Comments Add Comment

पोखरामा पर्यटनमन्त्रीलाई प्रश्न : एउटै एयरपोर्टका लागि कति पटक बिस्थापित हुने ?

११ भदौ, पोखरा । २०३१ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको सपनासहित जग्गा अधिग्रहण सुरु भयो । त्यतिबेला गण्डकीका अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा ४ हजार रोपनी जग्गा अधिग्रहण भएको थियो ।

जग्गा अधिग्रहणमा स्थानीय यामबहादुर कार्की र खिमबहादुर कार्कीको केही जग्गा नापी गर्दा छु्ट्यो । मुआब्जा माग गर्दै उनले सर्वोच्च अदालतसम्म कानुनी लडाईं‌ लडे । २०७० सालमा उनको माग सम्बोधन भयो । तर, पुरानै दररेटमा ।

एक त उनीहरुको जग्गा गुमेर झण्डै ४० वर्षसम्म मुआब्जा पाएनन् । त्यही मुआब्जा लिन पनि ठूलो रकम खर्च गरेर मुद्दा लडे । मुआब्जा दिने भएपछि पनि त्यसको अनुभूति गर्न पाएनन् । ‘पुरानै दररेटमा थपिएको व्याजसहित प्रतिरोपनी २१ हजारको दरले मात्रै मुआब्जा पाउनुभयो । जबकी त्यसबेला चलनचल्तीको भाउ प्रति रोपनी १ करोड रुपैयाँ थियो’, स्थानीय गनेस पौडेलले भने, ‘यो त एक प्रतिनिधि घटना हो । यहाँ स्थानीयले थुप्रै खाले समस्या भोग्नुपरेको छ ।’

विमानस्थलकै कारण ईन्द्रबहादुर खत्रीले भोग्नुपरेको समस्या पनि सानो होइन । उनले विमानस्थलकै कारण पटक पटक बिस्थापित हुनुप¥यो । २०७१ सालमा करिब ५ सय ९० रोपनी जग्गा थप अधिग्रहण हुँदा करिब २ दर्जन घर परिवार विस्थापित भएका थिए । जसमध्ये आधाजसो घर विमानस्थलकै कारण यसअघि नै विस्थापित भएका थिए । जसमा ईन्द्रबहादुर पनि एक थिए ।

आफ्नो घर, जग्गा, परिवार भएर पनि एउटै आयोजनाका लागि पटक पटक बिस्थापित हुनुपर्दाको पीडा स्थानीयमा रहेको पौडेलले सुनाए । आयोजनाका लागि जग्गा अधिग्रहण गर्दादेखि नै विकासका नाममा जनताले निकै सास्ती खेप्नुपरेको उनको अनुभव छ ।

कतिपय व्यक्तिलाई सरकारले जग्गाको सट्टा जग्गा नै दिने भनेर पनि अधिग्रहण गरेको थियो । तर ७ परिवारका १५ रोपनी जग्गाको अहिलेसम्म न मुआब्जा न जग्गा बनाएको संयोजक पौडेलले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलकै कारण प्रभावित स्थानीयले संघर्ष समिति बनाएका छन् । त्यसको अध्यक्ष छन्, गनेस । बुधबार पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर विमानस्थल प्रभावित क्षेत्रका वासिन्दाले दुख, समस्या सुनाए । विमानस्थल प्रभावित क्षेत्रका वासिन्दाले पर्यटनमन्त्रीलाई सोधे, ‘एउटै आयोजनाका लागि हामी अझै कति पटक विस्थापित हुनुपर्छ ?’

सरकारले चलनचल्तीभन्दा धेरै कम मुआब्जा दिने, एउटै व्यक्ति पाँच पटकसम्म बिस्तापित बन्नुपरेको समस्या स्थानीयको छ । विमानस्थलको चक्रपथ हुने गरी जग्गा अधिग्रहण गरेर पनि फेरि जग्गा अधिग्रहण गर्ने सुनिएको बताउँदै स्थानीयले भने, ‘एकैचोटी भनियोस् जग्गा कति चाहिने हो । पटक पटक नगरियोस् ।’

यो पनि पढ्नुहोस पोखरामा हवाइ रुटको चिन्ता, मन्त्री भन्छन् : भारत सकारात्मक छ

जमिन अधिग्रहण गर्नुपर्ने भए सुरुमै गरिदिन उनीहरुको आग्रह छ । स्थानीयका समस्या लिएर मन्त्रीसामु पुग्नेमा विमानस्थल निर्माण भइरहेको पोखरा महानगरपालिका १४ का अध्यक्ष प्रेमबहादुर कार्की पनि थिए । अधिग्रहणमा पर्ने स्थानीय आफैं अन्यायमा हुनुपर्ने अवस्था आइपर्ने उनले सुनाए । ‘२ करोड रुपैयाँ पर्ने जग्गालाई ६०/७० लाखमात्रै मुआब्जा दिइन्छ,’ उनले सुनाए, ‘यत्रो ठूलो आयोजना हुँदा ल ठिकै छ गाउँ विकास भाछ भनौं भने पनि केही भएको छैन ।’

आयोजनाले सिञ्चाइ कुलो लागिदिएपछि नयाँ बनाउन नसक्दा खेत रोप्नै नपाएको विमानस्थल निर्माण भइरहेको वडाका अध्यक्ष प्रेमबहादुरले बताए । अब फेरि जग्गा लिने हो भने पुनर्मूल्यांकन हुनुपर्ने उनीहरुको माग छ । ‘अब हुने मूल्यांकनमा हामी जग्गा धनीको सुनुवाइ होस् । पहिले जसरी जग्गा दिन सक्दैनौं । हामी प्रभावित पनि हुने अनि हामी नै गरिब पनि हुने ?’ पौडेलले भने, ‘हामीलाई चलनचल्नीको मुआब्जा नि चाहिन्छ र क्षतिपूर्ति पनि चाहिन्छ ।’

सूचनाको निकालेको एक वर्षपछि वा धेरै लामो समयपछिमात्रै पैसा दिने भएकाले क्षतिपूर्ति पनि चाहिने स्थानीयको भनाइ छ । विमानस्थलकै कारण बेलाबेलामा कुनै क्षेत्र डुबानमा समेत पर्ने गरेको उनीहरुको भनाइ छ । जिल्ला समन्वय समिति कास्कीका सभापति वैनबहादुर क्षेत्रीले स्थानीयकै सहयोगकै कारण बिना अवरोध काम हुन सकेको बताए । मूल्यवान जग्गा पनि दिने अनि मन सानो पनि बनाउनुपर्ने स्थितिबारे सोच्नुपर्ने उनको भनाइ थियो ।

स्थानीयलाई नांगेझार पारिँदैन : पर्यटनमन्त्री

पर्यटनमन्त्री योगेश भट्टराईले सरकारले स्थानीय जनताको माग सम्बोधन गर्नेमात्रै बताएनन्, बिमानस्थल निर्माणमा सहयोग गरेकोप्रति धन्यवाद पनि दिए । यति ठूलो आयोजना निर्माण हुँदा केही कमजोरी भएको हुन सक्ने पर्यटनमन्त्री भट्टराईको भनाइ थियो ।

स्थानीय जनतालाई नांगेझार, खाली खुट्टा, नांगो आङ बनाएर आयोजना नबन्ने उनको भनाइ थियो । विमानस्थल छेउछाउका वासिन्दाको दिगो जीविकोपार्ननको व्यवस्था सरकारले गर्ने भट्टराईले बताए । भोलि विमानस्थल सुरु भइसकेपछि पनि काम गर्न, ब्यापारमा पहिलो प्राथमिकता स्थानीयलाई दिने विकल्प पनि रहेको उनको भनाइ थियो ।

विमानस्थल निर्माणको काम कहिल्यै नसकिने बताउँदै मन्त्री भट्टराईले त्यो समय र आवश्यकताअनुसार भइरहने बताए । ‘न्युयोर्कको एयरपोर्ट हेनुर्स, चाइनिजले बनाएको ठूला एयरपोर्ट हेर्नुस्, बनिनै रहेको छ,’ भट्टराईले भने, ‘संसारको कुनै पनि एयरपोर्ट कम्प्लिट भएको छैन । निरन्तर बनिरहेको छ ।’

आज जे क्षमता छ त्यो गर्ने, भोलि अर्को आवश्यकता पर्छ थप्दै जाने काम भइरहेको उनको भनाइ थियो । ‘भोलि १० वर्षपछि फेरि अधिग्रहण गर्न प¥यो भने योभन्दा सुन्दर ठाउँमा लगेर राख्छौं नि त हामी,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment