Comments Add Comment

मन्त्रीको निर्देशनपछि सुन तस्करीमा मुछिएका खत्रीको काज फिर्ता

१६ भदौ, काठमाडौं । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ ।

आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए ।

एक्सरे मेसिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए ।

पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment