Comments Add Comment

‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’ भन्नुभयो’

१७ भदौ, काठमाडौं । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । चुनावको चहलपहल बढिसकेको छ ।

ओलम्पिक कमिटीको नेतृत्वका लागि श्रेष्ठद्वय नयाँ प्रतिस्पर्धी होइनन् । २०७२ सालको चुनावमा उमेशलाललाई आठ भोटले पराजित गरेर जीवनराम अध्यक्ष चुनिएका थिए । त्यसबेला जीवनरामले १७ मत पाएका थिए ।

त्यसको चार वर्षपछि फेरि अध्यक्ष पदका प्रत्यासी बनेका उमेशलालको प्यानलबाट महासचिवमा पुरेन्द्रविक्रम लाखे छन् भने जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ । प्यानलकै टुंगो लागिसके पनि अहिले नै घोषणा गर्न नसकिने उमेशलाल बताउँछन् ।

ओलम्पिक कमिटी अहिलेसम्म पारदर्शी नभएको, संस्थागत रुपमा नचलेको, अध्यक्ष र महासचिवमा असीमित अधिकार भएको बताउने उमेशलाल श्रेष्ठले संस्थालाई विधानअनुसार पारदर्शी बनाउने एजेण्डा बोकेका छन् । यसअघि दुई कार्यकाल उपाध्यक्ष भएका उनीसँग अललाइनखबरकर्मी सरोज तामाङले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको प्यानल टुंगो लागिसकेको हो ?

मेरो प्यानल तयार छ । घोषणा नै गरेको चाहिँ अध्यक्षमा म र महासचिवमा पुरेन्द्रविक्रम लाखे हो । प्यानल बनिसकेपनि अहिले घोषणा गर्ने पक्षमा छैन । यहाँ धेरै कुरा हुन्छ, त्यसैले अहिल्यै सबै घोषणा गर्नु उपयुक्त नहोला ।

उद्योग वाणिज्य महासंघको भावी अध्यक्षको लाइनको मान्छे किन ओलम्पिक कमिटीमा लड्दै हुनुहुन्छ ?

खेलकुद स्वास्थका लागि खेलिने भएपनि नेपाली खेलकुद स्वस्थ छैन । नेपाली खेलकुद आफैंमा अपारदर्शी छ । म र पुरेन्द्र यसमा परिवर्तन चाहन्छौं ।

म नेपाल ओलम्पिक कमिटीमा आठ वर्ष उपाध्यक्ष भएँ, त्यसअघि सदस्य थिए । आठ वर्षमा मैले न कसैले बजेट पेस गरेको देखेँ, न त वार्षिक खर्च विवरण । उपाध्यक्ष भएर पारदर्शीता हुनुपर्‍यो भनिरहेँ, तर न कमिटीको आम्दानी विवरण देख्न पाएँ, न त खर्चको हिसाब । हुँदा हुँदा मेरो नाम नै ‘मिस्टर ट्रान्सपरेन्सी’ राखियो । म नबोल्दा अध्यक्षले ‘मिस्टर ट्रान्सपरेन्सी’ बोल्नु भएन नि भन्ने ।

नेपाल ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय संस्था भएपनि यसले देशको कानुन मान्नुपर्छ भनेर ओलम्पिक चार्टरमा लेखिएको छ । देशको आधिकारिक संस्थासँग मिलेर काम गर्नुपर्छ भन्ने छ, तर नेपाल ओलम्पिक कमिटीले आफूलाई जहिल्यै राष्ट्रिय खेलकुद परिषदको विपक्षमा उभ्यायो । यसलाई म गलत मान्छु ।

हाम्रो काम भनेको अन्तर्राष्ट्रिय व्यवस्थापन र प्रतिभावान युवा खेलाडीहरुलाई सहयोग गर्ने हो । खेल संघहरुलाई प्राविधिकलगायतका सहयोग गर्ने हो । यसमा आउने सबै सहयोग पारदर्शी हुनुपर्छ । यसका लागि आएको एक पैसा पनि बर्बाद गर्नु हुन्न ।

यसबाट कमाउनु हुन्न, भाइभतिजालाई विदेश पठाएर, भोजभतेर गरेर सक्नु हुन्न भन्ने मेरो स्पष्ट मान्यता छ । यी काम गर्ने हो भने ओलम्पिक कमिटीको नेतृत्वमा जो आएपनि मलाई आपत्ति छैन ।

हो, म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुने लाइनमा छु । ओलम्पिकमा त बाध्यताले आएको हुँ । आफैं खेलाडी भएकाले यसमा मेरो बढी भावनात्मक लगाव पनि छ ।

संस्था पारदर्शी नहुनुमा आठ वर्ष उपाध्यक्ष रहेको तपाईं पनि त जिम्मेवार हुनुहुन्छ नि होइन ?

उपाध्यक्ष पद नाम मात्रको हो । सबै अधिकार अध्यक्ष र महासचिवमा छ । मैले निरन्तर प्रश्न उठाउँदा मेरो नाम ‘मिस्टर ट्रान्सपरेन्सी’ राखियो, तर केही सुधार गरिएन ।

म अध्यक्ष भएँ भने उपाध्यक्षलाई काम दिन्छु । बैठकमा उपस्थित मात्र होइन, सबैलाई उत्तिकै जिम्मेवारी दिन्छु । म एक कार्यकाल मात्र काम गर्छु र एउटा छाप छोडेर जान्छु । त्यसपछि उपाध्यक्ष, महासचिव राम्रो कामको प्रतिस्पर्धा गरेर आउन सक्छन् ।

ओलम्पिक कमिटीले आफ्नो आय-व्ययचाहिँ किन देखाउँदैन ?

त्यसको जवाफ म दिन सक्दिनँ । त्यति धेरै त होइन, वार्षिक ७-८ करोड बजेट आउँछ रे । यति खाएर कसैलाई पुग्ने पनि होइन क्यारे । तर संसारमै नभएको नियम यहाँ हुन्छ । चेक कोषाध्यक्षको साथमा हुन्छ, तर उसको हस्ताक्षर चाहिँदैन । महासचिव लामा टेण्डी लेख्न सक्नुहुन्न, बोल्न सक्नुहुन्न । भनेपछि चेकमा कसले हस्ताक्षर गर्दैछ ? संस्था यसरी पनि चल्दो रहेछ !

फेरि पनि जीवनराम श्रेष्ठसँगै प्रतिस्पर्धामा हुनुहुन्छ । कत्तिको सजग हुनुहुन्छ ?

अघिल्लो चुनावताका जीवनजी मलाई भेट्न आउनुभएको थियो । संस्थालाई फरक ढंगले अगाडि बढाउनुपर्छ भन्दा जसरी चलिरहेको छ त्यसरी नै चल्छ भन्नुभयो । चर्काचर्की भयो । झोंकैझोंकमा महासचिव होइन, अध्यक्षमा उठ्छु भनेर उठेको थिएँ । तयारी गर्न जम्मा १५ दिन समय थियो, त्यो बेला ।

चुनावमा उठिसकेपछि कि जितिन्छ, कि हारिन्छ । त्यो बेला सबभन्दा पहिले मैले जीवनजीलाई हात मिलाएर बधाई दिएको थिएँ । यो पटक उहाँले मलाई त्यसो गर्नुहुन्छ । म हारसँग डराउँदिनँ, जिते पनि मात्तिदैनँ ।

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीमा केही सुधार पाउनु भएन त ?

उहाँको कार्यकालमा एउटा गाडी किनेको देखेँ । भोलेन्टरी संस्थामा कसैले गाडी किनेर चढ्न मिल्छ ? खेल र खेलाडीका लागि आएको पैसाले गाडी किनेर, ड्राइभर राखेर चढ्न हुन्छ ? उपलब्धी त केही पनि देखिएन ।

तपाईंले चुनाव जित्नुभयो भने ओलम्पिक कमिटीमा के-के परिवर्तन देख्न पाइन्छ ?

सबभन्दा पहिले म नेपाल ओलम्पिक कमिटीलाई खुला किताब बनाउँछु । संस्थामा जति गतिविधि हुन्छ, सबै पारदर्शी हुन्छ । निर्णयहरु कोठे छलफलबाट होइन, सामूहिक तवरले हुन्छ ।

त्यसपछि आयो पैसाको कुरा । सबै बजेट सार्वजनिक गर्छौं । नाफा र घाटा त हुँदैन त्यहाँ । आएको जति सबै खर्च हुन्छ । अलिकति बचत भए ठीकै छ ।

म उद्योग क्षेत्रको मान्छे । २७ वटा खेल संघलाई प्रायोजकको व्यवस्था गर्न सक्छु । वार्षिक पाँच लाखदेखि नौ लाखसम्म प्रायोजन गर्ने संस्था खोजिसकेको पनि छु । आर्थिक अभाव झेलिरहेका खेल संघहरुलाई हामीले व्यवसायिक बनाउनै पर्छ ।

यो पनि पढ्नुहोस पुष्पलाल र सहानाका छोरा कसरी बने अब्बल व्यवसायी

खेलाडीहरुलाई जीवनयापन गर्न राम्रो वातावरण बनाउनु पर्छ । खेल जीवन सकिएपछि खेलाडीले अब म के गर्ने भनेर सोच्नु नपरोस् । खेलकुद विश्वविद्यालय खोल्नुपर्छ । यसका लागि नेपाल ओलम्पिक कमिटीले सरकारसँग समन्वय गर्नुपर्छ ।

संघलाई व्यावसायिक र खेलाडीलाई राम्रो व्यवस्था गर्ने योजना सुनाइरहनु भएको छ, तर तपाईं अध्यक्ष रहेको नेपाल हक्की संघको विजोग नै छ नि ?

हक्कीको अन्तर्राष्ट्रिय नियम परिवर्तन भएकाले म अध्यक्ष भएर हक्कीमा केही गर्न सक्दिनँ । पहिले त राम्रै थियो । नियम परिवर्तन भएर एस्ट्रो टर्फमा खेल्नु पर्ने भयो, तर त्यो नेपाल सरकारले नकिन्ने भयो ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक पुष्पलालको छोरो, मैले राजनीति नगरेको मात्रै हो । मेरी आमा अन्तिम समयसम्म राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले सबैसँग मेरो सम्बन्ध राम्रो छ, तर ज्यू हजुरी गर्दिनँ

भारतीय हक्की संघले एउटा एस्ट्रो टर्फ दिने भएको थियो, तर नेपाल सरकारले दुई वर्षमा त्यसका लागि जग्गासमेत उपलब्ध गराएन ।

अर्को कुरा हक्की अलिक महंगो खेल पनि हो । हामीले हक्की घाँसमा खेल्यौं । अहिले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता घाँसे मैदानमा गर्न पाइँदैन । हामी एस्ट्रो टर्फ ल्याउन सक्दैनौं ।

नेपाल ओलम्पिक कमिटीमा त्यस्तो के छ आकर्षण, जसले गर्दा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव भइसकेका व्यक्तिहरु आइरहेका छन् ?

काजु, किसमिस, मेवा छ कि ? खै मैले त केही देखिनँ । सबैको आ-आफ्नो इच्छा हो ।

व्यक्तिगत रुपमा मलाई के लाग्छ भने नेपाली खेलकुदको बागडोर सम्हालिसकेका मान्छेले अलिकति त्यो पदको मर्यादाको पनि ख्याल गर्नु पर्छ ।

ओलम्पिक कमिटीको चुनावमा पार्टीहरुको पनि ठूलै चलखेल हुन्छ होइन ?

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक पुष्पलालको छोरो, मैले राजनीति नगरेको मात्रै हो । मेरी आमा अन्तिम समयसम्म राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले सबैसँग मेरो सम्बन्ध राम्रो छ, तर ज्यू हजुरी गर्दिनँ । अघिल्लो चुनावमा पनि गरिनँ, अब पनि गर्दिनँ ।

मलाई के लाग्छ भने कोही पनि ठूलो व्यक्तिको हातमा कालो लाग्नु हुँदैन । सक्षम मान्छे लाग्छ भने उहाँहरुले मलाई सहयोग गर्न सक्नुहुन्छ, म स्वीकार गर्छु ।

हरेक पटक सरकार परिवर्तनसँगै नेपाल आलम्पिक कमिटीमा विवाद ब्युँतिने गर्छ र बिस्तारै सेलाएर जान्छ । यस्तो किन भइरहेको छ ?

तीन वर्षसम्म त भएन नि (हाँसो…) । ओलम्पिक कमिटीले अलि प्रष्ट्याउन नसकेको जस्तो लाग्छ । अदालतमा हामीले आफ्नो मुद्दा दह्रो रुपमा राख्न नसकेको हो । हाम्रा वकिलहरुले पनि मुद्दालाई गतिलो ढंगले पेश गर्न सकेनन् ।

चुनावमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक कमिटी अफ एसियाबाट प्रतिनिधि आउँछन् । उनीहरुले प्रमाणित गरेपछि हामी आउँछौं । कसैलाई चित्त बुझेन भन्दैमा अदालत जानैपर्छ जस्तो लाग्दैन ।

नेपालमा अर्को समस्या के छ भने यो कुर्सी मेरालागि बनेको हो, यसमा म बाँचुन्जेल बस्नु पर्छ भन्ने मानसिकता छ । अहिले जीवनराम जी त्यही गर्दै हुनुहुन्छ । उहाँले १२ वर्ष राज गर्नुभयो, बाँकी चार वर्ष किन नखाने भन्ने लागेको होला ।

फोटो र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment