Comments Add Comment

बच्चालाई लोभ देखाउनु पनि खतरनाक

बाल्यवस्था जीवनको सबैभन्दा खुशी र सुखद क्षण हो । यो अवस्थामा न कुनै तनाव हुन्छ, न त कुनै समस्या नै । केवल रमाइला क्षणहरु मात्र हुन्छन् । विगतमा बाल्यवस्थामा खेलिने लुकामारी, भेट्टाई, आसपास जस्ता खेलहरुले बच्चालाई मनोरञ्जन दिनेमात्र होइन, ती खेलमा गरिने क्रियाकलापले बच्चाहरुको शारीरिक व्यायाम पनि हुने गर्थ्यो । यीनै खेलहरुका कारण पहिलेका बच्चाहरु अहिलेको तुलनामा कम बिरामी हुने गर्दथे ।

तर अहिले समय परिवर्तन भएको छ । समयसँगै बच्चाहरुको खेल्ने तरिका पनि परिवर्तन भएको छ । बच्चाको खेलमा पनि आधुनिकीकरण आइसकेको छ । मोबाइल तथा टेलिभिजन नै बच्चाको संसार बनेको छ ।

रंग-विरंगका चित्रहरु, भिडियो गेमहरु जस्ता विशाल श्रृंखलाले बच्चालाई आफ्नो उमेरभन्दा ठूलो बनाइदिएको छ । जब कुनै बच्चाले मोबाइलमा गेम अथवा युट्युबमा केही हेर्न थाल्यो भने आफ्ना बच्चा ‘टेक्निकल गुरु’ बन्ने संकेत देखायो भनेर आमाबुबा दंग पर्छन्, जुन सरासर गलत कुरा हो । कहिले पनि आमाबुबाले आफ्ना बच्चाको गुणलाई मोबाइल वा रिमोटसँग दाँज्नु हुँदैन ।

आफूबाट थालनी गर्नुहोस्

बच्चाले त्यही कुरा सिक्छ जुन उसले आफ्नो वरपर देख्ने गर्छ । त्यसैले आमा-बुबाले जे गरेको देख्छ, त्यसैलाई पछ्याउँछ । यदी तपाईं बच्चाको अगाडि बसेर मोबाइल चलाउनु हुन्छ भने बच्चाले पनि मोबाइल चलाउन खोज्छ । यदि हामीले बच्चालाई मोबाइल चलाउन रोक्न खोज्यौं भने उसले हामीप्रति नकारात्मक सोच बनाउन थाल्छ । हामीले बच्चालाई जुन कुराको लागि धेरै रोक्न खोज्छौं, बच्चा त्यही कुरातर्फ बढी आकर्षित हुन्छ । त्यसैले सर्वप्रथम हामी बच्चाको लागि आदर्श बन्नु आवश्यक छ ।

बच्चालाई पार्क लैजानुहोस्

बच्चालाई साँझमा पार्क घुमाउन लैजाने बानी बसाल्नुहोस् । जसले बच्चाको मन खेलकुदतिर आकर्षित हुन थाल्छ । त्यसको साथै बच्चाले नयाँ साथी बनाउने मौका पाउँछ र हरियो वातावरणमा रमाउन थाल्छ । प्राकृतिक वातावरणको बारेमा उसलाई केही ज्ञान पनि हुनुको साथै नयाँ-नयाँ कुरा देख्न र सिक्न पाउँछ ।

हजुरबा र हजुरआमाको साथ

जस्तो किसिमको बाल्यावस्था हुन्छ, वृद्धावस्था पनि त्यस्तै हुन्छ । हजुरबा-आमाको साथ नाती-नातिनीको लागि अति नै रोमान्चक हुने गर्छ । हजुरबा-आमासँग समय बिताउँदा बच्चाहरुले आफ्नो संस्कृतिको बारेमा पनि धेरै कुरा जान्ने-बुझ्ने मौका पाउँछन् । बच्चाहरुले उनीहरुबाट कथाहरु सुन्न पाउँछन् र उनीहरुलाई हजुरबा-आमाको साथ रमाइलो पनि लाग्न थाल्छ ।

बच्चालाई व्यस्त राखौं

बच्चालाई कुनै न कुनै कुुरामा व्यस्त राख्नु पर्छ । उनीहरुलाई केही कुराको जिम्मेवारी दिनुहोस् र त्यसमा आफू पनि सहभागी हुनुहोस् । उनीहरुलाई पेन्टिङ, स्केटिङ, गायन, नृत्य जस्ता कुराहरुमा प्रोत्साहित गर्नुहोस् । जुन कुरामा तपाईंको बच्चालाई रुचि छ, त्यो कलामा उसलाई दक्ष बन्न सहयोग गर्नुहोस् ।

लोभ देखाउन हुँदैन

बच्चालाई कुनै पनि कुराको लोभ देखाउन हुँदैन । यति होमवर्क गर, त्यसपछि मोबाइल खेल्न दिन्छु अथवा भनेको काम गर, चक्लेट दिन्छु भन्ने जस्ता लोभले बच्चाको ध्यान त्यही कुराप्रति केन्दि्रत हुन्छ र उसलाई लोभको बानी बस्छ । यदि तपाईं कुनै काममा व्यस्त हुनुहुन्छ भने बच्चालाई खेल्नको लागि फोन नदिनुहोस्, उसलाई आफ्नो खेलौनामा नै व्यस्त गराउनुहोस् ।

यदि तपाईं आफ्नो बच्चालाई टेलिभिजनमा इतिहास अथवा जियोग्राफी च्यानलहरु देखाउन चाहानु हुन्छ भने तपाईं आफू पनि सँगै बसेर यी च्यानलहरु हेर्नुहोस् । फोनको लागि बच्चालाई गाली गर्ने अथवा पिट्ने नगर्नुहोस् । उसलाई मोबाइल फोन चलाउँदा कस्तो नोक्सान हुन्छ भन्ने कुरा सम्झाउनुहोस् ।

बच्चामा बढ्दो विरामी

बच्चाहरु डिप्रेशन, अनिद्रा, चिडचिडापन जस्ता मानसिक समस्याहरुबाट ग्रसित हुन थालेका छन् । यसबाहेक शारीरिक रोगहरु जस्तै- टाउको दुख्ने, खान मन नलाग्ने, आँखा कमजोर हुुने, आँखा दुख्ने र गर्धन दुख्ने जस्ता अनेक समस्याहरु पनि उत्पन्न भएका छन् । यी रोगहरु अत्याधुनिक ग्याजेटका कारण देखा पर्न थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment