Comments Add Comment

बयान लिइरहँदा प्रहरी कार्यालयबाट भागेका बलात्कार आरोपी पक्राउ

४ भदौ, जनकपुरधाम । प्रहरीले बयान लिइरहेकै बेला फरार भएका बलात्कार आरोपी पुनः पक्राउ परेका छन् ।

फरार भएका सिरहाका २० वर्षीय राममणि यादवलाई मंगलबार राति सिरहा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यसअघि १३ वर्षीया बालिका बलात्कारको आरोपमा उनलाई जनकपुरधाम उप-महानगरपालिका-८ बलुवा टोलस्थित उनकै डेराबाट प्रहरीले पक्रेको थियो ।

अदालतबाट ५ दिनको म्याद थप गराई बयान लिइरहँदा गत साउन ३० गते यादव जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटबाटै भागेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाटै बलात्कारका आरोपी फरार भएपछि छानबिनका लागि प्रबक्ता कार्कीकै संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको थियो ।

त्यसअघि प्रहरी सहायक निरीक्षक (असई) राजकुमार भण्डारी निलम्बनमा परेका थिए ।

थप चार जना पक्राउ

धनुषा प्रहरीले राममणिलाई भगाउन सहयोग गर्ने थप चार जनालाई पक्राउ गरेको छ ।

सिरहाको औरहीका प्रमेश यादव, ठेंगहीका सूर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादवलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका सबै राममणिका साथी हुन् । उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment