Comments Add Comment

यही सरकार बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन : प्रचण्ड

Photo Credit : विष्णु सापकोटा जुगल'

२३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले नेकपा र यही सरकारलाई बलियो बनाउँदै जनताको सेवा गर्नुको विकल्प नभएको पनि बताए ।

माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेलको २१ औं स्मृतिमा पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘हामी सबै एकताबद्ध हुनुको कुनै विकल्प छैन । यही कम्युनिष्ट पार्टीलाई बलियो बनाएर, यही सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुको अर्को विकल्प छैन ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्ने गतिविधि भइरहेको बताउँदै उनले त्यो स्वीकार्य नभएको पनि बताए ।

‘हिजोका निरंकुशतावादीहरु वा अरु कुनै नामका प्रतिक्रियावादी आएर नेपाललाई फेरि एकचोटि निरंकुशताको जाँतोमा पिस्न दिन सकिँदैन,’ उनले भने, ‘त्यो इतिहासलाई स्वीकार्य छैन, त्यो जनतालाई स्वीकार्य छैन, त्यो हामीलाई स्वीकार्य छैन ।’

राम्रा काम नभएका होइनन्, राम्रा काम गर्न नखोजिएको होइन, तर जनताका आशा अपेक्षाअनुसार काम नभएकोप्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरो गरी गएको छ

उनले भने, ‘हाम्रा यदि केही कमजोरी भएका छन् भने त्यसलाई हामी सच्याउन चाहान्छौं । हामीभित्र केही अपुग छन् भने त्यसलाई पूरा गराउने बाटोमा जान चाहन्छौं । तर इतिहासको चक्कालाई पछाडि धकेल्ने, जनयुद्ध र जनआन्दोलनका हजारौं सहिदहरुको र लाखौं जनताको त्यागबाट प्राप्त भएको गणतन्त्र र यो समावेशी लोकतन्त्रलाई उल्ट्याउने कुनै हालतमा छुट दिन सकिँदैन ।’

प्रतिक्रान्तिको गन्ध

सहिदहरु र नेताहरुलाई अपमान गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको टिप्पणी गरे । ‘सहिदहरुको बलिदानले युगान्तकारी परिवर्तनको आधारशीला खडा भएको थियो, त्यसलाई अपमानित गर्ने, सहिदहरुलाई अपमानित गर्ने या अवमूल्यन गर्ने, नेताहरुलाई बदनाम गर्ने नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ,’ प्रचण्डले भने, ‘हुन त चिहानमा पुगिसकेको फेरि फर्किने भन्ने त विज्ञानले मान्दैन । तर प्रेतआत्मा बेला बेलामा आउने र जिवित मान्छेहरुलाई कुनै-कुनै रुपले दु:ख दिने गर्दारहेछन् ।’

उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ । यो कुरा हामी सबैले आत्मसाथ गर्न, जनतालाई र युवाहरुलाई उद्देश्यको निम्ति समर्पित गर्न अपिल गर्न जरुरी छ ।’

यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउनुपर्ने र जनतालाई अझ धेरै सकारात्मक परिणामहरु दिनुपर्ने प्रचण्डले बताए । पार्टी एकता प्रक्रिया केही ढिला भएको र सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोप्रति आफूहरुको ध्यानाकर्षण भएको पनि प्रचण्डले बताए ।

सरकारबाट राम्रा काम भएको जिकीर गर्दै प्रचण्डले अब कार्यकर्ता र जनपरिचालनका लागि देशव्यापी अभियान चलाउने जानकारी दिए । ‘राम्रा काम नभएका होइनन्, राम्रा काम गर्न नखोजिएको होइन, तर जनताका आशा अपेक्षाअनुसार काम नभएकोप्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरो गरी गएको छ,’ प्रचण्डले भने, ‘हामीले पार्टी एकता प्रक्रियालाई अन्तिममा पुर्याएका छौं र अब देशव्यापी रुपमा कार्यक्रम लिएर कार्यकर्ता पंक्ति र जनताको पंक्तिमा जाने र एकचोटि हजारौं लाखौं जनतालाई फेरि एक पटक अपिल गर्ने अन्तिम तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment