Comments Add Comment

विदेशमन्त्री वाङको सन्देश- ‘उपयुक्त समय’मा चिनियाँ राष्ट्रपति नेपाल आउने

२३ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को महिना नेपाल आउने अनुमान भइरहेका बेला काठमाडौं आएका विदेशमन्त्री वाङ यीले सोमबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनी त्यसअघि विदेशमन्त्रीस्तरीय उच्चस्तरीय बैठकमा सहभागी भए ।

विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ । उच्चस्तरीय वार्तापछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा तीन सम्झौतामा हस्ताक्षर भएको हो, जसमा मनाङमा चीन सरकारले अस्पताल बनाइदिने, ५ हजार टेन्ट दिने र चिनियाँ स्वयंमसेवक शिक्षकलाई नेपाल पठाउने छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमण ‘उपयुक्त समयमा’

कतिपयले विदेशमन्त्री वाङको नेपाल भ्रमणलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वतयारीका रुपमा हेरेका छन् ।

सोमबार भएका भेटवार्ताहरुमा वाङले ‘राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा हुने’ बताएका छन् । ‘हामीले यो भ्रमणको उपयुक्त समय हो भनेका छौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राजनीतिक संक्रमण अन्त्य गरेर स्थिरतातर्फ उन्मुख भएको यो समयमा छिमेकी मुलुकहरुबाट हुने भ्रमणले हामीलाई भरोसा पनि मिल्छ ।’

जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भने नेपालको चाहनालाई गम्भीरतापूवृक लिएको र दुबै देशका कूटनीतिक निकायहरु सम्पर्कमा रहनेछन् भनेको अधिकारीहरुले बताएका छन् ।

विदेशमन्त्री वाङको यो भ्रमणमा राष्ट्रपति सि जिनपिङको भ्रमणको मिति तय गरिएको छैन । चिनियाँ कूटनीतिक परम्परा अनुसार सुरक्षा लगाययतका विविध कारणले भ्रमणको तयारी पूरा भएपछि मात्र मिति सार्वजनिक गर्ने प्रचलन छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति सिको नेपाल भ्रमण असोज अन्तिम वा कात्तिक पहिलो सातासम्म हुन सक्छ । यसै वर्ष जनवादी चीनमा तिब्बतको पुनर्गठन भएको ६० औं वर्षगाँठका अवसरमा

राष्ट्रपति सी सिगात्से आउँदैछन् । त्यहीबेला नेपाल आउन सक्छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले चिनियाँ विदेशमन्त्रीलाई उधृत गर्दै उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने बताए ।

‘नेपालको रेलको चाहनाबारे जानकार छौं’

नेपाल र चीनका विदेशमन्त्रीहरु सम्मिलित उच्चस्तरीय वार्तामा सोमबार नेपालसम्म चिनियाँ रेल ल्याउने विषयमा पनि छलफल भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार काठमाडौं-केरुङ रेलवेको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) बनाउने सम्झौता सम्भवतः राष्ट्रपति शीको भ्रमणका क्रममा हुनसक्छ । डीपीआर र रेलमार्ग निर्माणको लगानीको मोडालिटीबारे दुवै पक्षबीच छलफल भइरहेको छ । विदेशमन्त्री वाङले नेपालको प्राथमिकताबारे आफू जानकार रहेको भन्दै उनले प्राविधिक रुपमा कठिन भएको, तर रेल ल्याउन प्रतिवद्ध रहेको बताएका छन् ।

दुई देशका उच्च अधिकारीहरुबीच चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) परियोजनामा समेट्ने नेपाली आयोजनाहरुबारे समेत कुराकानी भएको छ ।

ओलीलाई स्वास्थ्यलाभको कामना

दुवै देशका प्रतिनिधिमण्डलको वार्तापछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका थिए । उनले हालै सिंगापुरमा दुईसाता लामो उपचार गरेर फर्किएका प्रधानमन्त्री ओलीलाई आफ्ना राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको शुभकामना सन्देश सुनाए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमत्री लि खछ्याङले सुस्वास्थ्यका लागि शुभकामना सन्देश पठाएका थिए ।

विदेशमन्त्री वाङले सुनाएको शुभकामनाका लागि ओलीले पनि औपचारिकरुपमा धन्यवाद सन्देश पठाए ।

प्रधानमन्त्रीलाई भेटेलगत्तै शीतलनिवास पुगेका विदेशमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुबैको चासो राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण कहिले हुन्छ भन्ने बुझेका वाङले चाँडै नै उच्चस्तरको भ्रमण हुने जानकारी दिए ।

आइतबार पाकिस्तान हुँदै काठमाडौं आएका विदेशमन्त्री वाङ मंगलबार नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गरेपछि मध्यान्ह स्वदेश र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment