Comments Add Comment

ईयूसहित ४ दाताले नेपाललाई ११ अर्ब ४० करोड अनुदान दिने

१८ भदौ, काठमाडौं । यूरोपेली यूनियन (ईयु)सहित स्वीट्जरल्याण्ड, नर्वे र बेलायतले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएका छन् । बुधबार अर्थ मन्त्रालयमा यस सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

संयुक्त वित्तीय सम्झौतामा उल्लेख सहायता रकम जुलाई २०१९/२० देखि जुलाई २०२२/३३ को बीचमा प्राप्त भइसक्ने अर्थ मन्त्रालयले जनाएको छ । यो रकम प्रदेश र स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने बताइएको छ । यसअन्तर्गत आविष्कार तथा साझेदारी कोष, स्थानीय नीति निर्माण, रणनीति, मापदण्ड, संरचनागत विकास, सुत्र प्रणालीको कार्यान्वयनजस्ता क्षेत्रमा खर्च हुने अर्थ मन्त्रालयको भनाइ छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डीएफआइडी) का स्थायी म्याथ्यू जन रेक्रफ्ट, नेपालका लागि नर्वेका राजदूत लासी जोहान्सेन र स्वीस राजदूत एलिजावेथ क्यापलर तथा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यूरोपेली यूनियन र अर्थ मन्त्रालयबीच भने अर्को सम्झौता हुने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment