किलो जैतुनको फलबाट केबल तीन लिटर तेल उत्पादन हुन्छ । विशेष सिजनमा उत्पादन हुने यो फलको उत्पादन पनि कम मात्रामा हुन्छ । जबकी विश्वभर जैतुनको तेलको माग उच्च छ । यसलाई अनेक विधिबाट सेवन गर्ने गरिन्छ । त्यसैले यो अन्य तेलको तुलनामा महंगो हुन्छ ।

खरिद गर्नुअघि ध्यान दिनैपर्ने कुरा

-यो तेलले अक्सिजन, उज्यालो र गर्मीको सम्पर्कमा आउनसाथ आफ्नो गुण गुमाउँछ । त्यसैले जैतुनको तेल खरिद गरिरहँदा सधैं गहिरो रंगको काँचको बोत्तल वा स्टिलको डिब्बामा भरिएको तेल नै खरिद गर्नुपर्छ ।

-बजारमा केही सस्तो जैतुनको तेल पनि उपलब्ध छ, जसमा केही मिसावट हुन्छ । यो त्यति शुद्ध नहुने भएकाले फाइदाजनक पनि हुँदैन ।

-जैतुनको तेललाई सधैं सानो बोत्तलमा खरिद गर्नुपर्छ । यसलाई लामो समय स्टोर गरेर सेवन गर्न सकिँदैन, किनभने यसको गुणवत्ता घट्छ । खरिद गरेको बेला यसको उत्पादन मिति लगायतको पनि ख्याल गर्नुपर्छ । प्याक गरेको १५ महिनाभित्र जैतुनको तेल प्रयोग गर्नु बढी लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment