Comments Add Comment

काठमाडौंमा सुरु भयो विद्युतीय बस सेवा, भाडामा २० प्रतिशत छुट

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ ।

‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरे ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

भिडियाे रिपाेर्ट हेर्नुस


रिंगरोडमा चलाइने

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

अगाडिबाट यी बसहरु अहिले शहरमा चलिरहेका बसभन्दा भिन्न देखिन्छन् । यी बस नेपाली सडक मैत्री छन् । विदेशमा चलिरहेका विद्युतीय बसको बनावट नेपाललाई उपयुक्त नहुने देखिएपछि सुन्दरले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराएर बसको डिजाइन गराएको थियो । खाल्डाखुल्डीका कारण गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

सुन्दरले भित्राइसकेका र भित्राउन लागिएका थप बस ४० सिट क्षमतासम्मका छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।

मोबाइलबाटै भाडा बुझाउन सकिने

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ ।

यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने कम्पनीको भनाइ छ । यो बसमा पछाडिका सिटहरु यात्रुको आकर्षणको कन्द्रमा हुनेछन् । किनभने पछाडिको सिटमा बस्दा फिल्म हलभित्र बाल्कोनीमा बसेजस्तै अनुभव हुन्छ ।

बसको मूल्य महंगो, तर सञ्चालन खर्च कम

यो बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण पनि छन् । जुन अहिलेसम्म नेपालको सार्वजनिक यातायातमा प्रयोग भएको पाइँदैन ।

एयर कन्डिसनर सेवा सहितका यी विद्युतीय बस वातावरणमैत्री छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी पनि निकाल्दैनन् ।

विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुन्छ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् ।

तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने कम्पनीको भनाइ छ ।

खरिद मूल्य भने डिजेल गाडीको भन्दा करिब ४ गुणा महंगो हुन्छ । तर, पनि कम्पनीले सरकारले अनुमति दिए अरुको भन्दा कम भाडामा नै यात्रुलाई सेवा दिने बताएको छ । यात्रा कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ । कम्पनीले यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ ।

सुन्दर यातायातले थप ५० वटा बस खरिदका लागि सम्झौता गरेको छ । एक वर्षभित्र ५० वटा बस भित्र्याउने गरी चीनको बीएके कम्पनीसँग सम्झौता भएको हो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment