
१७ भदौ, काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातभन्दा निर्यात व्यापारको वृद्धिदर उच्च देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा आयातको वृद्धिदर गत आव २०७५/७६ को साउन महिनाको तुलनामा खस्किएको छ ।
चालु आवको साउन महिनामा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान विदेशबाट मुलुकमा भित्रियो । अघिल्लो आवमा १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको सामान भित्रिएको थियो । गत वर्षको तुलनामा यस वर्ष ११.५१ प्रतिशतले कम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
रकम थोरै भए पनि निर्यात व्यापारको वृद्धिदर भने उत्साहजनक रहेको छ । एक महिनाको अवधिमा नेपालले ८ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आवको यसै अवधिमा नेपालको निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबरको रहेको थियो ।
आयातको वृद्धिदर खस्किएसँगै आव २०७५/७६ को तुलनामा आव २०७६/७७ को साउनमा व्यापार घाटा केही कम भएको छ । तथ्यांक अनुसार यस महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँको रहेको छ । अघिल्लो वर्ष साउनमा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा रहेको थियो । व्यापार घाटा गत आव, साउनको तुलनामा १३.९० प्रतिशतले सुधार भएको तथ्यांकले देखाएको छ ।
आयातमा देखिएको मन्दीले कूल वैदेशिक व्यापारको आकारमा समेत कमी आएको छ । तथ्यांक अनुसार साउनमा १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको साउनमा १ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको कूल वैदेशिक व्यापार भएको थियो ।
साउन महिनाको वैदेशिक व्यापार
आयात : १ खर्ब ६ अर्ब ७२ करोड
निर्यात : ८ अर्ब ८३ करोड ७० लाख
व्यापार घाटा : ९७ अर्ब ८८ करोड ८२ लाख
कूल वैदेशिक व्यापार : १ खर्ब १५ अर्ब ५६ करोड
कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ७.६ प्रतिशत
कूल वैदेशिक व्यापारमा आयातको हिस्सा : ९२.४ प्रतिशत
प्रतिक्रिया 4