News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम जारी रहे सरकारलाई मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताएका छन् ।
- उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो घातक हुने र यस्ता घटना नदोहोर्याउन आग्रह गरेका छन् ।
- प्रचण्डले सुरक्षा थ्रेट भनिएको विषय बहानाबाजी भएको र साँच्चै थ्रेट भए पक्राउको साटो सुरक्षाकर्मी बढाउनुपर्ने बताएका छन् ।
- उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले बोल्नुपर्ने कुरा स्वाभाविक रूपमा बोलेको भन्दै अनावश्यक बढाइचढाइ गर्न नहुने प्रतिक्रिया दिएका छन् ।
१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताएका हुन् ।
‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ प्रचण्डले भनेका छन् । यस्ता घटना नदोहोर्याउन उनले सरकारलाई आग्रह समेत गरे ।
सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको भनाइ थियो । यदी साँच्चै ‘सुरक्षा थ्रेट’ थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने तर्क प्रचण्डको थियो ।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्यो नि ।’
त्यस्तै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया पनि दिए ।
यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राखे ।
प्रतिक्रिया 4