News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालित ‘जरा अभियान’ ६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर समापन गर्ने निर्णय गरेको छ ।
- महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका कार्यहरू व्यापक रूपमा सम्पन्न गर्न मातहतका निकायलाई अनुरोध गरिएको छ ।
- अभियानअन्तर्गत पालिकाहरूमा खटिएका प्रतिनिधिहरूले ४ साउनमा जिल्ला कार्यसमितिमार्फत केन्द्रीय प्रतिनिधिहरूलाई प्रतिवेदन बुझाउनुपर्ने गरी समयसीमा तोकिएको छ ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ ।
कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू भएको ‘जरा अभियान’ ६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो ।
कांग्रेसले ७७ वटै जिल्लामा जारी ‘जरा अभियान’ बीपी स्मृति दिवसको अवसर पारेर ६ साउनमा समापन गर्न तल्लो तहका कार्यसमितिहरूलाई परिपत्र गरेको छ ।
महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बीपी कोइरलाको ४४ औं स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जार अभियान’ को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्न हुन अनुरोध गरिन्छ ।’
परिपत्रअनुसार देशभरका पालिकाहरूमा खटिएका प्रतिनिधिहरूले ४ साउनमा जिल्ला–जिल्लामा कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरूलाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
कांग्रेसले पछिल्लो समय २० असारसम्ममात्रै नयाँ क्रियाशील सदस्यता वितरण गरिने भनेको थियो । तर, केन्द्रीय प्रतिनिधिहरूले समय अभाव भएको भनेपछि पार्टीले समयावधि ३ साउनसम्मका लागि थप गरेको छ ।
१ वैशाखबाट सुरू भएको ‘जरा अभियान’मा अघि सबै क्रियाशील सदस्यहरूले आ–आफ्नो सदस्यता रहेको वडामा भौतिक रूपमा उपस्थित भएर अद्यावधिक गर्नुपर्ने निर्णय गरेपछि कांग्रेसमा विवाद सुरू भएको थियो ।
सभापति गगन थापाले १ वैशाखमा काठमाडौं महानगरपालिका–३० को वडा कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरुवात भएको थियो ।
प्रतिक्रिया 4