Comments Add Comment

गुगलले तोड्यो परम्परा, एन्ड्रोइड क्यू को साटो एन्ड्रोइड १०

गुगलको आगामी एन्ड्रोइड अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड १० हुने भएको छ । बिहीबार एक घोषणा गर्दै गुगलले आगामी नयाँ संस्करणको अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड क्यू नभई एन्ड्रोइड टेन रहने जानकारी गराएको हो ।

एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्टका उपाध्यक्ष समिर सामतले एक ब्लग पोष्टमा भनेका छन्, ‘एउटा विश्वव्यापी अपरेटिङ सिस्टमको रुपमा यो एउटा यस्तो नाम आवश्यक पर्दछ, जुन प्रष्ट होस् र दुनियाँमा जो कोही यससँग सम्बन्धित हुन सकोस् । त्यसैले एन्ड्रोइडको आउँदो भर्सनका लागि साधारण रुपमा अंकको प्रयोग गरिनेछ र यसको नाम एन्ड्रोइड १० हुनेछ ।’

एन्ड्रोइडको लोगो पनि अपडेट हुने

गुगलले एन्ड्रोइडको नामाकरणमा परम्परा परिवर्तन गर्न थालेको मात्र होइन, एन्ड्रोइडको लोगो पनि परिवर्तन गर्ने तयारी गरेको छ । एन्ड्रोइडको लोगो विद्यमान लोगो भन्दा आधुनिक तथा एक्सेसिबल हुने बताइएको छ । यद्यपि यो नयाँ सफ्टवेयर कहिलेबाट उपलब्ध हुने भन्ने कुनै मिति तय भएको छैन । तथापि आउँदो हप्ता नै एन्ड्रोइड १० रिलिज हुने अपेक्षा गरिएको छ ।

हरेक पटक ‘मिठाई’को नाम

गुगलले अहिलेसम्म आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमका हरेक नयाँ भर्सनलाई वर्णानुक्रम अनुसार नयाँ नाम दिँदै आएको छ । एन्ड्रोइडका संस्करणहरुको नामको एउटा खास विशेषता भनेको एन्ड्रोइडका नामहरु कुनै मिठाई वा मिठो चिजसँग जोडिँदै आएको छ । उदाहरणका लागि पूरानो एन्ड्रोइड भर्सन अंग्रेजी अक्षर पि बाट सुरु भएको थियो र त्यसको नाम पाइ राखिएको थियो ।

त्यस्तै त्यसअघिको संस्करणको नाम ओ बाट सुरु भएको थियो र त्यसको नाम ओरियो थियो । ओरियो भनेको बजारमा पाइने एएटा गुलियो कुकिज हो । त्यस्तै एन्ड्रोइडका अन्य संस्करणहरु नगट, मार्समेलो जस्ता नामहरु राख्दा पनि गुगलले सोही परम्परा पछ्याएको थियो ।

एन्ड्रोइड १० का विशेषताहरु

गुगलले एन्ड्रोइसको यो नयाँ संस्करणको पहिलो प्रिभ्यू भर्सन गत मार्च महिनामा रिलिज गरेको थियो । त्यस्तै मे महिनामा डेभलपर कन्फ्रेन्सका क्रममा यसका केही फिचर्सको डेमो पनि देखाइएको थियो । ती मध्ये एन्ड्रोइड १० को सबैभन्दा खास फिचरको रुपमा व्यक्तिगत जानकारीलाई गोप्य राख्ने फिचर हुनेछ । हो, एन्ड्रोइड १० का लागि नयाँ प्राइभेसी फिचरका रुपमा लोकेशन कन्ट्रोल तथा डेडिकेटेड प्राइभेसी सेटिंग्स रहनेछ । त्यससँगै एन्ड्रोइड १० फोल्डेबल स्क्रिन, फास्टर एप लञ्च तथा फुल अन गेस्चर नेभिगेसनलाई सपोर्ट गर्नेछ । त्यति मात्र होइन, नयाँ अपरेटिङ सिस्टममा प्रयोगकर्ताले बबल नोटिफिकेसन तथा स्लाइट लाइन क्याप्सन फिचर पनि प्रयोग गर्न पाउनेछन् ।

गुगलसँग अन्य कम्पनीको साझेदारी

नयाँ अपडेटसँग तादात्म्य मिलाउने गरी आफ्ना डिभाइस गर्नका लागि केही कम्पनीहरुले गुगलसँग बिटा प्रोसेसमा काम गरिरहेका छन् । त्यसमा हुवावे तथा वनप्लस लगायतका स्मार्टफोन कम्पनीहरु रहेका छन्, जसका नयाँ डिभाइसले पहिलेदेखि नै एन्ड्रोइड १० बिटा भर्सन सपोर्ट गर्दछन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment