Comments Add Comment

चितवनमा डेंगु र स्क्रवटाइफसको आतङ्क, ४ जनाको मृत्यु

१७ भदौ, चितवन । चितवनमा पछिल्लो समयमा फैलिएको डेंगु र स्क्रवटाइफसका कारण ४ जनाको मृत्यु भैसकेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार डेंगु र स्क्रबटाइफसबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा ३ र पुरानो मेडिकल कलेजमा १ सहित ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

चिकित्सकहरुले यसलाई डेंगुु र स्क्रवटाइफसको आतङ्कको संज्ञा दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका नगरपालिका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेजमा र अन्य तीन जनाको डेंगुका कारणले चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका क्षेत्रमा डेंगुको संक्रमण अति उच्च देखिएको चिकित्सकहरुले बताएका छन् । वडा २,३ र ४ नम्वर क्षेत्रमा डेंगु प्रभावितहरुको संख्या अधिक रहेको उनीहरुले बताएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा साउन यता १ हजार ९ सय ८ जना विरामीमा डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण भेटिएको छ । डेंगुको संक्रमित मध्ये ४५५ जना चितवनका रहेका छन् । चितवन भित्रका मध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकका विरामी रहेका छन् । स्क्रबटाइफसका बिरामीको तथ्यांक भने संकलन गर्ने क्रम जारी नै छ ।

महानगरमा डेंगुको संक्रमणको दर अधिक भएपछि गरिएका जनचेतनामूलक कार्यक्रम त्यति प्रभावकारी बन्न सकेको छैन । दैनिक माइकिङ गर्ने, लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरको दावी छ । ज्वरोसँगै फैंलिएको डेंगु र स्क्रवटाइफसका कारण जिल्लाका अधिकांश सरकारी तथा नीजि अस्पतालहरु भरिएका छन् । भरतपुर अस्पतालको आकस्मिक कक्षमा दुई जना र भुँईमा समेत विरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले डेंगु नियन्त्रणका लागि महानगरले सरसफाई र प्रचारात्मक कार्यक्रम गरिरहेको बताइन् । डेंगु परीक्षणका लागि भरतपुर अस्पतालमा किटको अभाव भएको भन्ने समाचारहरु बाहिर आइरहेको सन्र्दभमा महानगरले एक हजार कीट तत्काल सहयोग गर्ने आश्वासन मेयर दाहालले दिएकी छिन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. श्रीराम तिवारीले ६८२ जनाको निःशुल्क रुपमा डेंगु परीक्षण गरिएको जानकारी दिए । उनले अस्पतालमा कीट स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको भएपनि बिरामीको मागअनुुसार उपलब्ध नभएको गुनासो गरे ।

चिकित्सक भन्छन् : डेंगु दोहोरिए खतरा

एकपटक डेंगु भैसकेको व्यक्तिलाई दोस्रो वा तेस्रोपटक डेंगुको संक्रमण देखिएमा त्यो खतरनाक हुने चिकित्सकहरुले बताएका छन् ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले अहिले जिल्लाका अस्पतालहरुमा डेंगुका कारण मृत्यु हुनेहरु पहिला पनि डेंगुको संक्रमित भएको हुनुपर्ने बताए । ‘एकपटक डेंगु भएर निको भैसकेपछि दोस्रो तेस्रो वा चौथौ पटक डेंगु हुनु सबैभन्दा खतरनाक हुन्छ ।’ डा. अधिकारीले भने, ‘चितवनमा आगामी वर्ष पनि डेंगु हुँदा मृत्युदर बढ्न सक्ने देखिन्छ ।’ अहिले संक्रमित भएकाहरुलाई फेरी डेंगु भएमा त्यसमा विषेश सावधानी अपनाउनु पर्ने डा. अधिकारीको सुझाव छ । एक व्यक्तिलाई पाँच पटकसम्म डेंगुको संक्रमण हुन सक्छ । डा. अधिकारीले डेंगुबाट वच्न लामुखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताए ।

हालसम्म विश्वका १२८ वटा देशमा डेँगुको प्रकोप फैलिसकेको छ । विश्वमा प्रत्येक वर्ष ३९ करोड व्यक्ति यसबाट प्रभावित हुने देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment