Comments Add Comment

प्राचीन बस्तीको पुनर्निर्माण र स्मार्ट सिटीमा कोरियाले सहयोग गर्ने

२० भदौ, सियोल । भूकम्पले भत्काएका काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।

यस विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनबीच सियोलमा बिहिबार समझदारीपत्रमा हस्ताक्षर भयो ।

ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट सिटी बनाउनका लागि यो समझदारी भएको हो ।

समझदारी अनुसार पहिलो चरणमा कर्पोरेसनले साँखु, बुङ्मती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ ।

यस्तै सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरहरुको विकासका लागि कोसेढुङ्गा सावित हुने बताए ।

कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कीमले कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाएको भन्दै खुशी व्यक्त गरे ।

समझदारीपत्रमा नेपालका तर्फबाट पुनर्निर्माण प्राधिकरण केन्द्री य आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन् ।

सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसन सियोल महानगरपालिका अन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फास्ट्रक्चर कोअपरेसन कन्फ्रन्समा नेपालको पुनर्निर्माणको भावी कार्ययोजना र अन्तराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधारहरु निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकहरुका बीच सहकार्य गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment