Comments Add Comment

अदालतले रोक्यो सञ्जय दत्तको केजिएफ-२ को छायांकन

दक्षिण भारतीय फिल्मका सुपरस्टार यश तथा बलिउडका अभिनेता सञ्जय दत्तको फिल्म ‘केजीएफ-२’ प्रदर्शन हुनका लागि करिव दुई वर्ष बाँकी नै छ, यद्यपि यो एक बहुप्रतिक्षित चलचित्र हो ।

केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक भएको थियो, जसबाट के कुरा स्पष्ट भएको थियो भने फिल्ममा सञ्जय दत्त पनि मुख्य भूमिकामा छन् । ‘केजीएफ-२’ मा सञ्जय दत्तले अधीराको भूमिका निर्वाह गर्दैछन् । यसको पोस्टर पनि सञ्जय दत्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको थियो ।

फिल्म प्रदर्शन हुने दुई वर्षको समय बाँकी भए पनि दर्शकमाझ यो फिल्मले कौतुलहता सिर्जना गरिसकेको छ । खासगरी पोस्टरमा सञ्जय दत्तलाई देखेपछि दर्शकहरु उत्साहित भएका हुन् ।

यसैबीच, यी सबै राम्रा खबरहरुकाबीच फिल्मसंग सम्बन्धित एउटा नराम्रो खबर पनि भरखरै सार्वजनिक भएको छ । ईन्डिया टुडेको अंग्रेजी संस्करणमा प्रकाशित एउटा समाचार अनुसार ज्यूडीशियल मजिस्ट्रेट फर्स्ट क्लास कोर्टले फिल्मको छायांकन नै रोक्न आदेश दिएको छ ।

खबरका अनुसार फिल्मको छायांकन यतिबेला कोलर फील्डको साइनाइड हिलमा भैरहेको थियो, जसका कारण त्यहाँका स्थानिय वासिन्दाहरु वाक्क भएका थिए । स्थानिय वासिन्दाहरुले अदालतमा निवेदन दर्ता गराए । त्यसअघि अदालतले अन्तरिम आदेश जारी गर्दै फिल्मको छायांकन नै रोक्न लगायो ।

श्रीनिवासन नामका एक स्थानिय व्यक्तिले बताए अनुसार केजीएफको छायांकनका कारण उक्त क्षेत्रको वातावरण नै प्रभावित भैरहेको थियो, जसका कारण अदालतमा निवेदन गर्दा गराइएको थियो । अहिले अदालतले फिल्मका निर्माताहरुलाई फिल्मको छायांकन रोक्न आदेश दिएको छ । त्यसैले अहिले फिल्मको छायांकन रोकिएको छ ।

यसबारेमा फिल्मका निर्माताहरुले कुनै पनि प्रकारको प्रतिक्रिया दिएका छैनन् । यो मुद्दाको अन्तिम फैसला सेप्टेम्बर २३ मा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment