Comments Add Comment

घरमा सजिलै बनाउन सकिन्छ आटाको ग्रीन मम

मम सर्वप्रिय परिकार हो । आयतित परिकार भएपनि यसले हाम्रो जिब्रोलाई लोभ्याइसकेको छ । त्यसैले त खाजा के खाने भन्नसाथ हाम्रो मुखबाट फुत्किहाल्छ, मम ।

तिब्बतको रैथाने परिकार हो मम । भनिन्छ, त्यहाँ ममलाई ‘मोहमोः’ भन्ने गरिन्छ । पछि त्यही शब्द अपभ्रंश भएर हामीकहाँ आइपुग्दा मम हुनपुगेको हो । जसरी मोहमोबाट मम भयो, यसैगरी यसको स्वाद र शैलीमा पनि विविधता आएको छ । अहिले रेष्टुरेन्टको मेनुमा थरीथरीका मम पाउन सकिन्छ । स्टिम ममदेखि सि ममसम्म । ममकै परिकारलाई थप परिमार्जन गर्दै त्यसमा स्वाद थप्ने काम भएको छ ।

मम खासमा मैदाबाट बनाइन्छ । मम त हामीलाई मन पर्छ, तर मैदा चाहि स्वास्थ्यका लागि त्यती राम्रो मानिदैन । यस्तो अवस्थामा ममको तलतल पनि मेट्ने, स्वास्थ्यलाई पनि हानी नगर्ने उपाय के होला ?

यसको सरल उपाय हो, आटाको मम ।

तर, कुन रेष्टुरेन्ट होला जहाँ आटाको मम पाइन्छ । यस्तो रेष्टुरेन्ट बिरलै होलान् । रेष्टुरेन्टको मम महंगो हुन्छ, त्यती स्वस्थ्यकर पनि हुँदैन । रेष्टुरेन्टमा गएर मम खानुभन्दा घरमै बनाउनु उत्तम हो ।

खासमा मम बनाउनु भनेको एक किसिमको सानोतिनो पारिवारिक उत्सव मनाउनु जस्तै पनि हो । सबै मिलेर मम बनाउन रमाइलो हुन्छ । खान उत्तिकै स्वादिलो । त्यसो भए कसरी बनाउने त आटाको ग्रीन मम ?

आवश्यक सामाग्री

हामीले यस ममलाई स्वास्थ्यकर र स्वादिलो मात्र होइन, हेर्दा आकर्षक पनि बनाउने प्रयास गरेका छौं । हेर्दा आकर्षक देखिएमा बालबालिकाले पनि रुचाउँछन् । यसका लागि के-के आवश्यक पर्छ त ?

१. आटा

२. सोयाबिन, लौका, इस्कुस, चम्सुरको साग।

३. लसुन, अदुवाको पेस्ट

४. हरियो धनिया

५. नौनी घिउ

कसरी तयार गर्ने ?

– लौका र इस्कुसलाई सफा गरेर कोरेसो गर्ने । त्यसमा नुन राखेर पाँच मिनेट जति त्यतीकै छाड्ने ।
– सोयाबिनलाई पानीमा पाँच मिनेट जति भिजाउने र मिक्सचरमा राखेर पिस्ने ।
– अब प्याजलाई स-सना आकारमा काट्ने ।
– हरियो धनिया पनि काट्ने ।

अब इस्कुस, लौका र सोयाबिनलाई एउटा भाँडोमा राख्ने । त्यसमा काटेको प्याज, हरियो धनिया, अदुवा र लसुनको पेस्ट राख्ने । स्वाद अनुसार नुन मिसाउने । त्यसमा थोरै नौनी घिउ राखेर राम्ररी मुछ्ने ।

अब एउटा सानो कराहीमा थोरै सोयाबिन तेल तताउने । उक्त तेल किमामा मिसाउने र पुन राम्ररी मोल्ने । अब आटाको लागि तयारी गर्ने । चम्सुरको सागलाई मिक्चरमा पिस्ने र उक्त पेस्ट आटामा मिसाएर मुछ्ने ।

आटा अब हरियो रंगको देखिन्छ । यसलाई स-सना रोटी जस्तै बेलेर त्यसभित्र किमा राखी ममको आकारमा राख्ने । अब उक्त ममलाई ममको भाँडोमा स्टिम गर्ने । मम पाकेपछि धनिया र गोलभेडाको अचार वा आफ्नो स्वाद अनुसार कुनैपनि अचारसँग सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment