Comments Add Comment

सुपथ मूल्यको पसलमा उपभोक्ताको गुनासो – मूल्य सुपथ भएन !

२३ भदौ, काठमाडौं । सिंहदरबारस्थित बग्गीखानामा सोमबार सुपथ मूल्य पसल सञ्चालनमा आएको सुनेर ठूलै झोला बोकेर पुगे बैजनाथ रौनियार । तर, सामानको मूल्य सुनेपछि भने उनले आफ्नो झोला भर्ने जाँगर गरिनन् ।

उपभोग्य सामानहरुमा आफूले सोचेजस्तो छुट नपाएको उनले बताए । साथै खोजेको सामान पनि नपाएको रौनियारको गुनासो थियो ।

‘मलाई ५ केजीको चामल लैजानु थियो, तर १० केजी घटीको चामलको प्याक नै भेटिनँ,’ उनी भन्दै थिए ।

रौनियार मात्रै हैन, सुपथ मूल्यको पसलमा पुगेका धेरै उपभोक्ता छुट भनेर राखिएका सामानको मूल्यमा सन्तुष्ट देखिएनन् । सरकारले हल्ला गरेअनुसार उपभोक्तालाई राहत नदिएको उनीहरुले गुनासो गरे । पसलमा राखिएका सामानको प्याकेजिङ विविधिकरण पनि नगरिएकाले आफ्नो आवश्यक्ताअनुसार सामान किन्न अप्ठेरो परेको पनि उनीहरुको भनइ थियो ।

‘गोरखनाथ ब्रान्डको चामलमा छुट नै रहेनछ,’ पसलमा भेटिएका डोरमणि आचार्यले भने, ‘डीडीसीको बुथमा किन्दा र यहाँ किन्दा एउटै मूल्य रहेछ । सुपथ भनेपछि त सबै सामानमा केही छुट गर्नुपर्ने हो ।’

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले आफ्नो बुथमा कर्णालीको सिमी १२०, कर्णालीको फापर ७०, जापानिज चामल ६१, अरुवा जिरो मसिनो ५० र अरुवा बासमति चामल ७३ रुपैयाँ किलोमा बेचिरहेको छ । यस्ता सामानमा ५ देखि १० रुपैयाँ प्रतिकेजी छुट दिइएको छ ।

कम्पनीले इन्डक्सन चुल्हो पनि विक्रीमा राखेको छ । यसको मूल्य ४ हजार रुपैयाँ राखिएको छ । साल्ट ट्रेडिङले राखेका समानमा पनि प्रतिकेजी २ देखि १० रुपैयाँसम्म छुट दिइएको छ । तर, उपभोक्ताहरुले भने यो मूल्यमा चित्त बुझाएका छैनन् ।

पसलमा आएकी रुक्मिणी दवाडीले चाडबाडको बेला सुपथ मूल्यको पसल सञ्चालन गर्नु राम्रो भए पनि पसलमा राखिएका सामानको मूल्य भने आफूले सोचेभन्दा बढी रहेको बताइन् ।

‘डीडीसीले आफ्नो ५० औं वार्षिकोत्सवको लागि भनेर सामानामा छुट दिएको छ । त्यही छुटलाई यहाँ पनि सुपथकै नाम राखेर बेचिँदै रहेछ,’ उनले भनिन्, ‘कतिपय सामानको मूल्य बाहिर बजारको जस्तै छ । उपभोक्तालाई टाढाबाट सुपथ पसलमा धाउनुपर्ने अवस्था किन रह्यो र ?’

साल्ट ट्रेडिङ, खाद्य कम्पनी र डीडीसीका बुथमा खटिएका कर्मचारी भने धेरै छुट दिन सक्ने अवस्था नरहेको बताउँछन् । सरकारले गरेको निर्णयअनुसार नै छुट सुविधा दिइएको उनीहरुको भनाइ छ ।

सरकारले दशैं, तिहार र छठ पर्वका लागि देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसलहरु सञ्चालन गरेका छन्, जसमध्ये काठमाडौंमा ३ वटा घुम्ती पसल पनि छन् । गाडीमा नै सामान लिएर घर–घर पुगेर बिक्री गर्ने प्रवन्ध गरिएको छ ।

वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्दैछन् ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायतका स्थानमा ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्ने छ । उपत्यकाबाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन हुनेछ । उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आएका छन् ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गरेका छन् । दुग्ध विकास संस्थानले पनि काठमाडौं उपत्यकामा ४ र काठमाडौं बाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेका छन् । यसपटक कात्तिक १६ गते छठको दिनसम्म यस्ता सहुलियत पसल सञ्चालनमा ल्याइने छन् ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा दिने व्यवस्था मिलाइएको दावी सरकारको छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ तथा च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ । डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने भनिएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment