१७ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो ।
आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल नेपाल आयात भएको भन्सार विभागले जनाएको छ । अर्थात् गत वर्ष ५ अर्ब ६० करोड रुपैयाँ कम रकम मोबाइलका लागि विदेशीएको छ ।
विभागका अनुसार मोबाइल आयात घट्दा पनि राजस्व भने बढेको छ । आव २०७४/७५ मा मोबाइलबाट सरकारले ३ अर्ब ३८ करोडको भन्सार राजस्व उठाएकोमा गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ उठेको छ । आयात ३१ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजस्व ४ प्रतिशतले बढ्नुको कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको प्रावधान हटाउनु हो ।
आव २०७४/७५ सम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने प्रवन्ध गरे । यसका कारण राजश्व केही बढेको भन्सार विभागका एक अधिकारीले बताए ।
‘विगतका वर्षहरुमा नेपालमा चीनसहित तेस्रो मुलुकबाट महंगो मूल्यको मोबाइल भित्र्याएर भ्याट फिर्ताको दाबी गरिन्थ्यो,’ ती अधिकारी भन्छन्, ‘त्यही मोबाइल फेरि सीमावर्ती भारतका बजारमा पठाउँदा हामीलाई नोक्सानी बढी थियो ।’
अहिले यो प्रवृत्ति नियन्त्रणमा आएको भन्सार अधिकारीहरुको दाबी छ । भ्याट फिर्ता सुविधा नपाउने भएपछि नेपालमा विक्रीका लागि मात्रै मोबाइल भित्रिन थालेको राजस्व अधिकारीहरु बताउँछन् ।
ब्यापारीहरु भने यो दाबी स्वीकार्दैनन् । मोबाइल महंगो भएका कारण उपभोक्ताले किन्ने क्रम घटेको उनीहरुको भनाइ छ ।
नेपालमा आवश्यक मोबाइल पनि तस्करी भएर भारत लगायतका देशबाट आउन थालेको तर्क गर्छन् मोबाइल आयातकर्ता समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका ।
‘मोबाइल महंगिएपछि ‘ग्रे मार्केट’ बाट नेपालमा तस्करी हुन थालेको छ, यसले गर्दा भन्सार छलेर मोबाइल भित्र्याउने क्रम बढेको छ,’ मुरारका भन्छन्, ‘मोबाइलको तस्करी रोक्न भ्याट फिर्ताको प्रावधान फेरि राख्नुपर्ने देखिन्छ ।’
आईएमईआई नम्बरबाट अवैध मोबाइल नियन्त्रण गर्ने प्रविधि ल्याउने बताएपछि कार्यान्वयन नभएको उनले बताए । सरकारले अवैध रुपमा भित्रिएका मोबाइललाई निस्कृय गर्न सकिने गरी डिभाइस म्यानजमेन्ट सिस्टम जडान गर्न खोजेको दुई वर्ष बढी भएको छ । तर, अझै पनि काम भएको छैन ।
यसले गर्दा मोबाइलको अवैध आयात बढेको दाबी ब्यापारीहरुको छ । सरकार भने पछिल्लो समयमा त्यस्तो अवैध आयात रोकिएर बजारमा वैध मोबाइल बिक्री बढेको दाबी गर्छ ।
नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत बैंकिङ क्षेत्रमा आएको तरलता संकटका कारण व्यवसायीले स्टकमा कम रहने गरी मोबाइल भित्र्याउँदा आयात घटेको बताए ।
‘विगतमा स्टक धेरै राख्ने गरी आयात गरिन्थ्यो, अहिले ऋण लिन सहज नभएकाले थोरै मात्रै स्टकमा राख्ने गरी आयात हुन्छ,’ उनी भन्छन्, ‘बजारमा मोबाइलको माग र विक्री घटेको छैन ।’
यस्तै भारतीय ब्रान्डहरु पछिल्लो वर्षमा नेपाल आयात हुन छाडेका छन् । कतिपयको त उत्पादन नै बन्द भएका छन् । ती ब्रान्डहरु नेपालबाट हराउँदा पनि यस्तो अवस्था आएको उनको टिप्पणी छ ।
आयात घट्दा बजारमा त्यसको कुनै असर नपरेको भन्दै सरकारले भ्याट फिर्ताको प्रावधान हटाउँदा मोबाइल सेट पनि नमहंगिएको दावी गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4