Comments Add Comment

प्रेममा डुबेका गाउँपालिका अध्यक्षलाई फेसबुकले फसायो

श्रीमतीले बहुविवाहको मुद्दा हालेपछि गौमुखीका अध्यक्ष पक्राउ

२३ भदौ, काठमाडौं । प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ । दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् ।

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो । प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् ।

त्यसपछि प्रहरीले सुरुमा युवतीलाई हिरासतमा लियो । तर, विष्णु फरार रहेको भन्दै प्रहरीले उनीविरुद्ध वारेन्ट जारी ग¥यो र मातहतका सबै प्रहरी युनिटमा उनलाई पक्राउ गर्न सर्कुलर ग¥यो । त्यसको केही दिनपछि आइतबार साँझ (भदौ २२ गते) गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगे ।

प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, ‘उहाँ (विष्णु गिरी) साँझ सम्पर्कमा आउनुभएको छ, अनुसन्धानका लागि हिरासतमा लिएका छौं ।’

व्यवहारमा बेग्लै, कागजमा सँगै !

गौमुखी गाउँपालिका–४ पूजा निवासी अध्यक्ष गिरीका श्रीमती र दुई छोरीहरु छन् । दुई छोरी जन्मेपछि गिरीले बन्ध्याकरण गरेका थिए । तर, पारिवारिक बेमेलका कारण उनी ०६७ सालदेखि नै श्रीमती र छोरीहरुसँग अलग्गै बस्न थाले ।
स्थानीयका अनुसार अहिले श्रीमती सीता दुई छोरीहरु बिजुवारमा कोठा भाडा लिएर बस्दै आएका छन् ।

अध्यक्ष विष्णु श्रीमतीसँग अलग्गै बस्न थालेको लगभग १० वर्ष बिते पनि उनीहरुवीच कागजीरुपमा छोडपत्र भएको छैन । छोडपत्र नभएकै अवस्थामा अध्यक्ष गिरी प्युठानकै अर्की एक युवतीसँग गहिरो प्रेममा डुबेका थिए ।

गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनारले अनलाइखबरसँग भनिन् ‘उहाँहरुवीच अंश मुद्दासँगै सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको थियो र अन्तिम चरणमा पुगेको थियो, तर अध्यक्षज्यूले अर्को बिहे गरेको मलाई थाहा छैन ।’

विष्णु र सीताको अंश मुद्दा लामो समयदेखि हेर्दै आएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य डा. शिवराज पण्डितका अनुसार श्रीमतीसँग छोडपत्र नभइसके पनि अंश मुद्दामा भने अदालतबाट बुबाआमा र दुई छोरीहरुवीच चार भाग लगाउने गरी फैसला भइसकेको छ ।

फेसबुक च्याटले फसायो

गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।

च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेकी छन् । उनले विष्णुलाई मोबाइलमा खिचेका तस्वीरहरु डिलिट गर्न भनेकी थिइन् । तर, उनले ती तस्वीर सार्वजनिक नहुनेमा ढुक्क रहन प्रेमिकालाई भनेका थिए ।

अन्ततः फेसबुकको सोही सम्वादले उनीहरुलाई धोका दियो ।

स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए । यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले । च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए ।
बुटवलको एक पोलिक्लिनिकमा जागिरे ती युवतीलाई विष्णुले मरन्ठानाका एक व्यक्तिको बन्ध्याकरणपछि पनि बच्चा भएको उदाहरण दिएका थिए ।

विष्णु भन्छन्– मेरो घरायसी समस्याको लेखाजोखा गरिदिनोस्

नेपाली कांग्रेस प्युठानका नेतासमेत रहेका विष्णुले भने आफूमाथि लागेको आरोप सत्य नभएको र यसको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि बताएका छन् ।

आफूले बहुविवाह नगरेको अध्यक्ष गिरीले बताउँछन् । उनले भने, ‘बिहे गरेको भए त सबैलाई थाहा दिएर गर्थें नि, बिहे पनि लुकाउने कुरा हो र ?’

प्रहरी सम्पर्कमा आउनुअघि आफू स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर गएको तर, फरार भएको भन्ने हल्ला चलाइएको गिरीको भनाइ छ ।
आफ्नो व्यक्तिगत जीवन असफल भए पनि सामाजिक जीवन सफल भएको बताउँदै उनी भन्छन्, ‘मेरो १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिनु अनुरोध गर्दछु ।

गिरीले अगाडि भने, ‘मेरो निजी जीवनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु ।’

मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मात्र मानेको छैन, बहुविवाहलाई बदरभागी हुने बताएको छ ।

मुलुकी अपराध संहिता दफा १७५ को उपदफा ४ अनुसार बहुविवाहको कसुर गर्नेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

तर, सोही दफाको उपदफा ३ मा भनिएको छ, ‘पति पत्नीले कानुन बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment