Comments Add Comment

डुबिसकेको सरकारी बैंक यसरी बन्यो उत्कृष्ट

२३ भदौ, काठमाडौं । सरकारी अड्डा भन्नेवित्तिकै सेवाग्राहीको मनमा ढिलासुस्तीलाई लिएर दिग्दारी लाग्न थाल्छ । जनतालाई सेवा दिन नियुक्त सरकारी कर्मचारीहरु काममा इमान्दार रहेनन् भने आम मनोविज्ञान बनिसकेको छ ।

राजनीतिक हस्तक्षेपले कर्मचारीहरुलाई कर्तव्यबाट विमुख बन्न सघाएको आम बुझाइ छ । धेरै क्षेत्रमा सरकारी लगानी यही कारण धराशयी भइसके । जस्तो– खाद्य संस्थान, नेपाल वायु सेवा निगम ।

सरकारी संस्थानहरुमा गरिएको लगानी बालुवामा पानी भएको छ । बैंकिङ क्षेत्रमा भने सरकारको इज्जत जोगाउन एउटा अपवाद देखिएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक निजी क्षेत्रका एकसेएक बैंकसँगको प्रतिष्पर्धामा नम्वर वान बन्न सफल भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस बैंकबारे हामी यहाँ चर्चा गर्दैछौं ।

नेपालको बैंकिङ इतिहास अलि रोचक छ । नियमनकारी निकाय स्थापना हुनु भन्दा पहिले नै एउटा बैंक स्थापना भएको थियो । नेपाल बैंक स्थापना भएको करिब २ दशक पछि मात्रै बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना गरियो ।

तत्कालिन श्री ५ को सरकारले २०२१ सालमा रावा ऐन बनायो । तत्कालिन राजा महेन्द्रले बैंकिङ प्रतिष्पर्धाका लागि २ वटा वाणिज्य बैंक चाहिने ऐनको तयारी गर्न निर्देशन दिएको बताइन्छ । सोहि अनुसार २०२२ माघ १० गते मुलुकको माइलो वाणिज्य बैंकको रुपमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको हो ।

राजा महेन्द्रले बैंकिङ क्षेत्रमा प्रतिपर्धा आवश्यक भएकै कारण राष्ट्रिय वाणिज्य बैंक स्थापनाका लागि निर्देशन दिएको जानकारहरु बताउँछन् । उमेरका हिसाबमा माइलो यो बैंक सुस्त गतिमै कारोबार शुरु गर्‍यो ।

त्यसबेला जेठो बैंक नेपाल बैंकसँगमात्रै यो बैंकले प्रतिष्पर्धा गर्नु पर्ने थियो । त्यसपछि विस्तारै अन्य बैंकहरु थपिँदै आए । बैंकहरु थपिने क्रममा वाणिज्य बै‌ंकमात्रै ३२ वटा पुगे । ३२ वटाबाट घटेर हाल २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका २८ कमर्शीयल बैंक मध्ये ३ वटा बैंकमा नेपाल सरकारको लगानी छ । ति तीन मध्येमा पनि सबै लगानी नेपाल सरकारको मात्रै रहेको भनेको राष्ट्रिय वाणिज्य बैंक मात्रै हो ।

सरकारकै लगानी रहेका कृषि विकास बैंक र नेपाल बैंकमा भने सर्वसाधारणको समेत सेयर स्वामित्व रहेको छ । बाँकी सबै निजी क्षेत्रको लगानीमा रहेका बैंकहरु छन् ।

डुबिसकेको त्यो बैंक

राष्ट्रिय वाणिज्य बैंक एक समय डुबिसकेको थियो । २०५७/५८ सालमा नाजुक अवस्थामा पुगिसकेको बैंक खारेज गर्नुपर्ने अवस्था सिर्जना भएको त्यसताका राष्ट्र बैंककै अधिकारीहरु बताउँथे ।

त्यसयताका बैंक टाट पल्टने पक्का भएपछि नेपाल राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गर्‍यो । बैंक टाट पल्टने पक्का पक्की भइसके पछि राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेर जिम्मा लिएको थियो ।

राष्ट्र बैंकका केही अधिकारीहरु त खारेज गर्नुपर्ने धारणामा पुगेको थिए । तर राष्ट्र बैंकले एकमात्रै सरकारको पूर्ण स्वामित्वको बैंक भएका कारण व्यवस्थापन जिम्मा लिएर विदेशी बोलायो ।

यो बैंकलाई पनि वित्तीय क्षेत्र सुधार कार्यक्रम मार्फत सुधारको प्रयास गरियो र बैंकलाई अक्सिजन दिने काम भयो । तत्कालिन अवस्थामा विदेशी व्यवस्थापनलाई जिम्मा लगाएर बैंक ५ वर्ष पछि मात्रै ट्रयाकमा आएको थियो ।

त्यसबेला बैंकले प्रवाह गरेको कूल कर्जामध्ये ६१ प्रतिशत खराब कर्जा थियो । २६ अर्ब रुपैयाँ कर्जामध्ये १० अर्ब मात्रै असल र १६ अर्ब खराब कर्जा थियो । त्यस्तै, ४२ अर्ब रुपैयाँ बराबरको वासलातको आकार भएको बैंकको नेटवर्थ २२ अर्ब रुपैयाँले ऋणात्मक थियो ।

बैंकको निक्षेप ३९ अर्ब र कर्जा २६ अर्ब रुपैयाँ थियो । तर, खुद व्याज आम्दानी ६ करोडले ऋणात्मक थियो । बैंक ५ अर्बले नोक्सानीमा थियो । ५८ सय कर्मचारी थिए । एटीएम, मोवाइल बैंकिङ, इ–बैंकिङ केही पनि थिएन ।

यसरी बन्यो नम्बर वान
नेपालमा निजी क्षेत्रका ठूला उद्योगी व्यवसायीहरु लगानी गरेको बैंकहरु छन् । ति बैंकहरुसँग एउटा सरकारी बैंकले प्रतिष्पर्धा गर्न त्यति सहज पक्कै छैन । तर सरकारी भएरै पनि यो बैंक केही वर्षयता बैंक धेरै सूचकांकमा नम्बर वान छ ।

र्थिक वर्ष २०७५/७६ मा बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको थियो । यो नेपालको बैंकिङ इतिहासमा सबै भन्दा धेरै मूनाफा हो । प्रतिष्पर्धात्मक हिसाबले हेर्ने हो भने पनि यो बैंक अग्रस्थानमा देखिन्छ ।

राष्ट्रि वाणिज्य बैंक ७७ वटै जिल्लामा शाखा खोल्ने पहिलो वाणिज्य बैंक हो । यो बैंक भन्दा अगाडी अन्य बैंकहरु सबै जिल्लामा पुग्न सकेका थिएनन् । अहिले यो बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ छ भने १ खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

७७ वटै जिल्लामा पुगेर २३६ शाखाबाट सेवा दिइरहेको यस बैंकको २०४ वटा एटिएम मेसिनहरु सञ्चालनमा छन् भने ९३ वटा शाखारहित सेवा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।

ब्याजर पनि यस बैंकको सबै भन्दा कम हुने देखिएको छ । यस बैंकको आधार दर (बेस रेट) ५.५ प्रतिशत रहेको छ, जुन सबै भन्दा कम हो । यस बैंकले २ हजार ३ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

किरणकुमार श्रेष्ठको नेतृत्व

पूर्ण सरकारी स्वामित्वको बैंकको अहिले अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ छन् । बैंकको कार्यकारी नेतृत्व भने किरणकुमार श्रेष्ठले गरिरहेका छन् ।

पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थायी घर भएका श्रेष्ठ सामान्य कृषकका छोरा हुन् । बुवा जङ्गवीर जोशी संखुवासभामै खेतिपाति गर्दथे । उनले विद्यालय तहसम्मको अध्ययन संखुवासभामै पुरा गरे ।

उच्च शिक्षाका लागि भने काठमाडौं झरेका किरणकुमार श्रेष्ठ अध्ययन पुरा गरेसँगै २०४३ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । २०४३ भदौ ३१ गते सहायक प्रवन्धक पदमा खुला प्रतिष्पर्धाबाट नेपाल कै जेठो बैंक नेपाल बैंकमा उनले जागिर शुरु गरेका थिए । उनी सहायक प्रवन्धकबाट, प्रवन्धक हुँदै महाप्रवन्धसम्मको पदमा पुगे ।

नेपाल बैंकमै २८ वर्ष भन्दा बढी समय बिताएका उनी महाप्रवन्धको रुपमा ३ वर्ष काम गरे । त्यसपछि उनले अवकास लिए । नेपाल बैंकबाट बाहिररिएको केही वर्ष पछि राष्ट्रिय वाणिज्य बैंकमा सीईओको जागिर खुल्यो ।

सरकारले नियुक्त गर्ने भए पनि सीईओका लागि खुला प्रतिष्पर्धा गर्नुपर्ने व्यवस्था छ । उनले खुला प्रतिष्पर्धाबाट नै बैंकको सीईओमा नाम निकाले । २०७३ चैत्र २९ गते उनले बैंकमा सीईओको रुपमा काम शुरु गरेका थिए ।

उनको नेतृत्वमा बैंक अघि बढिरह्यो । प्रतिष्पर्धाका लागि कुनै गाह्रो मानेनन । निजी क्षेत्रलाई पछि पार्दै यस वर्ष पनि उनले ठूलो मूनाफा हात पार्न सफल भए ।

सीईओ श्रेष्ठले अहिले बैंकमा स्मार्ट एण्ड क्लीन आरबीबी विथ कन्सोलिडेसन भन्ने नारा नै स्थापित गरेर सेवा सुधारमा लागिरहेका छन् । विगतमा सरकारी बैंक भन्ने वित्तिकै धेरे लाइन लाग्नु पर्ने, कर्मचारीले सहजै सेवा नदिने लगायतका व्यवथालाई तोड्दै उनले स्मार्ट बैंकिङको शुभारम्भ गरेका छन् ।

हिजो दिनभर लाइन लाग्नु पर्ने बाध्यतालाई हटाएर बैंकमा निजी क्षेत्रका बैंकहरुमा जस्तै टोकन प्रणालीको शुरुवात गरिएको छ । अन्य प्रविधिमा पनि बैंक कुनै हालतले पछि छदै छैन । अबको दिनमा बैंकलाई थप दीगो, भरपर्दाे र समावेशी सहितको सबै नेपालीको मनमनमा बस्ने सामाजिक बैंकिङ्गको रुपमा विकास गर्नु मूख्य दायित्व रहेको बताउनुहुन्छ ।

नेपालका सातै प्रदेश ७७ वटै जिल्लामा वाणिज्य बैंकहरु मध्ये सबैभन्दा पहिला उपस्थिति जानाइसकेको यो बैंकलाई अब अन्तर्राष्ट्रिय स्तरमा उपस्थिति देखाउने योजनामा सीईओ श्रेष्ठ छन् । कोरिया, मलेसिया, दुबई, लगायतका बैलेशिक रोजगारीको लागि नेपालीहरु जाने मुलुकहरुमा प्रतिनिधि कार्यालय खोलेर सेवा दिने योजना रहेको सीईओ श्रेष्ठ बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment