+
+
Shares

अमेरिकामा ७ हजार भारतीय ट्रक ड्राइभर अंग्रेजी परीक्षामा फेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा अंग्रेजी भाषाको अनिवार्य परीक्षामा असफल भएका कारण ७,२४८ ट्रक ड्राइभरले जागिर गुमाएका छन्।
  • अधिकांश बर्खास्त भारतीय मूलका शिख धर्माबलम्बी ड्राइभरहरू हुन्, जसले अमेरिकी ट्रक उद्योगमा ठूलो हिस्सा ओगटेका छन्।
  • सरकारले सडक दुर्घटनामा वृद्धि भएपछि अंग्रेजी दक्षता अनिवार्य गरेको भए पनि उद्योग समूहहरूले यसलाई भाषागत भेदभावको प्रयास भनेका छन्।

अमेरिकामा अंग्रेजी भाषाको परीक्षामा कोही फेल हुन्छ होला भनेर हामीले सामान्य रुपमा सोच्दैनौं, किनकि त्यहाँको भाषा नै अंग्रेजी हो। तर, त्यहीँ अंग्रेजी भाषा परीक्षामा फेल भएका कारणले अमेरिकामा हालै सात हजारभन्दा धेरै ट्रक ड्राइभरले जागिर गुमाउनु परेको छ ।

अमेरिकी परिवहनमन्त्री सीन डफीका अनुसार अंग्रेजीको अनिवार्य परीक्षामा पास नभएपछि ती ट्रक ड्राइभर बर्खास्त भएका हुन् । तीमध्ये अधिकांश ड्राइभर भारतीय मूलका रहेको बताइएको छ ।

अमेरिकाको ट्रक सम्बद्ध उद्योगमा करिब डेढ लाख भारतीय मूलका शिख धर्माबलम्बीहरुले काम गर्दछन् र त्यसमध्ये ९० प्रतिशत ट्रक ड्राइभर छन् ।

अमेरिकामा भारतीय ट्रक ड्राइभर सम्बद्ध सडक दुर्घटनामा वृद्धि भएसँगै अमेरिकी सरकारले अंग्रेजी दक्षता परीक्षालाई अनिवार्य गरेको हो।

परिवहन सचिव सीन डफी ले एक सामाजिक सञ्जाल पोस्टमार्फत दिएको जानकारीअनुसार, अक्टोबर २०२५ सम्ममा ७,२४८ ट्रक चालकहरूलाई जागिरबाट निकालिएको छ किनभने उनीहरू अंग्रेजी भाषाको परीक्षामा असफल भए ।

जुलाईमा निकालिएका १,५०० चालकको तुलनामा यो सङ्ख्या निकै ठूलो हुनुले हालैका महिनाहरूमा नियमहरूलाई अझ कडाइका साथ लागू गरिएको स्पष्ट हुन्छ । नर्थ अमेरिकन पन्जाबी ट्रकर्स एशोसिएसनका अनुसार, अमेरिकामा कार्यरत करिब १।५ लाख ट्रक चालकहरू पन्जाब र हरियाणा क्षेत्रबाट आउँछन्, र नयाँ नियमको प्रत्यक्ष असर उनीहरूमध्ये हजारौंमाथि परेको छ ।

पहिले सन् २०१६ मा ओबामा सरकारको पालामा निरीक्षकले भाषाकै आधारमा मात्र चालकलाई ननिकाल्ने नियम थियो, तर ट्रम्प प्रशासनले त्यसलाई खारेज गरेपछि अहिले सरकारले हरेक व्यावसायिक ट्रक चालकले अंग्रेजी बोल्न र बुझ्न सक्नुपर्ने नियमलाई प्राथमिकता दिएको छ। अहिले लागू भएको नियमअनुसार, कमर्शियल ड्राइभिङ लाइसेन्स धारकहरू सडकका सङ्केतहरू पढ्न, अधिकारीहरूसँग कुरा गर्न र रेकर्ड राख्नका लागि अंग्रेजीमा दक्ष हुनैपर्छ ।

यो कदम चाल्नुको प्रमुख कारण पछिल्लो समय भारतीय मूलका ट्रक चालकहरू संलग्न रहेका गम्भीर सडक दुर्घटनाहरू बढ्नु हो। क्यालिफोर्नियामा एक भारतीय चालकमाथि भएको दुर्घटनामा तीन जनाको मृत्युको आरोप लाग्नु र फ्लोरिडामा गलत यू-टर्नका कारण भएको अर्को दुर्घटनामा तीन जनाको ज्यान जानुले अमेरिकी यातायात विभागलाई सुरक्षा मापदण्डमा कडाइ गर्न दबाब सिर्जना गर्‍यो ।

यद्यपि, उद्योग समूह र सिख कोलिशन लगायतका पैरवी समूहहरूले यो नीतिको आलोचना गर्दै, यो सुरक्षाको नभई भाषाका आधारमा आप्रवासी चालकहरूलाई हटाउने र उनीहरूमाथि भेदभाव गर्ने प्रयास भएको आरोप लगाएका छन् ।

धेरै अनुभवी र सुरक्षित चालकहरू कमजोर अंग्रेजीकै कारण जागिरबाट हटाइनु न्यायोचित नभएको उनीहरुको भनाइ छ । टेक्सासका एक कम्पनी मालिकले भने -यो सुरक्षाको होइन, भाषाको मुद्दा हो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?