Comments Add Comment

राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

डेंगुको उपचार गराउने चिकित्सक नै बिरामी

२३ भदौ, काठमाडौं । राजधानीमा डेंगुले महामारीको रुप लिने खतरा बढेको छ । जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौंमा देखिन थालेको थियो । अहिले त डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै आधामा संक्रमण भेटिएको तथ्यांक छ ।

आइतबार एकैदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता, टेकुमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, जसमध्ये १९४ जनामा संक्रमण भेटिएको सूचना अधिकृत रुपनारायण खतिवडाले जानकारी दिए ।
त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु संक्रमण फेला परेको थियो ।

दैनिक ४ सयजनाभन्दा बढी बिरामी परीक्षण गराउन आउने गरेको र भदौ १५ यता आधा बिरामीमा डेंगुको संक्रमण फेला परेको उपचारमा संलग्न शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

जबकी बैशाखदेखि साउनसम्म ५२८ जना बिरामीमा डेंगुको परीक्षण गरिएको थियो, जसमध्ये ८५ जनामा मात्र संक्रमण भेपछएको थियो । भदौयता राजधानीमा डेंगु संक्रमित विरामीको चाप हृवात्तै बढेको उनले बताए ।

भदौ १ गतेदेखि २२ गतेसम्म २ हजार ६८० जनामा डेंगु परीक्षण गरिएको थियो । उनीहरु मध्ये १२ सयभन्दा बढीमा संक्रमण फेला छ ।

डेंगु रोगबाट संक्रमित २३ जनाको अस्पतालमा उपचार भइरहेको छ भने भर्ना भएका मध्ये १२९ जना उपचार गराएर घर फर्किसकेक छन् । अन्यलाई घरमा नै आराम गरेर नियमित औषधी खाना सल्लाह दिएर पठाइएको छ ।

टेकु अस्पतालको तथ्याङ्क अनुसार राजधानीमा ०७०/७१ मा ६० जनामा डेंगु देखिएको थियो । ०७१/७२ मा ५८ जनामा डेंगुको संक्रमण पाइएको थियो भने ०७२/०७३ मा २२ जनाका यो रोग देखा परेको थियो । त्यस्तै ०७३/७४ मा १४० जना र ०७४/७५ मा २५३ जना डेंगु रोगी फेला परेका थिए । ०७५/७६ को पाँच महिनामा ६ वर्षयताकै डेंगुका बिरामीको तथ्याङ्कलाई उछिनिसकेको सूचना अधिकारी खतिवडाले बताए । भदौ १५ गतेदेखि यता बिरामीको चापलाई नियाल्दा डेंगु रोगका बिरामीहरु अझै बढ्ने संकेत देखा परेको उनले बताए ।

बैशाखको अन्तिम सातादेखि देशका विभिन्न भागमा डेंगुको संक्रमण देखिएको थियो । पूर्वको धरानमा डेंगुले महामारीकै रुप लिएपनि नियन्त्रणमा आउन सकेको छैन । चितवनमा पनि विरामीको संख्या बढ्दो छ ।

अब काठमाडौं उपत्यकामा पनि डेंगुको संक्रमितको संंख्या निकै बढ्दो देखिएको छ । उपत्यकाको डल्लु, असन, जैसीदेवल लगायतका स्थानबाट आउने विरामीमा डेंगु रोगको संक्रमण देखा परेको पुनले बताए । विहान ८ बजेदेखि साँझ ६ बजेसम्म बिरामी हेर्दै आएका डा. पुनले दिनभरि नै बिरामीको चाप एकैनास हुने गरेको सुनाउँछन् ।

डेंगुको उपचार गराउने चिकित्सक नै बिरामी

डेंगु रोगका बिरामीको उपचार गराउँदै आएका टेकु अस्पतालका चिकित्सकसहित १२ जना कर्मचारी पनि डेंगुबाट संक्रमित भउका छन् । अस्पतालका कन्सलटेन्ट फिजिसियन एक जना र मेडिकल अफिसर दुईजना सहित १२ कर्मचारीमा डेंगुको संक्रमण देखा परेको छ ।

उपचारपछि डेंगुबाट संक्रमित ६ जना कर्मचारी काममा फर्किसके पनि ६ जना भने अझै आराम गरिरहेका छन् । यस्तै मन्त्री, सांसद लगायत पनि डेंगु रोगका कारण विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराएरहेका छन् ।

काठमाडौंका अधिकांश अस्पतालमा डेंगुका विरामी धेरथोर भर्ना भएका छन् । डेंगुको संक्रमण भएको आशंका लागेर जचाउन आउनेको संख्या झन धेरै छ ।

उपचारको व्यवस्था कसरी हुँदैछ ?

डेंगु रोगका बिरामीको चाप बढेपछि टेकु अस्पतालले २ वटा ज्वरो क्लिनिक अर्थात ‘ज्वरो डेक्स’ सञ्चालनमा ल्याएको छ । ज्वरो आएर उपचार गराउन आउने बिरामीलाई उपचारमा सहजताका लागि हेल्प डेक्सका रुपमा ज्वरो डेक्स सञ्चालनमा ल्याएको सूचना अधिकारी खतिवडाले बताए ।

बिरामीको अत्याधिक चाप बढेपछि ओपीडी कक्ष थपेर ४ वटा पुर्‍याइएको छ । रोगको पहिचान भएका बिरामीको उपचारमा सहजता ल्याउन महिला वार्ड र पुरुष वार्डको व्यवस्था गरिएको छ । उनीहरुलनाई झुलको व्यवस्था गरेर छुट्टाछुट्टै वार्डमा राखेको पाइएको छ ।

बिरामीको अत्यधीक चाप बढेपछि ओपीडी कक्षसमेत थप गरिएको उनले बताए । अहिले ४ वटा ओपीडी डेक्स सञ्चालन भइरहेको उनले बताए ।

डेंगु रोगको पहिचान भएका बिरामीलाई उपचारमा सहजता ल्याउन महिला वार्ड र पुरुष वार्डको व्यवस्था गरिएको उनले बताए । बेडमा उपचार गराइरहेका बिरामीलाई अस्पतालले झुलको व्यवस्था गरेर छुट्टाछुट्टै वार्डमा राखेको उनले बताए ।

अस्पतालमा जनशक्तिको अभाव

उपचार गराउन आउने बिरामीहरुले समयमा नै रगत, पिसाव लगायतका अन्य परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको गुनासो गरेका छन् । रगत परीक्षण गराउने कक्षमा बिरामीहरुको भीड लागेको छ । रगत झिक्ने ल्याबको उचित व्यवस्थापन हुन नसक्दा बिरामी थप मारमा परेका छन् ।

रगत परीक्षण कक्षमा जनशक्ति अभावका कारण काममा ढिलाइ हुँदा बिरामीले समस्या भोग्नुपरेको छ । रगत परीक्षण गर्ने मेशिनमा प्रयोग गरिने केमिकलको अभाव हुँदा सोमबार केही समय परीक्षण कार्य समेत प्रभावित बनेको थियो । अस्पतालमा बिरामीको चाप बढेपछि व्यवस्थापनमा केही फितलो भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

अरु समयमा झैँ अस्पतालमा आउनेलाई सहज ढंगले उपचारको व्यवस्थापन गर्न जनशक्तिको अभावले असहज भएको अस्पतालले प्रशासनले जनाएको छ । अस्पतालमा रहेको जनशक्तिलाई बढी समय खटाएर बिरामीहरुको उपचार गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

मनोवैज्ञानिक असर

अस्पतालमा ६ वर्षयताकै डेंगु रोगका बिरामी उच्च भए पनि यसलाई डेंगुको त्रासकै रुपमा लिन नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकृत खतिवडा बताउँछन् ।

सर्वसाधारणमा सचेतना बढेकाले सामान्य ज्वरो आउनेवित्तिकै उपचारका लागि अस्पताल आउने गरेकाले बिरामीको संख्या बढी देखिएको उनको तर्क छ ।

विगतका वर्षभन्दा बिरामीको संख्या बढी नै देखा परे पनि उनले यसलाई चेतनाको वृद्धिले गर्दा मनोवैज्ञानिक असर देखिएको खतिवडाको तर्क छ ।

डाक्टरको सुझाव

अस्पतालमा ६ वर्षयताकै डेंगु रोगका बिरामी उच्च भए पनि यसलाई डेंगुको त्रासकै रुपमा लिन नहुने सूचना अधिकारी खतिवडा बताउँछन् । सर्वसाधारणमा सचेतना बढेकाले सामान्य ज्वरो आउनेवित्तिकै उपचारका लागि आउने गरेकाले बिरामीको संख्या बढी देखिएको उनको तर्क छ ।

विगतका वर्षभन्दा बिरामीको संख्या बढी नै देखा परे पनि उनले यसलाई चेतनाको वृद्धिले गर्दा मनोवैज्ञानिक असर देखिएको खतिवडाको तर्क छ ।

डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको नियन्त्रण गर्नुपर्ने सुझाव चिकित्सकहरुको छ । लामखुट्टेबाट रोग सर्ने भएकाले घर वरपर खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् ।

ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment