Comments Add Comment

फेसबुक, राज्य र रवि लामिछाने

शालिकराम पुडासैनी आत्महत्या काण्डको आरोपीका रूपमा रवि लामिछाने पक्राउ परेपछिको घटनालाई लिएर देशभित्र र बाहिरसमेत नेपालीहरुको मत र मन विभाजित छ । भौगोलिक रुपमा साता समुन्द्र पार रहे पनि हरपल पहिला जन्मभूमिकै चासो र चिन्ता लागिरहने एक किसिमको ‘रोग’ नै लागेको छ हामी परदेशीलाई । आफू पनि त्यही कोटीमा परेकाले यो तातो विषयमा आएका क्रिया–प्रतिक्रियाका बारेमा जानकार नहुने भन्ने कुरै भएन ।

रवि लामिछाने कुनै बेलाका मेरा सहकर्मी हुन् । उनी यस्तो घटनामा आरोपित भएका बेला के गर्ने ? के बोल्ने ? भनेर म लामो समयसदेखि द्विविधामा थिएँ । एक किसिमले भन्दा कानुनले आफ्नो बाटो लिन्छ, जे हुन्छ, राम्रैका लागि हुन्छ भनेर मौनता साँधेर रमिता हेरिरहेकै थिएँ । ताली र गाली नपाउने यो भूमिका नै सहज भूमिका पनि हो ।

कानुनभन्दा माथि कोही पनि हुनुहुन्न र त्यस्तो कानून सबैका लागि समान हुनुपर्छ भनेर गणतन्त्र प्राप्तिका लागि लडेको एक आम नेपाली नागरिक हुँ । यसो भन्दा कत्ति पनि ग्लानी हँुदैन बरू गौरव लाग्छ । भाग्यले, नियतिले वा परिस्थितिले केले हो, आज भौगोलिकरूपमा मुलुकदेखि टाढा छु ।

तर, यसको अर्थ यो हैन कि म अनेपाली भैसकें र मेरो जन्मभूमिप्रति बोल्ने अधिकार नै गुमाइसकें । मैले बुझेको सत्य के हो भने अहिले नेपालमा धेरै कुरा ठीकठाक छैन । तर, योभन्दा ठीकठाक पार्ने अर्को व्यवस्था पनि छैन ।

समयसँगसँगै सिक्दै र सच्चिँदै जाँदा यही व्यवस्थाले नेपालको दिशा र दशा ठीक गर्छ भन्ने मेरो विश्वास हो । धेरै गलत भैसकेकाले यसलाई सच्च्याउन पनि समय लाग्ला ।

प्रसंग रविकै हो । यस विषयमा मनमा लागेका कुरा बोल्न मन लाग्यो । पक्कै पनि यो कुरा धेरैका लागि खासगरी रविका अति समर्थकहरूका लागि प्रिय लाग्ने त कुरो छोडौं, अप्रिय नै लाग्छ । र, फेसबुकमा मेरैजस्तो विचार राख्नेहरूमाथि भएका आमाचकारी गाली हेर्दा ममाथि पनि त्यस्तै अविवेकी प्रहार हुन्छ, यो सत्य हो । तर, यसो भनेर आफ्नो मत नराख्ने कुरा पनि त भएन ।

फेसबुक र नेपाली

सन् २०१० मा अमेरिका आएपश्चात न्यूयोर्कमा फरेन प्रेस सेन्टरमा फेसबुकका संस्थापकमध्येका एक क्रिश ह्युगसँग पत्रकार सम्मेलनमा भेट हुने मौका मिल्यो । संसारका धेरै देशबाट आएका पत्रकारले उनीसँग प्रश्न सोध्ने चाहना राखेको भए पनि उनले केहीको मात्र प्रश्न लिन भने । संयोगले उनले भनेका केहीमध्ये म पनि परेँ ।

उनले ‘तपाईको प्रश्न के छ ?’ भन्दा मैले सामान्य रुपमा ‘नेपालमा भर्खर–भर्खर फेसबुकको चलन आएको छ, तर पत्रकारहरुले धेरै फेसबुक चलाए भनेर मिडिया हाउसले फेसबुक नै चलाउन नदिने कुरा गर्दैछन्, यो कुरा तपाईलाई कस्तो लाग्छ ?’ भनेर सोधेको थिएँ । उनले हाँस्दै भने– ‘मलाई लाग्छ, कसैले पनि त्यसो नगर्लान् ।’

मलाई आज फेरि यो घटनामा फेसबुकमा यसरी नेपाली बाझेको देख्दा फेसबुकका त्यस्तै संस्थापकलाई भेटें भने प्रश्न सोध्न मन लागेको छ कि के तिमीले फेसबुकको स्थापना गर्दा यस्तो लेबलमा पुगेर झगडा गर्ने थलो बन्ला भनेर सोचेका थियौ ?

किनकि, रवि लामिछानेलाई हिरासतमा लिएपछि केही व्यक्तिले फेसबुकलाई यसरी दुरुपयोग गरे कि मानांै यो झगडा गर्नकै लागि जुकरबर्गले सुरूवात गरेका हुन् ।

के यो विषयमा यति धेरै झगडा गर्नु आवश्यक थियो त ? हामी यही विषयलाई सभ्य भाषामा बहस गर्न वा कानुनको पालना गरेर छलफल गर्न नसक्ने अवस्थामै पुगेका हौं त ?

भीड र कानुन

एकजना सञ्चारकर्मी जो लामो समय अमेरिका बसेर जन्मभूमिका केही गर्छु भन्ने सोचेर फर्केको छ र धेरैको मन जितेर चर्चित अनि लोकप्रिय पनि भएको छ, म जस्ता परदेशमा बस्ने सबैका लागि खुशीको कुरा हो । उनका पक्षमा देखिएको समर्थनले नै बताउँछ कि उनले कति धेरैको मन जितेका छन् भनेर । तर, प्रश्न के हो भने के कानुन बनिसकेपछि त्यसको पालना गर्नु असल नागरिकको दायित्व होइन र ? हामी अरुलाई नियम सिकाउने तर आफूलाई पर्न आएपछि सबै गलत, कानुन नै गलत भन्न पाइन्छ र ?

यस प्रकारको कानुन बनाउँदा नै सोच्नु पर्थ्यो, यो बहसको विषय हुन सक्छ । तर, कानुन बनेर लागु नै भैसकेपछि त राज्यको कानुन सबैले मान्नैपर्छ नि, हैन र ? कुनै पनि ब्यक्ति हिरासतमा जानु भनेको दोषी हुनु या फस्नु पक्कै होइन होला । हामीले यतिबेला यो कोणबाट पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको छैन र ? यदि कानुनले गल्ती देखाउँछ भने देशका सबै जनता सडक आए पनि कानुनको पालना गराउनु राज्यको दायित्व होइन र ?

जसका पछाडि धेरै हल्ला गरिन्छ, उसलाई कानुन नै नलाग्ने अनि केही भीड नआउनेका लागि मात्र कडा कानुन लाग्ने ? हामीले चाहेको यही हो र ? बरु भीडबाट न्याय खोज्नुभन्दा शान्त रुपमा खबरदारी गर्नुबुद्धिमानी नहोला र ?

देशमा चर्चित कलाकार तथा आफूलाई सामाजिक ब्यक्तित्व ठान्नेहरुले नै प्रहरीले हिरासतमा लिदैंमा कानुन मिचियो, अन्याय भयो भन्नु उचित होला कि कानुनी उपायतर्फ लाग्नु बेस होला ? कम्तिमा यति त सोच्नुपर्छ । यस प्रसंगमा सभ्य नागरिकका रूपमा रोल मोडल बनेकाहरूकै अभिव्यक्ति हेर्दा पनि हामीले कस्तालाई रोल मोडल बनाएछौं भनेर प्रश्न गर्नुपर्ने हुन्छ ।

प्रहरीमाथि प्रहार र गणतन्त्रविरोधी नारा

चितवन प्रहरीले रवि लामिछानेलाई हिरासतमा लिएपछि नेपाललगायत संसारका धेरै देशमा रहेका नेपालीले फेसबुक अनि विभिन्न सामाजिक सन्जालबाट लगातार आक्रमण गरिरहे, गरिरहेकै छन् । कहिले प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई लक्षित गरेर त कहिले चितवन प्रमुख दानबहाहुर मल्ललाई लक्षित गरेर ।

अझै कतिपयले त दानबहादुर मल्ल भन्दै पोखराका प्रहरी प्रमुख दानबहादुर कार्की समेतको तस्वीर राखेर गाली गरे । देशमा जुनसुकै शासन ब्यवस्था आउँदा पनि कानुन पालना गराउन लागि पर्ने प्रहरी पनि एउटै घटनामा हामी सबैका शत्रु भएका हुन् त ? हिजो भुकम्पका बेला होस् या जस्तोसुकै संकटका बेला होस् हरेक पल खट्ने प्रहरी पनि कुनै एउटा ब्यक्तिलाई फसाउनै भनेर यसरी लाग्न सक्छ होला त ?

के प्रहरीले एउटा पत्रकारलाई समाचार लेखेको या प्रशारण गरेका आधारमा हिरासतमा लिएको हो त ? कुनै पनि घटनामा आरोपित भए छि समाउन जानु प्रहरीको दायित्व होइन र ? आज हामीलाई मन पर्ने मान्छेलाई समाउँदा प्रहरी दुष्मन हुने अनि अर्कोलाई समाउँदा स्याबास गर्ने पनि कुनै राज्यको प्रहरी हुन्छ र ?

अझ दुःख लाग्ने कुरा त चितवनमा पुगेर अहिलेको शासन प्रणालीको नै बिरोध गर्ने एकजना शाही थरका युवाले ८/१० युट्युबरलाई राखेर प्रहरीको जिल्ला प्रमुखलाई लाउड स्पकरमा फोनबाट थर्काउँदै थिए । के हामीले राज्यको मेरुदण्ड प्रहरीलाई नै कमजोर पार्न खोजेको हो या कानुनको आधारमा भन्दा पनि लहडको आधारमा चलोस् भन्ने प्रहरी खोजेको हो ?

आफ्नो जीवनकालभर एक निष्पक्ष छवि बनाएर आईजीपी भएर घर जाने सोचमा रहेका सर्बेन्द्र खनाल एउटा व्यक्तिको पछाडि सिंगो संगठन लगाउन तयार भए होलान् त ?

राज्य ठूलो कि रवि ?

उनकै पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएका आधारमा यतिबेला रवि लामिछानेलाई छानविनका लागि हिरासतमा लिइएको छ । हरेक राज्यमा कानुन हुन्छ र त्यो कानुनलाई लागू गराउने निकाय भनेको प्रहरी हो ।

कानुनभन्दा माथि कोही पनि हुनेछैन र कानुन सबैलाई बराबर लाग्नेछ भन्ने अपेक्षा र विश्वासका साथ गणतन्त्र ल्याएका सबै जनताका लागि कानुन बराबर हुने हैन र ? राज्यको कुनै पनि ब्यक्तिलाई आरोप लागेपछि त्यस घटनाको सत्य तथ्य के हो र दोषी को हो, अनि निर्दोष को हो भनेर प्रहरीले हिरासतमा लिन जो कोहीलाई सक्ने कानुन बनेको छैन र ?

हाम्रै छिमेकी देश भारतमा पनि चर्चित ब्यक्तित्व सलमान खान, सञ्जय दत्तलाई कानुनले त्यसै छाडेको थियो र ? अहिले पी चिदम्बरम पक्राउ परेका छन् ।

सबैका लागि समान र अन्धो हुन्छ भन्ने कानुनको नजरमा कुन व्यक्ति कति चर्चित छ भन्ने लेखाजोखा गरेर कानून लागु गर्न थालियो भने राज्यको हालत के होला ? हामी राज्यमा पद्दतिको विकासको कुरा पनि गर्ने, अनि कुनै ब्यक्तिलाई कानुन लाग्ने र कुन ब्यक्तिलाई कानुनले छुंदै नछुने भन्ने बहस गर्न लाग्यौं भने कहाँ पुग्छौं ?

आज रवि लामिछानेले पत्रकारितामार्फत गरेको काम सराहनीय मान्न सकिन्छ । तर, उनका धेरै राम्रा काम हुँदा पनि कुनै एक कामले कानुनको उल्लंघन भयो भन्ने आरोप लाग्यो भने त्यो अरू राम्रा काम गरेकाले छुट हुन्छ भन्ने हुन्छ र ? अनि छानविनका लागि हिरासतमा लिँदा प्रहरी अनि सरकार र सिंगो गणतन्त्रकै विरुद्धमा नारा लाग्नु सान्दर्भिक होला त ?

हामी आवेश वा भावनामा बगेर भन्दा पनि ठण्डा दिमागले सोचेर पहिला राज्य अनि ब्यक्तिको कुरा गर्नुपर्ने समय आएको हैन र ? राज्य बलियो भयो भने पत्रकार, कलाकार, वा कुनै पनि क्षेत्र दीर्घकालका लागि नै बलियो बन्छ । तर, त्यसो नभएर कुनै ब्यक्तिलाई बलियो बनाउन थालियो भने त्यसले सिर्जना गर्ने भनेको त अराजकता नै हो ।

र अन्त्यमा,

कुनैबेला अमेरिकामा नजिकै रहेर सहकार्य समेत गरेका रवि लामिछानेजीको गल्ती रहेनछ भने अन्याय भोग्नु नपरोस् भन्ने मेरो शुभकामना छ । तर, उनलाई उजुरी परेपछि छानविनका लागि हिरासतमा लिनासाथ नै राज्य नै लागेर डुबाउन लाग्यो भन्ने प्रवृतिप्रति भने पटक्कै चित्त बुझेको छैन ।

मलाई थाहा छ, फेसबुक र युट्युबमा विभिन्न शीषर्कमा राज्य र प्रहरी प्रशासनलाई दिनरात गाली गर्नेलाई यो कुरा अवश्य मन पर्दैन । तर, प्रश्न मन पर्ने वा नपर्ने भन्ने हैन । प्रश्न के हो भने कुनै व्यक्ति मनपर्यो भन्दैमा उसलाई राज्यको कानुनभन्दा माथि राख्नुपर्छ भन्ने हो ? यदि यही नै हो भने यो सभ्य नागरिकलाई सुहाउने कुरै हैन ।

हामी राज्य असल बनाउन खोज्ने, तर आफैचाँहि एक असल नागरिक पनि बन्न नखोज्ने यस्तो प्रवृतिले कहिल्यै माथि पुग्न सक्ने छैनांै ।

(अमेरिकामा रहेका थापा नेपाली पत्रकार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment