Comments Add Comment

१३ औं सागका लागि करातेका ३० खेलाडी छनोट

१२ भदौ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३० खेलाडी छनोट भएका छन् ।

नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार सागका लागि ३० खेलाडी छनोट गरेको हो । वैकल्पिक खेलाडीको रुपमा दुई जना छनोट गरिएको छ ।

कातामा दुई वैकल्पिकसहित १० खेलाडी तथा फाइटमा २० खेलाडी छनोट भएका हुन् ।

एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्ण पदक विजेता चञ्चला दनुवार छनोट भए । मन्डे टिम कातामा पनि छनोट भएका छन् ।

बिहीबार भएको छनोटमा मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । मन्डेले ३९ अंक प्राप्त गर्दा पर्शुरामले ३८ अंक पाएका थिए । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए । आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित गरिन् । उनी २०१४ मा भएको इन्चोन एसियाडमा छनोट भएर पनि खेल्न बाट वञ्चित बनेकी थिइन् ।

महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्की छनोट भइन् । कोपिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् ।

फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै छनोट भए । ६० केजीमा राजिव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जिते । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बागचन्द दोस्रो भए ।

७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजीमुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशील पौड्यालले रजत जित्दै १३ औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।

महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मिरा योन्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् । ६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment