+
+
Shares

आईओएमको ताला प्रहरीले खुलायो, एमबीबीएसको प्रवेश परीक्षा २१ गते नै

'७५ प्रतिशत नि:शुल्क छात्रवृत्तिको व्यवस्था  यसै वर्षदेखि'

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १४:००

१८ भदौ, काठमाडौं । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ । ताला खोलिएसँगै एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने शिक्षा मन्त्रालयले जनाएको छ । एमबीबीएसको प्रवेश परीक्षा आगामी २१ गते तोकिएको छ ।

प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

७५ प्रतिशत नि:शुल्क छात्रवृत्तिको व्यवस्था  यसै वर्षदेखि लागू गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन्

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो । मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार ऐनमा व्यवस्था भएबमोजिम चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त गर्ने, चिकित्सा शिक्षा नियमावली तर्जुमा गर्नेलगायतका कामका लागि प्रक्रिया अघि बढेका छन् ।

चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरे पनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने अवस्था भए पनि ७५ प्रतिशत नि:शुल्क छात्रवृत्तिको व्यवस्था  यसै वर्षदेखि लागू गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसैगरी ऐनको दफा १७ को उपदफा ५ र ७ आपसमा बाझिने खालको भएकाले पनि तत्काल कार्यान्वयनमा कठिनाइ भएको एक अधिकारीले बताए । उनले भने, ‘चिकित्सा शिक्षा ऐनअन्तर्गत चिकित्सा शिक्षा आयोग नबने पनि, ऐन कार्यान्वयनका लागि नियमावली नबने पनि र ऐनमा छात्रवृत्तिको व्यवस्था तोके बमोजिम हुने छ भनेर लेखिए पनि आजै लागू गर् भनेर लागू गर्न सक्ने अवस्था छैन । त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्दै जानुपर्ने हुन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?