News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा गरिदिन माग गरेका छन् ।
- अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानुनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी महानिरीक्षकसँग सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन् ।
- मानव अधिकार आयोगको रोहबरमा बाहेक आफू अस्पतालबाट प्रशासनमा उपस्थित नहुने अडान अन्सारीले लिएका छन् ।
२९ असार, काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दाबी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन् ।
अस्पतालबाट वक्तव्य जारी गर्दै उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदि आग्रह गरेका हुन् ।
कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो । प्रहरीको कुटपिटबाट घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको, पक्राउ पुर्जी पनि नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता नरहेको दाबी गरेका छन् ।
अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन् ।
यद्यपि अन्सारीका आरोपबारे नेपाल प्रहरी वा गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
उनी शनिबार सुकुमवासीको रहेको होल्डिङ सेन्टरमा बाढी पसेपछि अनुगमनका लागि पुगेका थिए । तर, प्रहरीले उनीसहितका व्यक्तिहरुलाई धरपकड गरी नियन्त्रणमा लिएको थियो । अन्य व्यक्कि रिहाइ भए पनि अस्पतालमा रहेका उनलाई प्रहरीले घेरा हालिरहेको छ ।
अस्पतालमा उपचार गराइरहेका उनलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेनजी अभियन्ताहरुले बताएका छन् । उनलाई प्रशासन कार्यालय उपस्थित गराएर सार्वजनिक मुद्दा अगाडि बढाउने तयारी गरिएको एक अभियन्ताले बताए ।
माजिदले भने मानव अधिकार आयोगको रोहबरमा मात्रै आफू अस्पतालबाट प्रशासनमा उपस्थित हुन बताएका छन् । अन्यवा उपस्थित नहुने उनको भनाइ छ ।
गैरकानुनी रुपमा पक्राउ गरी अन्सारीलाई दबाब दिइएको सूचनापछि अहिले मानव अधिकार आयोगको टोली अस्पताल जाँदै छ ।
अस्पतालमा रहेका माजिदलाई रातभर पनि सादा पोशाकका प्रहरीले घेरेका थिए । राति अस्पताल बाहिर रहेका प्रहरी बिहान उनको बेडमै पुगेका थिए ।
प्रतिक्रिया 4