Comments Add Comment

‘राजकीय भ्रमणमा विमानस्थल केही समय बन्द गरिन्छ’

पर्यटनमन्त्री भन्छन्– सुरक्षाको दृष्टिकोणबाट यो अत्यावश्यक हुन्छ

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सिंगापुरबाट काठमाडौं फर्कंदै गर्दा विमानस्थलमा एकघण्टा जाममा परेको गुनासो पोख्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यसलाई ‘ओली जाम’ को संज्ञा दिए ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै मिश्रले यस्तो ट्विट गरेका थिए, ‘बिराटनगर जान प्लेनमा बसेको एक घण्टा भयो । प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे । हाम्रो मात्र होइन, सिंगो विमानस्थलको हाल यही छ । नेपाल भ्रमण वर्ष सुरु गर्नुअगावै भीभीआइपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न हुन विशेष अनुरोध छ ।’

आइतबार चिनियाँ विदेशमन्त्री वाङ यी इस्लामावादबाट विशेष विमान लिएर काठमाडौंमा ओर्लंदा पनि विमानस्थलमा सामान्य गडबडी देखापर्‍यो ।

विदेशमन्त्री वाङ चढेको जेट विमानमा विमान चालक दलका सदस्यसहित २२ जना सवार थिए । उनीहरु आउन लाग्दा साँझ साढे ५ बजे धावनमार्ग बन्द गरिएको थियो । तर, मौसम खराबीका कारण चिनियाँ विदेशमन्त्री चढेको विमान करिब १५ मिनेटसम्म आकाशमै होल्ड गरियो र ६ बज्न तीन मिनेट बाँकी रहँदा विदेशमन्त्री चढेको विमान अवतरण भयो ।

पर्यटनमन्त्री योगेश भट्टराईले राजकीय भ्रमणमा पूर्वजानकारी दिएर विमानस्थल केहीसमय बन्द हुने गरेको र सुरक्षाका दृष्टिले पनि यसो गर्नु अत्यावश्यक रहेको बताए

खराब मौसमका कारण विमान केहीबेर होल्ड गर्नुपरेको बताइए पनि धावन मार्ग बन्द गर्ने परम्पराचाहिँ भीभीआइपीहरुको यात्रामा नयाँ होइन ।

आखिर भीभीआइपीहरुको यात्राका क्रममा विमानस्थल किन बन्द गरिन्छ ? यसबारे अनलाइनखबरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग जिज्ञासा राखेको छ ।

जवाफमा मन्त्री भट्टराईले राजकीय भ्रमणमा पूर्वजानकारी दिएर विमानस्थल केहीसमय बन्द हुने गरेको र सुरक्षाका दृष्टिले पनि यसो गर्नु अत्यावश्यक रहेको बताए ।

मन्त्री भट्टराईले अनलाइनखबरसँग भने, ‘राजकीय भ्रमणका बेला सामान्यतया पूर्वजानकारी गराएर विमानस्थल केही समयका लागि बन्द गरिन्छ । यो विश्वभरको प्रचलित नियम हो । यो सुरक्षाको दृष्टिकोणबाट पनि अत्यावश्यक हुन्छ । आइकाओले पनि यसलाई स्वीकार गरिसकेको छ । यो पालना गर्नैपर्ने नियम हो ।’

भीभीआईपीहरुको राजकीय भ्रमणका बेला विमानस्थल बन्द हुने पूर्वजानकारी गराइने भएकाले वायुसेवा कम्पनीहरुले आफ्नो हिसावले उडानको तालिका मिलाउने मन्त्री भट्टराई बताउँछन् ।

तर, हाम्रो त्रिभुवन विमानस्थलको हकमा विमानस्थल साँघुरो भएकाले यात्रुहरुले थप कठिनाई भोग्नुपरेको मन्त्री भट्टराईको स्वीकारोक्ति छ ।

‘हामीले यसरी आउने प्रतिक्रियालाई नकारात्मक रुपमा लिँदैनौं, हाम्रो विमानस्थलको अवस्थिति, विकल्पहरु नहुनु, साँघुरो संरचना र अतिविशिष्ट व्यक्ति विमानस्थलसम्म पुग्ने सडकको विकल्प एउटा मात्र हुनुजस्ता कारणले नागरिकलाई प्रतिकूलता सिर्जना गरेकै छ’ मन्त्री भट्टराई भन्छन्, ‘नयाँ–नयाँ विकल्प खोजेर कमभन्दा कम नागरिकलाई सास्ती पुग्ने गरी व्यवस्थापनको उपाय अपनाउँछौं ।’

तर, भीभीआइपीहरुको राजकीय भ्रमणबाहेक निजी भ्रमणमा चाहिँ विमानस्थल धेरैबेर बन्द नहुने गरेको मन्त्री भट्टराईले बताए ।

‘मुलुकका प्रमुख पदीय हैसियत खालका व्यक्तिहरुको भ्रमण सामान्यतया दुई प्रकारका हुन्छन् । एउटा राजकीय हुन्छ, अर्को सामान्य/व्यक्तिगत भ्रमण हुन्छ’ मन्त्री भट्टराई भन्छन्, ‘व्यक्तिगत र सामान्य खालको भ्रमणमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदैन । बढीमा ५/१० मिनेटभित्रै विमानस्थल सुचारु भइसक्छ ।’

मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको सिंगापुर यात्रा राजकीय नभएको र त्यसबेला विमानस्थल लामो समयसम्म बन्द नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment